होल बडी चेकअपसम्बन्धी १० भ्रम र यथार्थ

मलाई यो होल बडी चेकअप भन्ने शब्दावली नै नमिलेजस्तो लाग्छ, जसले जनमानसमा भ्रम पैदा गरिरहेको छ । होल बडी चेकअपको सट्टामा प्रारम्भिक स्वास्थ्य जाँच (इसेन्सियल हेल्थ चेकअप) भन्ने शब्दावली उपयुक्त हुन सक्छ । किनभने झट्ट सुन्दा होल बडी चेकअप भन्नाले पूरा शरीरको सबै जाँच जस्तो बुझिन जान्छ र त्यस्तो जाँच सम्भव पनि हुँदैन । प्रारम्भिक स्वास्थ्य जाँच भन्नाले हाम्रो क्लिनिको–डेमोग्राफिक प्रोफाइलको आधारमा गर्नैपर्ने नियमित जाँचहरुलाई जनाउँछ ।
१. के हामी सबैले नियमित रूपमा चेकजाँच गर्नु जरुरी छ ?
जरुरी छ । यसो भन्दैमा सबैको लागि गरिने चेकजाँच एकैनासको भने हुँदैन ।
२. के सबैले एकैनासको चेकजाँच गर्नुपर्छ र ?
होइन, आफूले कुन–कुन चेकजाँच गर्ने भन्ने कुरा धेरै कुरामा निर्भर हुन्छ । जसलाई हामी एकमुष्ट रूपमा मेडिकल भाषामा क्लिनिको–डेमोग्राफिक प्रोफाइल भन्ने गर्दछौं । क्लिनिकको– डेमोग्राफिक प्रोफाइल अन्तर्गत आफ्नो उमेर, लिंग, शारीरिक बनावट, आफूलाई पहिलेदेखि लागेको रोग अनि आफूले नियमित रुपमा खाइरहेको औषधी, आफ्नो परिवारमा रहेका दीर्घरोग, क्यान्सर अनि अन्य वंशाणुगत रोगहरु, अनि चिकित्सकसँग जाँच गर्दा भेटिएका असामान्य नतिजा हरु पर्ने गर्दछन् , यही क्लिनिकल प्रोफाइलका आधारमा प्रत्येक बिरामीको लागि गरिने जाँचहरु फरक– फरक हुन सक्दछन् । स्वस्थ व्यक्तिको हकमा भने धेरै जाँचहरु एकै किसिमको हुन सक्छ ।
३. के होल बडी चेकअप/प्रारम्भिक स्वास्थ्य जाँच गर्दा सबै रिपोर्ट सामान्य आउँदा शरीर पूर्ण ?पमा स्वस्थ छ भन्ने जनाउँछ ?
धेरै हदसम्म जनाउँछ तर पूर्ण रुपमा निक्र्योल यसले पनि गर्दैन । स्वास्थ्य संस्था अनि विभिन्न प्रयोगशालामा बनाइएका प्याकेजले उमेर र विशेषगरी दीर्घ रोग जस्तै मधुमेह, उच्च रक्तचाप, थाइरोइड, कोलेस्टेरोल, मुटुको समस्या, कलेजोको समस्या आदिलाई लक्षित गरी विभिन्न जाँचहरु समावेश गरेका हुन्छन् ।
शरीरभित्र रहेको शुक्ष्म समस्याहरू, तथा लक्षित नभएका रोगहरूको बारेमा पूर्णरुपमा प्रारम्भिक स्वास्थ्य जाँचले पनि निदान गर्न सक्दैन । यद्यपि, दीर्घरोग तथा उमेर अनुसार देखिन सक्ने शारीरिक समस्याहरूको बारेमा धेरै हदसम्म यकिन गर्न भने अवश्य सकिन्छ ।
झट्ट सुन्दा होल बडी चेकअप भन्नाले पूरा शरीरको सबै जाँच जस्तो बुझिन जान्छ र त्यस्तो जाँच सम्भव पनि हुँदैन
४. मेरो लागि कुन अनि कस्तो जाँचहरु गर्ने भनेर कसरी थाहा पाउने ?
अघि भनेजस्तै सबैको क्लिनिको–डेमोग्राफिक प्रोफाइल एकैनासको नहुन सक्छ अनि त्यस अनुसार गर्नुपर्ने जाँचहरु पनि फरक पर्न सक्छन् । चिकित्सकको सल्लाह अनुसार नै जाँच गरेको राम्रो हुन्छ । कतिपय अवस्थामा होल बडी प्याकेजले गर्दा आफूलाई चाहिने महत्पूर्ण जाँचचाहिँ छुट्ने अनि तुलनात्मक रूपमा कम आवश्यक जाँच चाहिँ भएको पाइन्छ ।
५. होल बडी प्याकेजको जाँचहरु सामान्य देखिँदा त्यो रिपोर्टहरू चिकित्सकलाई नदेखाउँदा पनि हुन्छ ?
