डेढ महिने चिनिया भाषा तालिम

पोखरा ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवं नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको सहआयोजनामा बुधबारदेखि पोखरामा ४५ दिने चिनिया भाषा तालिम सुरु भएको छ । नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी उनीहरुलाई प्रदान गरिने आतिथ्यमा भाषाको विशेष महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै आयोजित तालिममा ८४ जनाको सहभागिता छ ।
पोखरामा चिनिया पर्यटकको आगमन बढिरहेको सन्दर्भमा भाषिक सञ्चारको विशेष महत्व हुने भएकाले तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिए । तालिममा पर्यटन क्षेत्र सम्बन्ध विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता छ ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले तालिम सुरुआत गरे । उनले नेपाल र चीनको सम्बन्ध विस्तार हुँदै गइरहेको अवस्थामा गरिएको तालिमले विशेष महत्व राख्ने बताए । दुई ठूला राष्ट्रको बीचमा रहेको नेपालले पर्यटनबाट आम्दानी लिन आवश्यक तयारी गर्नुपर्नेमा उनको जोड छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले चीचनमा आफ्नै भाषा बोल्ने क्रम बढिरहेको बताउँदै उनीहरू नेपाल भ्रमणमा आउँदा चिनिया भाषा जान्नेले राम्रो आतिथ्य प्रदान गर्न सक्ने सुनाए । पर्यटनका सबै क्षेत्रका व्यक्तिलाई समेटेर तालिम दिन लागिएको बताउँदै उनले यसले समग्र पोखराको पर्यटनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनको छेन्दुमा पहिलो व्यवासायिक चाटर्ड उडानसँगै हालसम्म चारवटा उडान भइसकेको बताए । चीनसँगको पर्यटकीय सम्बन्ध विस्तार भैरहेका अवस्थामा गर्न लागिएको चिनिया भाषा तालिम बहुउपयोगी बन्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा नाट्टा गण्डकी प्रदेश महासचिव चेतबहादुर कार्की, नाट्टा गण्डकी प्रदेशका सचिव नवराज भण्डारी, पोखरा भ्रमण वर्ष कार्य सम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष हरि शर्मा गैरे, पूर्वअध्यक्ष हरिरम अधिकारी, पूर्वअध्यक्ष वासु त्रिपाठी लगायतले तालिमको महत्वबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया