एनभिए कप भलिबल : गण्डकी र हेल्प नेपाल अपराजित

पोखरा । पोखरा रंगशालास्थित बहुउद्देश्यिय कभर्ड हलमा जारी नवौं प्रधानमन्त्री एनभिए भलिबल लिगको पुरुषतर्फ हेल्प नेपाल भलिबल क्लब र गण्डकी प्रदेशको अपराजित यात्रा कायमै रहेको छ ।
नेपाल भलिबलको संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा गण्डकीले मणिमुकुन्दलाई र हेल्प नेपालले कोशी प्रदेशलाई हराउँदै जितको श्रृखंला कायम राखेको हो । हेल्प नेपालले कोशी प्रदेशलाई सोझो सेटमा हराउदै ३ अंक आफ्नो पक्षमा परेको छ । हेल्प नेपालले ४ खेल खेल्दै १२ अंक बनाएर शिर्ष स्थानमा पुगेको हो । हेल्प नेपालले कोशीलाई २५–२१, २५–२०, २५–२२ ले हरायो ।
गण्डकी प्रदेशले पनि मणिमुकुन्दलाई ३–० को सोझो सेटमा हराएको हो । गण्डकीले २७–२५, २५–२१ र २५–२१ र २५–१८ ले आफ्नो पोल्टामा पारेको हो । लगातार ४÷४ खेल जितेको हेल्प नेपाल र गण्डकीको लिग तालिकामा १२÷१२ अंक भएपनि गण्डकीले पहिलो खेलमा कोशी प्रदेशसँग ३–१ को सेटमा जितेकाले दोस्रो स्थानमा पुगेको हो । यता, हेल्प नेपालले भने ४ जितमा ३–० को सोझो सेटको नतिजा हात पारेको छ ।
आईतबार पुरुष तर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेशलाई सोझो सेटमा हरायो । नेपाल पुलिस क्लबले सुदुर पश्चिमलाई २५–१९, २५–९, २५–१९ ले विजयी भयो । नेपाल पुलिस क्लबले जित सगँ ३ अंक बुटुल्दै लिग तालिकामा ९ अंक बनाएको छ । सुदुरपश्चिमले ४ खेल खेल्दा एक खेल पनि जित्न सकेको छैन । पुरुष तर्फका ३ खेल हुदैछन् ।
पुरुषतर्फको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई २५–१३, २५–२० र २५–२२ को सेटमा हराएको थियो ।
महिलातर्फ न्यु डाइमण्ड र नेपाल पुलिस क्बलले तेस्रो जित निकालेका छन् । पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई र पुलिसले एपिएफलाई हरायो । दुबै टिमले समान ३–१ सेटले हराएको छ ।
पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । न्यु डायमण्ड २१–२५,२५–१४,२५–२१,२५–२१ ले विजयी भयो । न्यु डायमण्डकी सलिना बुढामगर प्लेयर अफ दि म्याच घोषित भइन् । नेपाल पुलिसले बिभागीय डर्बीमा एपिएफलाई २५–१९, २४–२६,२५–१८,२५–२१ को सेटमा हरायो ।
१५ गतेसम्म चल्ने प्रतियोगिताको दुवैतर्फका विजेताले ८ लाख उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् ।
तपाईको प्रतिक्रिया