सम्पादकीय—जीवनको मूल्यबोध गरौं

समाधान संवाददाता २०८२ जेठ १३ गते ९:५२

नेपालमा आत्महत्या एक डरलाग्दो सामाजिक समस्या बन्दै गएको छ । हरेक वर्ष आत्महत्या गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ । देशभरबाट छ/सात हजारले आत्महत्या गर्ने गरेको देखिन्छ । यो नेपालको मात्रै समस्या भने होइन । संसारमा कतै न कतै हरेक ४० सेकेन्डमा कसैले आत्महत्या गर्ने गर्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि आठ लाख मानिसले विश्वभरि आत्महत्या गर्ने गरेका छन् । त्यसो भनेर यसलाई सामान्य मान्नुचाहिँ हुँदैन ।

Advertisement

आत्महत्याका कारण मृतकका प्रभावित हुने छोराछोरी, आमाबाबु, पति वा पत्नीको संख्यामात्रै हेर्ने हो भने पनि नेपालमा वर्षेनि ३० हजारभन्दा बढी हुन्छन् । यसलाई समाजको डरलाग्दो प्रवृत्तिका रुपमा लिएर न्यूनीकरणमा आवश्यक कदम चाल्नु आवश्यक छ । आत्महत्या किन हुन्छ भनेर नेपालमा पर्याप्त अध्ययन भएका छैनन् तर नेपाल प्रहरीले गरेको एक अध्ययन अनुसार आत्महत्या गर्नेमध्ये ८५ प्रतिशत निम्न तथा मध्यमवर्गीय परिवारका छन् । यसबाट कुन वर्ग बढी जोखिममा छ भन्ने पहिचान हुन्छ ।


निम्न वर्गीय परिवारका सदस्य आधारभूत आवश्यकता पूरा गर्न सक्दैनन् भने मध्यम वर्गीय परिवारका सदस्यमा महत्वाकांक्षा बढ्दै गएको छ । परिवेशमा आउने बदलाव अनुसार व्यक्तिगत तथा पारिवारिक चाहना पूरा नहुँदा मानिसले आफूलाई असफल ठान्छ । बाँच्नुलाई नै निरर्थक मानेर अनाहकमै आत्महत्या रोज्न पुग्छ । आकस्मिक आईपर्ने ठूला घटना, प्रेममा धोका, भवितव्य, पारिवारिक बेमेल, लागुऔषध प्रयोग जस्ता पक्ष पनि यसका लागि सहायक बन्छन् ।

Advertisement

पछिल्लो समय भर्खरका बालबालिकाले समेत आत्महत्या गर्न थालेका छन् । जुन समाजमा थपिएको नयाँ चुनौती हो । बालबालिकाले मोबाइल हेर्न नपाएको, खेलमा सहभागिता जनाउन पैसा नपाएको, अभिावकले भनेजस्ता सामान नकिनिदिएको जस्ता साना कारणबाट पनि आत्महत्या गर्ने गरेका छन् । यसलाई राज्य र समाजले गम्भीरतापूर्वक लिंदै निराकरणका उपाय खोज्न जरुरी छ । ११ गतेमात्र रोशनी शाहीले आत्महत्या गरिन् ।


हरेक व्यक्तिलाई आशावादी बनाउन अँध्यारोभन्दा उज्यालो पक्षको महत्व बुझाउन आवश्यक छ । एक पटक पाएको जीवनलाई खुसी र सफल बनाउनुपर्छ, जस्तोसुकै दुःख पीडा पनि संघर्षबाट हल गर्न सकिन्छ भन्ने बोध गराउनु जरुरी छ । आत्महत्या न्यूनीकरणको पहिलो र सबैभन्दा प्रभावकारी उपाय यही हो । त्यसका लागि बाल्यकालदेखि नै सकारात्मक सोचको विकास आवश्यक छ ।

Advertisement

संसारभरि दुःख छ, दुःखको कारण छ र यसको निवारणको पनि उपाय छ भन्ने बुद्ध सन्देश आएको देश नेपालमा आत्महत्या र निराशाको दबदबा सुहाउने कुरा होइन । जुनसुकै उमेर समूहको मानिसका लागि पनि सबैभन्दा बढी चाहिने आत्मसम्मान हो । त्यसैले हरेक मानिसको सम्मानलाई उच्च स्थानमा राखेर गरिएको पारिवारिक र सामाजिक व्यवहारले आत्महत्या घटाउन भूमिका खेल्छ । सामाजिक परिवेश, समाज र मनोवैज्ञाकि परिवेशलाई सही तवरले व्यवस्थापन गर्न सके आत्महत्या कम गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया