सम्पादकीय—मनसुन ‘ब्रेक’ र बढ्दो गर्मी

समाधान संवाददाता २०८२ जेठ २८ गते १०:५१

नेपालमा मनसुन भित्रिएको २ हप्ता पुगेको छ । सरदर भन्दा १५ दिन अगावै भित्रिएको भएतापनि कोशी प्रदेशबाट पश्चिमतर्फ सर्न सकेको छैन । मनसुन सक्रिय (मनसुन ब्रेक ) नहुँदा राम्रोसँग पानी नपर्दा देशभर गर्मी बढेको छ ।

Advertisement


मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पुर्वी नेपालबाट सुदुरपश्चिमसम्म फैलिनु पर्छ । तर मनसुन भित्रिएको जेठ १६ देखि २७ गतेसम्म (१२ दिनको अवधि) पनि पश्चिमी वायुको शक्तिशाली छ । गत वर्ष कोसी प्रदेशमा नौ दिन मनसुन सीमित भएको थियो । तर, यो वर्ष यो रेकर्ड तोडिएको छ । गतवर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन असार १० सम्म लागेको थियो ।


सामान्यतया मनसुनको उत्पत्ति समयमा फेरबदल भएको छैन । यसको आरम्भ र अन्त्यमा ठूलो बदलाव छैन । तर यसले पार्ने पानीमा केही बदलाव देखिन थालेको छ । नेपालले अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, अल्पवृष्टिको सामना गर्नु परेको छ । अहिले हाँडीघोप्टे प्रकृतिको ठूलो वर्षा कति बेला पार्ला भन्ने भय छ । यो वर्ष प्रि–मनसुनको प्रभावले सरदर नै पानी परेको छ ।

Advertisement


बिनाअध्ययन, बिनाजोखिम आकलन सडक खनिएका छन् । डाँडाकाँडा ताछिएका छन् । बाटो बने पनि निकास छैन, नाला छैन । खनिएको नालाको पानी व्यवस्थित हिसाबले तर्काइएको छैन । पानीको प्राकृतिक बाटो बिथोलेको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष पनितापक्रम र वर्षा दुबै बढी हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनबाट करिब २० लाख नागरिक प्रभावित हुने आकलन गरेको छ ।

तापक्रम र वर्षा पनि सरदरभन्दा ६५ प्रतिशतसम्म बढी हुने भनेपछि बाढी, पहिरो, डुबान, कटानका समस्या स्वाभाविक नै छन् । अझ डराउनुपर्ने कुरा त, यस पटक हिमाली क्षेत्रमा पनि वर्षा र तापक्रम दुबै बढी हुने आकलन छ । त्यस कारण हिमताल विस्फोटन, हिमपहिरो र भेलबाढीको जोखिम रहन्छ । यस कारण हामी बढी चनाखो हुनुपर्छ । तीनै तहका सरकार, रेडक्रस लगायत अरू सामाजिक संघ–संस्था दातृ निकायसँग जे जति सामग्री, उपकरण छन्, कुन हालतमा, कहाँ छन्, त्यसको एकीकृत तथ्यांक, जानकारी राज्यको एकीकृत प्रणालीमा आउनुपर्छ । प्राधिकरणले त्यो परिचालन गर्न पाउनुपर्छ ।

Advertisement


विपद व्यवस्थापनमा सुरक्षा निकायको अहम् भूमिका हुन्छ । नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालित हुन्छन् । यसका अतिरिक्त स्वयंसेवकको भूमिका पनि हुन्छ । ठूला प्रकोप, बाढी, पहिरो आदिमा राज्यका सुरक्षा अंग परिचालित गर्नुपर्छ । तर सुरक्षा निकाय पुग्नुअगावै स्वयंसेवक परिचालन गरेर उद्वार व्यवस्थित गर्न सकिन्छ । यसो गर्न सके विपदबाट हुने मानवीय एवं भौतिक क्षति कम गर्न सकिन्छ । विपद पूर्वतयारीलाई व्यवस्थित गर्ने हो भने जनधनको क्षति कम गर्न सकिन्छ । अहिलेको आवश्यकता पनि यही हो ।

तपाईको प्रतिक्रिया