ब्यूटिसियनको तालिम कक्ष छाडेर मानव सेवा आश्रममा…

समाधान संवाददाता २०८२ जेठ २४ गते १५:३०

पोखरा ।
तालिमको ६१ औं दिन थियो, तर पाठ्यक्रम कक्षाकोठामा थिएन । पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको मानव सेवा आश्रममा तालिमका प्रशिक्षार्थीहरू सौन्दर्य सेवा मात्र लिएर होइन, सहानुभूति र माया बोकेर पुगे ।


उनीहरूले सौन्दर्य सेवा प्रदान गरे—कपाल काटिदिए, नङ मिलाइदिए, अनुहार सफा गरिदिए । साथमा दिउँसोको खाजा र प्याड पनि लिएर गए । तालिमबाट मात्र होइन, समाजबाट पनि केही सिके । कोही नभएकाहरूको सहारा बनेर, एकैछिन भए पनि उनीहरूको मुहारमा खुसीको क्षण बनिदिए ।


पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा सञ्चालित तीनमहिने ब्युटिसियन तालिमको ६१औँ दिनमा तालिम प्रदायक संस्था ड्रिम ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरका २० जना प्रशिक्षार्थी मानव सेवा आश्रम पुगेका थिए । तालिम समापनको सन्दर्भमा उनीहरूले ‘सामाजिक अनुभूति र योगदान’ को उदाहरणीय काम प्रस्तुत गरे । ट्रेनर शान्ता लामिछाने र सुनिता गुरुङको नेतृत्वमा आश्रम पुगेका प्रशिक्षार्थीहरूले त्यहाँ रहेका सडकआश्रित र असहाय महिलाहरूको सेवा गरे । उनीहरूले मानवीय सेवाको सन्देश प्रवाह गरे ।

Advertisement

‘आज मेरो जन्मदिन पनि हो, जन्मदिनमा उहाँहरुको मुहारमा खुसी बाँड्न सक्दा धेरै खुसी छु । त्यसैले पनि आजको दिन मेरो लागि विशेष थियो । यसमाथि तपाईंहरूको सामुन्ने हुन पाउँदा निकै खुसी लागेको छ,’ प्रशिक्षक लामिछानेले भनिन्, ‘यो दिन मैले आफूजस्तै महिला दिदीबहिनीहरूका लागि केही गर्न सकें। आगामी दिनमा पनि पक्कै गर्नेछु । हाम्रो २० जनाको टोली, अर्थात् भविष्यका ब्युटिसियनहरूले यो सम्भव बनाउनुभएको हो, उहाँहरुलाई पनि धेरैधेरै धन्यवाद ।’


आश्रमकी समर्पित अभियन्ता सम्झना बरालका अनुसार हाल मानव सेवा आश्रममा करिब ९० जना छन् । तीमध्ये १० जना बालक र नाबालक छन् भने बाँकी सबै महिला छन् । ‘यस्तो कार्यक्रम कमै हुन्छ, तर, कसै–कसैले यस्ता सेवा दिन आउँछन् । यसअघि अस्पतालका फिजिसियन डाक्टरहरू पनि आउनुभएको थियो । अहिले उहाँहरू आउनुभयो,’ उनले भनिन् ।
प्रशिक्षार्थीहरूलाई तालिम दिएकी अर्की ट्रेनर सुनिता गुरुङ भन्छिन्, ‘हामीले कक्षाकोठामा मात्र होइन, समाजमा प्रयोग गर्न सकिने सीप सिकायौं उहाँहरुसँग यहाँ हुन पाउँदा खुसी छु ।’

Advertisement

मानव सेवा आश्रममा प्रायः दान, कपडा वा खाना वितरण हुन्छ । सेवाभावका साथ ब्युटिसियनहरुले गरेको कामले सकारात्मक सन्देश प्रभाह हुने समर्पित अभियन्त सम्झना बताउँछिन् । तालिम सकिए पनि सेवा यात्रा जारी राख्ने प्रशिक्षक लामिछानेले बताइन् ।

तपाईको प्रतिक्रिया