अस्पताल नै घर !

बुवाआमाको आफ्नो घर छ तर जीवनमा शीतलता छैन । जोडेको सम्पत्ति छ तर एक मानो पकाएर खाने तागत छैन ।
सन्तानहरू छन् तर दुःखमा कसैको सहारा छैन । म जिल्ला अस्पतालमा करिब १० महिना भयो काम थालेको । यस अवधिमा मैले यस्ता धेरै घटनाहरू देखेँ, जहाँ बुवाआमाको माया सन्तानप्रति थियो तर सन्तानको माया आमाबुवाप्रति अधुरो देखिन्थ्यो ।
तर केही घटनाहरू यस्ता पनि थिए, जुन महिनौँ नियाल्दा मनले बारम्बार सोध्यो– ‘अन्ततः बाँच्नु कसका लागि हो ?’
उत्तर खोज्दा महसुस भयो– बाँच्नु त आफैँका लागि हो । जब आफ्नो अस्तित्व मेटिन्छ, बाँच्नुको कारण पनि मेटिँदो रहेछ ।
महिनौँ भइसक्यो म र अन्य स्वास्थ्यकर्मीहरू हरेक दिन एउटै बेड वरिपरि घुमिरहेका हुन्छौँ ।
त्यो बेडमा बस्ने दमको बिरामी एक आमा र उनका करिब ८० वर्षीय श्रीमान् सधैँ दयनीय अवस्थामा देखिन्छन् । दृश्यले बारम्बार मलाई भन्छ– ‘उहाँहरूसँग केही कुरा गरौँ, मनका भावना पोख्ने चौतारी बनौँ, केही सहयोग गरौँ ।’ तर जब बुवा बोल्न थाल्नुहुन्छ, उहाँको आँखा नै धेरै बोल्न थाल्छन् । तब लाग्छ, कहीँ उहाँको पीडा सम्झाएर झनै दुखी त बनाइरहेकी छैन ?
बुवा हरेकपल्ट नम्रताका साथ शिर झुकाएर नमस्कार गर्नुहुन्छ । तर उहाँको त्यो झुकेको शिर देख्दा म सधैँ झसंग हुन्छु । यो झुकाइ सम्मानको हो कि लाचारपनको ? म आफैँसँग प्रश्न गर्छु । आजसम्म पनि ड्युटीको फुर्सद पाउँदा सधैँ उहाँलाई समय दिने प्रयास गर्छु । जब उहाँ रुनुहुन्छ, म सान्त्वना दिन्छु र फेरि आफ्नो काममा लाग्छु, उहाँको भारी भावनाहरू आफैसँग लिएर ।
आमाको स्वास्थ्य सुरुमा निकै नाजुक थियो, फोक्सो र मुटुको समस्या थियो । बुवाको अनुहारमा आत्मबल घटेको देखिन्थ्यो । एक दिन म आमाको एक्स–रे गर्न लैजाँदै थिएँ । सोचेँ– बुवालाई थोरै विश्राम मिलोस् । तर फर्किँदै गर्दा देखेँ– बुवा आफ्नो लौरोको भरमा लरबराउँदै पछि पछि आउँदै हुनुहुन्छ । मैले सोधेँ– ‘बुवा, तपाईं किन आउनुभयो?’
