दुर्घटना गरी फरार ट्याक्टर चालक पक्राउ, भुजेलको मृत्युबारे अनुसन्धान

समाधान संवाददाता २०८२ जेठ २८ गते ११:५६

पोखरा ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १५ आर्दश टोलस्थित अमिनतारा जाने भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा संलग्न ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो। मृतक तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ लिलाचोक स्थायी घर भई हाल पोखरा-१४ छिनेडाँडा बस्ने २० वर्षीय मनोज भुजेल छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जेठ २६ गते बिहान ५:२३ बजे प्राप्त सूचनापछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले घटनास्थलमा मृतकको शरीरमा चोटपटक र नजिकै ह्यामर फेला पारेको थियो। अनुसन्धानबाट स्याङ्जाको पकवादी गाउँपालिका-९ स्थायी घर भई हाल पोखरा-१४ छिनेडाँडा बस्ने २० वर्षीय ट्याक्टर चालक पवन रानालाई ग १ त ३३२० नम्बरको ट्याक्टरसहित पक्राउ गरिएको हो।

Advertisement

प्रारम्भिक अनुसन्धानअनुसार मृतक भुजेल सगरमाथा टोलमा जग्गा प्लटिङमा ज्यामीको काम गर्थे। उनले सोही दिन रानासँग बर्थडे पार्टी मनाएर ट्याक्टरमा फर्कने क्रममा तीव्र गतिका कारण ट्याक्टरबाट खसेका थिए। ट्याक्टरको ठूलो पाङ्ग्राले कुल्चिँदा उनको मृत्यु भएको खुलेको छ।

पक्राउ परेका रानालाई कास्की जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया