अंग्रेजीको धङधङी मुक्त बनौं

मुक्तिराज रेग्मी २०८२ जेठ १२ गते १७:०४

केही दिनअघि म वडा नम्बर ६ को वडा कार्यालयमा आयोजित एक महत्वपूर्ण बैठकमा सहभागी भएँ । बैठकमा धेरैजसो शिक्षक, विद्यालयका प्रतिनिधिहरु, स्थानीय सरकारका वडाध्यक्ष–६, वडा सदस्यहरू, वडा सचिव तथा शिक्षा शाखाका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । बैठकमा शिक्षा सम्बन्धी विभिन्न पक्षमा गहिरो छलफल भयो । तर ती सबै कुराबीच एउटा कुरा मेरो मनमा गहिरो छाप छोडेर गयो — हामी विस्तारै आफ्नो भाषा, संस्कृति, परम्परा र जीवनमूल्यहरू बिर्सँदै गइरहेका छौँ ।

Advertisement


आजका दिनमा अधिकांश विद्यालय र शिक्षित वर्गले अंग्रेजीलाई शिक्षाको मुख्य माध्यम बनाएका छन् । हो, अंग्रेजी अन्तर्राष्ट्रिय भाषा हो । यसले हाम्रा बालबालिकालाई विश्वसँग जोड्ने पुलको काम गर्छ — रोजगारी, उच्च शिक्षा र प्रविधि जस्ता क्षेत्रहरूमा प्रवेशका लागि महत्वपूर्ण छ । त्यसैले अंग्रेजी सिकाउनु आवश्यक छ, र त्यो अंग्रेजी नैजस्तै सिकाउनुपर्छ — शुद्ध, प्रभावकारी र आत्मविश्वासका साथ । तर यसको अर्थ यो होइन कि नेपाली भाषा, संस्कृतिको उपेक्षा गरियोस् । दुःखको कुरा, केही विद्यालयहरूमा ‘इङलिस स्पोकन जोन’ लेखिन्छ — जहाँ नेपाली बोल्नेलाई जरिवाना गरिन्छ, सजायँ दिइन्छ । यस्तो व्यवहारले मातृभाषा बोल्नु अपराध ठानिन्छ, जुन पूर्णरूपमा गलत हो । हामीले अंग्रेजी सिकाउनु पर्छ — तर नेपाली भाषा र पहिचान गुमाएर होइन । हामीले आफ्नो इतिहास, संस्कृति, भूगोल, लोककथा आफ्नै भाषामा पढाउनुपर्छ ।


म भाषाविद् होइन । तर मैले विभिन्न देश, विश्वविद्यालय र शिक्षण संस्थाको भ्रमण गरेको छु । जहाँ जहाँ पुगेँ, त्यहाँ आफ्नै भाषा र संस्कृतिप्रति गर्व गर्ने मान्छेहरू देखेँ । भिएना, अष्ट्रियामा सामान्य सेवा लिन पनि मलाई जर्मन सिक्नुप¥यो । स्पेनमा स्पेनिस, पोर्चुगलमा पोर्चुगिज, जापान र चीनमा आफ्नै भाषा शिक्षाको मुख्य आधार छ । स्क्यान्डिनेभियन देशहरूमा त बाल्यकालदेखि नै बालबालिकाले आफ्नै इतिहास, परम्परा, खानपान र भाषा सिक्ने अवसर पाउँछन् । त्यसैले हामी पनि अंग्रेजीको धङधङीबाट मुक्त हुन जरुरी छ ।

Advertisement

हामीले बालबालिकामा नेपालीपनको गर्व विकसित गराउनुपर्छ । जब सामाजिक अध्ययन, नैतिक शिक्षा जस्ता विषयहरू अंग्रेजीमा पढाइन्छन्, तब बालबालिकाले आफ्नै समाजसँग सम्बन्ध महसुस गर्न सक्दैनन् । यदि यस्तै चलन बढ्दै गयो भने एक दिन बालबालिकाले इतिहासको पुस्तकमा पढ्न सक्छन् — ‘कुनै समय नेपाल भन्ने देश थियो, जहाँ नेपाली भाषा बोलिन्थ्यो, र नेपाली रुपैयाँ चल्तीमा थियो ।’ यदि त्यो दिन आयो भने, त्यसको जिम्मेवारी हामी सबैको हुनेछ ।

मैले विभिन्न देश, विश्वविद्यालय र शिक्षण संस्थाको भ्रमण गरेको छु । जहाँ जहाँ पुगेँ, त्यहाँ आफ्नै भाषा र संस्कृतिप्रति गर्व गर्ने मान्छेहरु देखेँ

Advertisement


जापानले प्रारम्भिक बाल्यकालमै भाषा विकासलाई गीत, कथावाचन र दैनिक संवादमार्फत स्वाभाविक रूपमा प्रोत्साहन गर्छ । टोडलर (२–३ वर्ष) उमेरका बालबालिकालाई खेल खेल्दै हिरागाना र काटाकानासँग परिचय गराइन्छ, भने प्राथमिक तहमा औपचारिक रूपमा कान्जी सिकाइ, पढेर सुनाउने अभ्यास र लेखनद्वारा सुरु हुन्छ । चीनले बढी संरचित र शैक्षिक विधि अपनाउँछ, जहाँ बालबालिकालाई प्रीस्कूलमा म्यान्डरिन गीत र ताङ वंशकालीन कवितामार्फत भाषामा अवगत गराइन्छ, र प्राथमिक तहमा कठोर पात्र (हन्जी) लेखन तथा पिनयिन अभ्यास गराइन्छ ।


फ्रान्सले प्रीस्कूलमै संरचित संवाद, कविता, र कथावाचनमार्फत मौखिक भाषा विकासमा जोड दिन्छ, जुन पछि प्राथमिक तहमा ‘फोनिक्स’, व्याकरण, र साहित्यिक अध्ययनसम्म विस्तार हुन्छ, प्रायः दर्शनजन्य छलफल र चित्र आधारित लेखनले समृद्ध बनाइन्छ ।


फिनल्यान्डले बालमैत्री र बालनेतृत्वमा आधारित सिकाइलाई प्रवद्र्धन गर्छ, जहाँ बालबालिकाले खेल, कथावाचन र बाहिरी प्रकृतिमा अन्वेषण गर्दै फिनिस भाषा सिक्छन्, र करिब ७ वर्षको उमेरमा मात्र औपचारिक रूपमा पढाइ सुरु गरिन्छ, जसले ध्वनि–चेतना र व्यक्तिगत आवश्यकतामा आधारित सहयोग सुनिश्चित गर्छ ।


नर्वेले भाषा–समृद्ध प्रीस्कूल वातावरणमार्फत सामाजिक संवाद, कथावाचन, र संगीतमा ध्यान केन्द्रित गर्छ, र प्राथमिक तहमा शैक्षिक दबावबिना ‘फोनेटिक’ पढाइ तथा सृजनात्मक लेखनतर्फ उन्मुख हुन्छ । जर्मनीमा भाषालाई विद्यालय तयारीको प्रमुख आधार मानिन्छ, जहाँ गीत, कठपुतली खेल र कथावाचनद्वारा प्रीस्कूलमै जर्मन बोल्ने क्षमता विकास गरिन्छ, र प्राथमिक तहमा औपचारिक फोनीक्स आधारित पढाइ सिडलक जस्ता भाषा मूल्यांकन उपकरणमार्फत सहयोग गरिन्छ ।


बेलायतमा इवाइएफएस (अर्ली एयर्स फाउन्डेसन स्टेज) ढाँचाअनुसार टोडलरहरू संरचित खेल, गीत, र फोनीक्स–आधारित कथामार्फत बेलायती अंग्रेजीमा सहभागी गरिन्छन्; प्राथमिक तहमा ‘Letters and Sounds’ जस्ता प्रणालीगत फोनीक्स र प्रारम्भिक व्याकरणको प्रयोग गर्दै भाषा शिक्षा सञ्चालन गरिन्छ, जसमा साहित्य र कथाका सामग्रीहरू मिसाइन्छन् ।


भारत बहुभाषिक देश भएकाले प्रारम्भिक वर्षमा बालबालिकालाई आ–आफ्नो मातृभाषामार्फत कथा, कविता र भूमिका निर्वाहमार्फत भाषा सिकाइ प्रवद्र्धन गरिन्छ । औपचारिक भाषा शिक्षण क्षेत्र र बोर्डअनुसार फरक–फरक हुन्छ, जसमा स्थानीय भाषा, हिन्दी वा अंग्रेजी समावेश हुने गर्दछ, र प्राथमिक तहसम्म क्रमशः संरचित पढाइ र लेखाइतर्फ परिवर्तन गरिन्छ । यो प्रक्रिया तीन भाषानीतिको मार्गनिर्देशनमा मौखिक परम्परा र लोककथाको आधारमा आधारित हुन्छ । यसले बालबालिकाको भाषा र संप्रेषण क्षमताको विकासका लागि क्रियाशील सिकाइ विधिहरु प्रयोग गर्छ — गीत, कथा, अभिनय, आवाज, भाव–अभिव्यक्तिमार्फत बालबालिकालाई अभिव्यक्तिमा सक्षम बनाउँछ । इवाइएफएस अनुसार भाषा केवल शब्द होइन — त्यो आत्मविश्वास, सामाजिक सम्बन्ध र पहिचान निर्माणको आधार हो ।


तर नेपालमा भने हामी विदेशी भाषाको अन्धानुकरणमा लागेर आफ्नै जरा बिर्सन थालेका छौँ । हामीलाई अब गम्भीर प्रश्न सोध्न आवश्यक छ — हामी को हौँ? हाम्रो जरा कहाँ छ? हामीलाई विशेष बनाउने तत्व के हो? यो देश, भाषा, संस्कृति, चलन–परम्परा र इतिहासलाई कहिल्यै हल्का रूपमा नलिऔँ । यसमा गर्व गरौँ । अंग्रेजी सिकौँ — तर नेपाली मेटेर होइन । आउनुस्, हामी सबै मिलेर — घरघरबाट, समुदायबाट, विद्यालयबाट — आफ्नै मौलिकता, हाम्रो जरा जोगाऔँ । हाम्रा बालबालिकालाई आफ्नै भाषा र संस्कृतिमा धनी बनाऔँ । हाम्रो मौलिकता नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । नेपाली बोल्नु अपराध होइन — गर्व हो । अंग्रेजी हाम्रो दोस्रो भाषा हो — साधन हो, तर हाम्रो पहिचान होइन । आउनुस् — सँगै मिलेर, गर्वका साथ — हाम्रो पहिचान जोगाऔँ ।


कहिले काँही मलाई निकै पीडा लाग्छ — जब म हेर्छु कि विद्यालयका प्रतिनिधिहरू समाजशास्त्र, स्थानीय भाषा, नैतिक शिक्षा जस्ता विषयहरू अंग्रेजीमा पढाउन जोड दिइरहेका छन् । हे भगवान्! उहाँहरूलाई थाहा नै छैन कि यसले कति गम्भीर असर पार्न सक्छ । अझ दुःखको कुरा त के छ भने, शिक्षा— गोठालो जस्तो बनाइएको हाम्रो शिक्षा प्रणालीमा कसैले सोध्दैन — “किन हामीले आफ्नै भाषामा आफ्ना कुरा गर्न सक्दैनौँ?” सायद म नै मूर्ख हुँ, जो आफ्ना जरा, भाषा, संस्कृति र पहिचानको बारेमा यति धेरै सोचिरहेको छु ।

सायद म नै बेकारको चिन्ता गरिरहेको छु । तर होइन । मलाई लाग्छ, जब एक विद्यार्थी नेपाली भाषामा असफल हुन्छ, त्यसको समाधान यो होइन कि उसलाई अंग्रेजीमा लेख्न दिइयोस् । त्यसको अर्थ हो — हामीले अझ मेहनत गर्नुपर्छ । हामीले आफ्नै भाषामा, आफ्नै ढंगले, आफ्नै संस्कृतिका आधारमा शिक्षण गर्नुपर्छ । हामीले नेपाली भाषा, संस्कृति र हाम्रो मौलिकतालाई बलियो बनाउने काम गर्नुपर्छ — भागेर होइन, भिडेर ।


शिक्षा भनेको केवल पास गराउने सिस्टम होइन । शिक्षा भनेको जरा गाड्ने प्रक्रिया हो । र जरा गाड्न आफ्नै भाषा, आफ्नै माटो, आफ्नै संस्कृति आवश्यक हुन्छ । आउनुस्, माओवादी, लोकतन्त्र, संघीयता जस्ता शब्द लेख्न सक्ने तर आफ्नो भाषा, जाति, भूगोल नचिन्ने पुस्ता बनाउने काम बन्द गरौँ । हाम्रो विद्यार्थीलाई नेपालीमा असफल नहोस् भनेर अंग्रेजीमा पढाउने होइन — नेपालीमा सफल बनाउने उपाय सिकाऔँ । आफ्नो भाषा, संस्कृति र इतिहासलाई लज्जा होइन — गर्वको रूपमा प्रस्तुत गरौँ ।


शिक्षा कार्यालय र शिक्षा मन्त्रालयले हाम्रो भाषा, संस्कृति र मौलिकताको संरक्षणका लागि स्पष्ट नीति तथा कार्यक्रमहरू ल्याउनु आवश्यक छ । सबै विद्यालयहरूमा मातृभाषामा आधारित सिकाइ, स्थानीय इतिहास र सांस्कृतिक शिक्षा अनिवार्य गरिनुपर्छ । विद्यालयहरूले नेपाली भाषा र मूल्यहरूलाई पाठ्यक्रममा सम्मानपूर्वक समावेश गर्ने सुनिश्चितता गर्नका लागि आवश्यक कानुन र निर्देशिका तयार पारिनुपर्छ । यसका साथै, निजी विद्यालयहरूलाई दुई समूहमा वर्गीकृत गरिनुपर्छः संघर्षरत विद्यालयहरू र स्थापित विद्यालयहरू ।

संघर्षरत विद्यालयहरूलाई सरकारबाट विशेष सहयोग प्रदान गरिनुपर्छ — जस्तै शिक्षक तालिम, शैक्षिक सामग्री, आर्थिक सहायता, र पूर्वाधार विकास । यसले गुणस्तरीय शिक्षा सबैका लागि सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ, त्यो पनि हाम्रो पहिचानमा आधारित शिक्षाका साथ । स्थापित विद्यालयहरूलाई चाहिँ आफ्नो नाफाको केही अंश समुदायमा आधारित शैक्षिक पहल, भाषा संरक्षण र समावेशी शिक्षण अभ्यासमा लगानी गर्न प्रोत्साहित गरिनुपर्छ ।

तपाईको प्रतिक्रिया