देखाउँदा राम्रो हुन्छ । धेरै प्रयोगशालामा वा बिरामी आफैंले रिपोर्ट हेरेर सामान्य तहमै छ भन्दै चिकित्सकसँग परामर्श नलिएको भेटिन्छ । यो तरिका ठीक होइन । कतिपय अवस्थामा प्रयोगशालाको रेन्जमै रिपोर्ट आउँदा पनि बिरामीको प्रत्यक्ष शरीर जाँच गर्दा स्वास्थ्य समस्याहरूको अन्य क्लु मिल्दछ । अझ नर्मल रेन्जमा रिपोर्ट भएपनि एउटा निश्चित बिरामीका लागि उसको उपचार सामान्य तह भन्दा फरक पनि हुन सक्दछ ।
कहिलेकाहिँ त बिरामीको लक्षण अनि समस्याको हिसाबले महत्वपूर्ण हुन जाने जाँचहरु छुटेको पनि हुन्छ । त्यसैले रिपोर्टहरू सामान्य देखिए पनि रिपोर्टहरु लिएर एक पटक चिकित्सकसँग पनि रायसुझाव लिँदा राम्रो हुन्छ ।
६. के होल बडी प्याकेजभित्र पूरै शरीरको सीटी स्क्यान/एमआरआई/युजीआई इन्डोस्कोपीहरु पनि पर्दछन् ?
सामान्यतया पर्दैनन् । माथि उल्लेखित जाँचहरु विशेष जाँचहरु हुन् । जुन बिरामीको स्वास्थ्य समस्याको प्रकृति हेरेरमात्र सुझाव दिने गरिन्छ । साथै सीटी स्क्यान गर्दा विकिरणको दूरगामी प्रभाव पर्ने भएकाले आवश्यक परेको खण्डमा बाहेक हामी सीटी स्क्यान गर्ने सुझाव दिँदैनौं ।
७. हामीले नियमित चेकजाँच कति कति समयमा गर्नुपर्छ ?
कुनै स्वास्थ्य लक्ष्यण नभएको खण्डमा ५० वर्ष उमेर ननाघेकाहरुले प्रत्येक २–३ वर्षमा र ५० वर्ष नाघेकाले वर्षको एकपल्ट नियमित चेकजाँच गर्नुपर्छ । पहिलेदेखि अरु रोग भएको खण्डमा, या कुनै रेगुलर मेडिसिन खाएको खण्डमा, परिवारमा क्यान्सर लगायत अन्य दीर्घरोग भएको खण्डमा उमेरको हद फरक हुन्छ अनि चेकजाँच गर्ने अवधि पनि भिन्न हुन्छ ।
कुन–कुन जाँच गर्ने बुझ्न का लागि पहिला नै चिकित्सकसँग सल्लाह लिएको राम्रो हुन्छ ? रिपोर्टहरुमा केही समस्या भेटिएको अवस्थामा भने छनोट गरिएका जाँचहरु चिकित्सकको सल्लाह अनुसार निर्धारित समयमा गर्नुपर्छ ।
माथिको सुझाव एकमुष्ट प्याकेजको लागि हो । यद्दपि विभिन्न जाँचलाई अलग्याएर हेर्ने हो भने पुनः जाँच गर्ने समयावधि फरक–फरक हुन्छ, यहाँ उल्लेख गरिएको समयचाहिँ समग्रमा हो ।
८. नियमित चेकजाँच गर्दा हजुरले सबैभन्दा बढी भेटाउने स्वास्थ्य समस्याहरू के के हुन् ?
– नियमित चेकजाँचको क्रममा हामीले भेटाउने स्वास्थ्य समस्याहरू यसप्रकार छन् :
१. उच्च कोलेस्टेरोल
२. कलेजोमा बोसो जमेको (फ्याटी लिभर)
३. मधुमेहको पूर्वावस्था
४. कलेजोको इन्जाइम बढ्नु
५. भीटामिन डीको कमी
६. थाइरोइडको समस्या
७. दृष्टिमा समस्या
९. माथि भनेका स्वास्थ्य समस्याहरूको जड के होलान् ?
– माथि उल्लेखित धेरै जसो समस्या हाम्रो निष्क्रिय र अनुशासनहीन जीवनशैली, अभ्यासको कमी, जंक अनि परिष्कृत खाना, कोठाभित्रै सीमित कार्यथलो, जसले गर्दा प्रशस्त सूर्यकिरणको कमी, स्क्रिन समय बढ्दै जानु अर्थात् लामो समय स्क्रिन अर्थात् मोबाइल, ल्यापटपमा व्यस्त हुनु, अनि चुरोट अनि रक्सीको लत आदि पर्दछन् ।
१०. पाठकलाई सुझाव के हुन सक्छन् ?
नियमित रूपमा स्वास्थ्य चेक जाँच गर्ने गरौं । सँगसँगै अभ्यास अनि डाइटमा पनि सजग रहनुपर्छ होइन भने चेकजाँचले मात्र स्वास्थ्य सुध्रिदैन । सकेसम्म चेकजाँच गर्नु अघि नै के–केजाँच गर्ने सल्लाह चिकित्सकसँग लिँदा राम्रो हुन्छ । तथापि पहिले नै जाँच गरिसकेको अवस्थामा रिपोर्टहरु लिएर एकपल्ट चिकित्सकसँग अवश्य परामर्श गरौं ।
समयमा रोगको पहिचान गर्नाले त्यसले ल्याउन सक्ने जटिलता, गराउन सक्ने आर्थिक हानी अनि परिवारमा र समाजमा पार्न सक्ने नकारात्मक असरबाट बच्न सकिन्छ । अहिलेको सानो खर्च सुखी अनि स्वस्थ भविष्यको लागि गरेको लगानी सम्झनुपर्छ ।









सरल छविका थिए प्रशान्त तामाङ
‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया