प्रदेशस्तरीय पुरुष टि २० को तयारी पूरा

समाधान संवाददाता २०८२ जेठ ३० गते १७:१३

पोखरा ।
प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ‘तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि २० आई प्रतियोगिता २०८२’ आयोजना गर्ने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।


क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका ८ जिल्लाको सहभागिता रहनेछ । पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता २ समूहमा विभाजनमा गरी सञ्चालन हुनेछ । समूह ‘ए’ मा स्याङ्जा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा छन् । प्रत्येक दिन २ खेल हुने गरी तालिका तय गरिएको छ ।


संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिता युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरेका छन् । अध्यक्ष सिग्देलले कठिन समय र परिस्थितिका बाबजुद प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘हामीसँग स्रोत र साधनको अभाव छ । तर पनि हामी जुन सुकै कठिन परिस्थितिका बाबजुद यो प्रतियोगिता सञ्चालन गर्दै छौं ।’

Advertisement


प्रतियोगिताको विजेता टिमले नगद १ लाख, उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई जनही २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ले १ हजार नगद र ट्रफी प्राप्त गर्ने छन् ।


प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न पूर्व क्यान केन्द्रीय सदस्य ऋषिराम गौतमलाई संयोजक तोकिएको छ । गण्डकी क्रिकेट संघका सदस्यसमेत रहेका गौतमले क्रिकेटको विकासका लागि प्रदेश सरकारले प्रतियोगिता र पूर्वाद्धार विकासका लागि रकम विनियोजन गर्न आग्रह गरे ।

Advertisement

उनले भने, ‘हाम्रोमात्र प्रयासले क्रिकेटको विकास सम्भव छैन । यसमा प्रदेश सरकारको समेत उत्तिकै दायित्व रहन्छ । हरेक वर्ष वजेट विनियोजन भएमा खेलाडी उत्पादन सहज रुपमा अघि बढ्छ ।’ प्रतियोगिता पोखरा रंगशालाको क्रिकेट मैदानमा हुनेछ ।

तपाईको प्रतिक्रिया