उहाँ कहिल्यै आँसु खस्न दिनु हुन्नथ्यो किनभने आमालाई थाहा थियो, बुवाको सबैभन्दा ठूलो कमजोरी उनी स्वयं थिइन्
बुवाले भन्नुभयो– ‘नानी, म आमालाई एक्लै हिँडेको देख्न सक्दिनँ । बाटोमा केही भयो भने के गर्ने ?’ त्यो सुन्दा म निकै भावुक भएँ । एक महिनासम्म अस्पतालको शैयामा सास फेर्न संघर्ष गरिरहेकी श्रीमतीलाई एक छिन पनि नछोड्ने उहाँको माया देख्दा लाग्यो–निस्वार्थ प्रेम साँचो यही हो ।
बुवा भन्नुहुन्थ्यो– आमाको सहारा अक्सिजन सिलिन्डर र उहाँको सहारा लौरो बनेको थुप्रै समय भइसक्यो । बुवा घरमा पकाउने, खुवाउने सबै काम आफैँ गर्नुहुन्थ्यो । यद्यपि शारीरिक रूपमा अत्यन्त कमजोर हुनुहुन्थ्यो तर आमाप्रतिको माया पहिलै कम भएन ।
बुवा सकेसम्म कहिल्यै आमाको अगाडि रुनु हुन्नथ्यो । जब रुनुहुन्थ्यो, म आमाको आँखा नियाल्थेँ । उहाँ कहिल्यै आँसु खस्न दिनु हुन्नथ्यो किनभने आमालाई थाहा थियो, बुवाको सबैभन्दा ठूलो कमजोरी उनी स्वयं थिइन् ।
आमालाई रोगले गलाउँदै गर्दा मैले बुवालाई प्रादेशिक अस्पताल लैजान सुझाव दिएँ । उहाँ भन्नुहुन्थ्यो– ‘ऋणधन गरेर पनि जान्छु तर एक्लै माथिल्लो–तल्लो तला गर्न सक्दिनँ । तीन जना छोराहरू छन् तर हाजिरी मात्रै, साथ छैन ।’ एकपल्ट मैले सोधेँ– ‘बुवा, छोरी छैन त ?’
उहाँले भन्नुभयो– ‘छोरी भएको भए त नानी म यति दिन किन कुर्थेँ र ? छोरीलाई जाऊँ भन्थेँ । दुर्भाग्य छोरी भएन ।’ कसैलाई छोरी हुँदाको पिर र कसैलाई भने छोरी नहुँदाको दयनीय अवस्था। जुन छोरी नहुनेले मात्रै बुझ्छ र हुनेले बुझ्दैन ।
त्यो सुन्दा मन भक्कानियो । छोरी नहुनुको पीडा सायद त्यही थियो। बुवाको त्यो वाक्य– ‘यदि तपाईं जस्तो मेरी छोरी हुनुहुन्थ्यो भने…’ मेरो हृदयमा गहिरो असर पार्यो ।
डेढ महिनाको बसाइपछि आमाको स्वास्थ्यमा सुधार आयो । तर बुवाले घर लैजान सक्नुहुन्न, बाटोमा अक्सिजनको व्यवस्था छैन । मलाई थाहा थियो उहाँहरूको घरको अवस्था कमजोर छ । लाग्थ्यो, सायद अस्पताल नै उहाँहरूको लागि घरसरह भएको थियो जहाँ मान्छेहरू बोल्थे, भावना बुझ्थे र क्यान्टिनले पेट भथ्र्यो ।
डिस्चार्जका लागि बोलाएको तीन दिनपछि मात्रै तीन जना छोराहरू आउँछन् । उनीहरू भन्छन्– ‘आफ्नै घर जानुहोस्, हामी राख्न सक्दैनौँ ।’ बुवा कुरा गर्दागर्दै भक्कानिनु हुन्छ– ‘बरु आमालाई लैजाओ, म यहीँ अस्पतालमै बस्छु ।’ कसैका लागि अस्पताल जस्तो डरलाग्दो ठाउँ पनि भरोसाको आश्रय बन्छ । ती बुवाआमालाई वृद्धाश्रम चाहिएको थियो जुन अस्पतालले केही समयका लागि पूर्ति गर्यो ।
तर अन्ततः आमा मुस्कुराउँदै आफ्नो घर फर्किनु भयो– त्यो दृश्य अस्पतालको सबैभन्दा सुन्दर क्षण थियो ।
सायद स्वास्थ्यकर्मी हुनुको सबैभन्दा ठुलो सौभाग्य यही हो– हामीले पीडामा रहेका मानिसहरुको शारीरिक मात्र होइन, भावनात्मक अवस्थालाई पनि बुझ्न पाउँछौँ र सकेसम्म उनीहरूको पीडा पखाल्ने मौका पाउँछौँ ।
तपाईको प्रतिक्रिया