एनभिए कप भलिबल: हेल्प नेपाल र पुलिसलाई उपाधि

पोखरा ।
पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको नवौं प्रधानमन्त्री एनभिए कप पुरुष तथा महिला भलिबल लिममा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब र महिलातर्फ नेपाल पुलिस क्लबले उपाधि जितेका छन् ।
नेपाल भलिबलको संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत बिहीबार भएको फाइनलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई र महिलातर्फ नेपाल पुलिस क्लबले न्यू डायमन्डलाई पराजित गर्दै उपाधि चुमेका हुन् । हेल्प नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ ले हराउँदै लगातार तेस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो ।
हेल्प नेपालको यो पाँचौं एनभिए लिग उपाधि हो । लगातार तेस्रो पटक उपाधि जितेको हेल्प नेपालले यसअघि तेस्रो र पाँचौं संस्करणमा पनि उपाधि हात पारेको थियो , यो जितमा हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा समेत छनोट भएको छ ।
पोखराको कभर्ड हलमा गण्डकी गत वर्षको फाइनलमा हारको बदला लिने दाउमा थियो । सोही अनुरुप उत्कृष्ट सुरुवात गर्यो । २५–२० र २७–२५ ले लगातार २ सेट जित्दै जितको नजिक पुगेको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको गण्डकीलाई चौंथो सेटमा खेलाडीको चोटले समस्यामा पार्यो । त्यसपछि हेल्प नेपालले सानदार कमब्याक गर्दै बाँकी सेट २५–१४ र १५–८ ले आफ्नो पक्षमा पारेको थियो ।
महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्टस एकेडेमीलाई ३–१ ले हराउँदै पुलिस उपाधि रक्षा गर्न सफल भयो । पुलिसले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गरेको हो । पुलिस र न्यु डायमन्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन् ।
उत्कृष्ट लयमा रहेको पुलिसले २५–२०, २२–२५, २८–२६ र २५–१४ ले जित्दै लगातार तेस्रो पटक उपाधि चुमेको हो । बिहीबार नै भएको पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै पुलिस तेस्रो भएको हो । पुलिसले २७–२५, २५–२०, २३–२५ र २५–१४ ले आफ्नो पक्षमा पा¥यो ।
महिलातर्फ एभरेस्ट भलिबल क्लब तेस्रो भएको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै एभरेस्टले तेस्रो स्थान हाँसिल गरेको हो । थाइल्यान्डका ३ खेलाडी सम्मिलित एभरेस्टले २५–१८, १०–२५, २५–१३, २९–२७ ले खेल जितेको हो ।
महिला र पुरुष दुवैतर्फका विजेता हेल्प नेपाल र नेपाल पुलिसले समान ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका गण्डकी र न्यु डायमन्डले समान ४ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा पाए । यस्तै तेस्रो हुने पुलिस र एभरेस्ट भलिबल क्लबले समान २ लाख रुपैयाँ हात पारे ।
नेपाल भलिबल संघको आयोजनामा जेठ ८ गते सुरु भएको लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता थियो ।
मुवारत राजा र भण्डारी सर्वोत्कृष्ट
एनभिए कप पुरुष तथा महिला भलिबल लिगको पुरुषतर्फ हेल्प नेपालका मुवारत राजा र महिलातर्फ उषा भण्डारी सर्वोत्कष्ट खेलाडी भएका छन् । सर्वोत्कृष्ट भएका राजा र भण्डारीले समान ५० हजार हात पारे ।
पुरुषको विधागत पुरस्कारतर्फ लिब्रो हेल्न नेपालका सन्तोष राई, सेटर हेल्प नेपालकै अर्मिद खान, सर्भर गण्डकीका वाकर खान, स्पाइकर गण्डकीकै ऐमल खान, ब्लकर पुलिसका सफल विक र प्रशिक्षक हेल्प नेपालका उत्सव खड्का भए ।
महिलातर्फ उत्कृष्ट लिब्रो डायमन्डकी सलिना श्रेष्ठ, सेटर पुलिसकी कोपिला पुन, सर्भर एभरेष्टकी मिना सुनार, स्पाइकर पुलिसकी कामना विष्ट, ब्लकर डायमन्डकी सुमित्रा रेग्मी र प्रशिक्षक पुलिसका रुपेश विष्ट चुनिए । उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया