सम्पादकीय—गम्भीर प्रश्नको छानबिन जरुरी

संसदमा विपक्षमा रहेका दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्न थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वक्तव्य जारी गरेरै गृहमन्त्री लेखकको राजीनामा मागेको छ । मंगलबार र बुधबार संसद बैठक नै यही कारणले प्रभावित बन्यो । विपक्षी दलहरुले बजेट ल्याउन दिने तर गृहमन्त्रीको राजीनामाबाट पछि नहट्ने संकेत गरेका छन् । यस्तो अवस्थामा गृहमन्त्री लेखकले आफ्ना विरुद्ध कहीँ उजुरी नपरेको जनाउँदै भिजिट भिसा प्रकरणमा आफ्नो नाम राजनीतिक प्रतिशोधका कारण जोडिएको दाबी गरेका छन् ।
तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको हुनाले आफूले राजीनामा दिनुपर्ने आवाज उठाएको भन्दै उनले अहिले आफूमाथि अन्याय भइरहेको तर्क गरेका छन् । लेखकले विमानस्थल अध्यागमन कार्यालयको प्रमुखले गरेको कामको दायित्व आफूले लिनु नपर्ने तर्क गरेका छन्, जुन हास्यास्पद छ । विदेश युवालाई पठाएर ठूलो परिणाममा घूस लिएको काण्ड बाहिरिएपछि र त्यसमा नाम मुछिएपछि राजीनामा दिएर छानबिनलाई सघाउनु उचित र लोकतान्त्रिक हुन्छ ।
अहिले विपक्षमा रहेका दल र सार्वजनिक क्षेत्रबाट पनि उनको राजीनामा मागिदै छ । घुस लिएर भिजिट भिषामा नेपाली विभिन्न देशमा पठाइने गरेको सूचनाका आधारमा तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धानले भट्टराईसहित अध्यागमनका कर्मचारीहरुले घुस लिएर भिजिट भिषामा पठाइने गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागमा ठूलो रकमको भ्रष्टाचार यो प्रकरणमा भइरहेको प्रारम्भिक निष्कर्ष अख्तियार निकालेको छ ।
तर, यो प्रकरणका प्रमुख आरोपी भट्टराईलाई गृहमन्त्री लेखकले जोगाउन लागेको आरोप बताइन्छ । विवादित पृष्ठभूमिका भट्टराईलाई पहिले अध्यागमन विभागको प्रमुख बनाएर पठाउने अनि अख्तियारले अनुसन्धान थालेको थाहा हुनासाथ रातारात गृह मन्त्रालयमा फर्काउने कार्यमा गृहमन्त्री लेखकको भूमिका रहेको विपक्षीहरुको आरोप छ । उनले आफ्नो संलग्नता पुष्टि भए गृहमन्त्रीबाट मात्र नभएर राजनीतिबाटै बिदा हुने सार्वजनिक घोषणा पनि गरिसकेका छन् ।
यसो भए पछि विपक्षीहरुको माग बमोजिम राजीनामा नदिने गृहमन्त्री लेखकले संकेत गरेका छन् । उनले संसद्बाट सम्बोधन गर्न र आफ्ना कुरा राख्न दिन चाहेका छन् । गृहमन्त्री लेखक अहिले पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेको उत्तराधिकारीका रुपमा गृह मन्त्रालय आएका हुन् । लामिछाने नेपाली कांग्रेसकै माग बमोजिम सहकारी बचत रकम ठगी अनुसन्धानका क्रममा थुनामा परेका हुन् । रोचक त यिनै लेखकले लामिछानेविरुद्ध चर्को आवाज उठाएका थिए । गृहमन्त्री रहँदासम्म रविमाथि निष्पक्ष छानबिन हुन नसक्ने तर्क लेखकले त्यस बेला गरेका थिए । उनै लेखकलाई अहिले मानव तस्करी प्रकरणमा जोडिएको आरोप छ । देशका सुरक्षा संयन्त्र र प्रशासन परिचालनको मुख्य जिम्मेवारी लिने गृहमन्त्रीमाथि हुने अनुसन्धान पदमै हुँदा निष्पक्ष बन्न सक्दैन । उनले राजीनामा दिएर छानबिनलाई सघाउनु नै लोकतान्त्रिक र उचित ठहर्छ ।
तपाईको प्रतिक्रिया