पोखरामा यु १६ छनोट क्रिकेट सुरु

पोखरा । प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबारदेखि पोखरा क्रिकेट मैदानमा यु १६ गण्डकी प्रदेश छनोट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटनका दिन घरेलु टोली कास्कीले बाग्लुङमाथि ३८ रनको जित निकालेको छ ।
टस जितेको बागलुङले कास्कीलाई व्याटिङको निम्तो दिएको थियो । वर्षातले प्रभावित खेलमा कास्कीले निर्धारित २२ ओभर सकिन २ बल बाँकी छँदा सम्पूर्ण विकेट गुमाएर १ सय ३७ रन बनायो । कास्कीको ब्याटिङमा प्लेयर अफ द म्याचसमेत बनेका सुरज अधिकारीले ५३ तथा सोनु यादवले २० रन जोडे ।
बागलुङका बलरहरु कृष केसीले ३, प्रिन्स शर्मा र रमित कँडेलले समान २ विकेट लिए । जितका लागि १ सय ३८ रनको लक्ष्य पछ्याएको बाग्लुङको पारी २१.४ ओभरमा ९९ रनमै समेटियो । बागलुङका लागि रमित कँडेलले र आर्या प्रसिद्ध नेपालले समान १७ रन जोडे । कास्कीका बलरहरु अनिस रावतले ३ तथा राज परियार र रिदम पाण्डेले समान २ विकेट लिए ।
यसअघि प्रदेश खेलकुद परिषद् गण्डकी सदस्य सचिव श्रीधर शर्माले अफिसियल दिलीप अग्रहरीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । सो अवसरमा शर्माले गण्डकीमा क्रिकेट खेल गतिशिल खेलकुदका रुपमा देखिएको बताए । संघका गतिविधी उत्कृष्ट रहेको भन्दै आगामी दिनमा पनि क्रिकेट विकासका लागि परिषद्को तर्फबाट सहयोग रहने उनले बताए ।
आयोजक संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले यो प्रतियोगिता एसिया कपसम्म पुग्ने बाटो भएकाले खेलाडीहरुलाई लगनशील बनेर लाग्न आग्रह गरे । एक साता सञ्चालन हुने प्रतियोगितामा कास्कीसहित ६ जिल्लाको सहभागिता छ । समूह ‘ए’मा कास्की, बागलुङ र तनहुँ छन भने समूह ‘बी’ मा पर्वत, स्याङजा र नवलपुर छन् । प्रतियोगिताबाट यही जेठ १७ गतेदेखि सुर्खेतमा सुरु हुने राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि गण्डकीको टोली चयन गरिने आयोजक संघका अध्यक्ष सिग्देलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया