ओखरको बोट र ‘लुढाक’ गाउँको कथा

सुन्दरकुमार थकाली २०८२ असार १ गते ११:०६

राष्ट्रिय गौरवको जोमसोम—कोरला मुख्य राजमार्ग सडकअन्तर्गत मुस्ताङको पान्डाखोलादेखि पूर्वतर्फ मोडियो भने तीन किलोमिटर दूरीमा ऐतिहासिक तथा धार्मिक महत्वको ‘लुढाक’ गाउँमा पुग्न सकिन्छ । मुख्य राजमार्ग सडकबाट लुढाकमा पुग्न सवारीसाधन चढेर जाँदा १० मिनेटमा पुग्न सकिन्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ वडामा पर्ने लुढाक गाउँको पछिल्लो विकसित नाम हो ‘लुप्रा’ गाउँ ।

Advertisement


झन्डै २ हजार पाँच सय वर्षअघि मुस्ताङको लुढाक उर्फ लुप्रा गाउँमा कुनै मानव बस्ती बसेको थिएन । त्यसबेला अग्लो डाँडाको फेदमा यो ठाउँ भिरालो खुला पठारजस्तै थियो । बस्ती बस्नुअघि त्यहाँ माथिल्लो भागमा अग्लो पहाड र बस्तीको तल ठाडो खोला थियो । त्यही पहाडको फेदमा बस्ती र तल ठाडो खोलाबीचमा लुढाक मानव बस्ती बसेको धार्मिक किंवदन्ती छ ।


तिब्बतबाट एक लामा धार्मिक योगसाधनाका लागि उपयुक्त बासस्थान खोज्दै खोज्दै त्यही नागको बासस्थान रहेको पहाड लुढाक भन्ने स्थानमा पुगे । त्यहीको गुफा–ओडारमा बसेर ती तिब्बती लामाले ध्यानसाधना गरे । उनी त्यहाँ ध्यानसाधनामा रहँदा भूतप्रेत र नागहरूले निकै दुख दिने गर्थे । निकै ठूलो तान्त्रिक क्षमता भएका ती तिब्बती लामाले लुढाकमा छाउने गरेका भूतप्रेत र नागहरूलाई तान्त्रिक शक्तिबाट ‘फु’ गरेर धपाए ।

Advertisement


लु—भनेको नाग र डाक भनेको भीर भन्ने गरिन्छ । नाग रहेको पहाडलाई तिब्बती भाषामा लुढाक भन्ने गरिएको हो । लामा त्यही लुढाकमा ध्यान गर्दै गर्दा उनले उपल्लो मुस्ताङबाट एक स्त्रीसँग विवाह गर्न पुगे । त्यसपछि ती तिब्बती तान्त्रिक क्षमता भएका लामाले एक पुत्र जन्माए । ती तिब्बती लामाको छोराको नाम थियो टसी ग्याल्जेन । त्यसबेलासम्म लुढाकमा कुनै मानव बस्ती बसिसकेको थिएन ।


बोन लामा टसी ग्याल्जेन पनि निकै ठूलो तान्त्रिक शक्ति प्राप्त गरेका लामा थिए । लामा ग्याल्जेनले त्यहाँको लुढाकको भिरालो स्थानमा मानव बस्ती बसाल्न योग्य छ कि छैन भन्ने जाँच्न अचम्मको परीक्षण गरे । लामा ग्याल्जेनले लुढाकमा सियोले जमिन कोपरेर ओखरको बोट रोपेर डोकोले छोपे । यहाँ मानव बस्ती बस्न योग्य भए ओखरको बोट उम्रने र बस्ती बस्न योग्य छैन भने ओखरको बोट नउम्रने भनेर बस्ती बसाल्न धार्मिक परीक्षण गरे । नभन्दै लामा ग्याल्जेनले सियो कोपरेर रोपेको ओखरको बिरुवा ७ दिनपछि खोलेर हेर्दा उम्रिएको पाइयो । त्यसपछि तिनै लामाले लुढाकमा बस्ती बसालेको बोन लामा घेसे सोनामले सुनाए ।

Advertisement


ओखरको बोटले बस्ती बसेको लुढाक गाउँमा अझै पनि त्यसबेला रोपण गरेको ओखरको बिरुवा जीवितै अवलोकन गर्न सकिन्छ । यो ओखरको बिरुवा झन्डै दुई हजार पाँच सय वर्षअघि तान्त्रिक क्षमता भएका लामा ग्याल्जेनले बस्ती बसाल्न रोपण गरेको ओखरको बोट हो । अहिले ओखरको बोटलाई संरक्षणका लागि घेराबार गरी राखिएको छ ।


लुढाक वरिपरि भूतप्रेत र नागहरूको बासस्थान थियो । तिब्बतीले भूतप्रेत र नागहरूलाई तान्त्रिक शक्तिबाट नियन्त्रणमा लिएपछि त्यहाँ भूतप्रेत र नागहरूको आतंक नियन्त्रण भएको भनाइ छ । मुस्ताङको लुढाक गाउँका स्थानीयले अहिले पनि बर्सेनि नाग भीरमा पुगेर धार्मिक पूजाआजा गर्छन् । भीरमा पत्थरको रुपमा विराजमान भएका नागहरुले लुढाक गाउँको रक्षा गर्ने धार्मिक जनविश्वास रहेको लामा घेसे सोनामको भनाइ छ । तिब्बती लामाले भूतप्रेत धपाएकाले त्यहाँको लुढाक गाउँको उत्तरतर्फको पहाडमा तीन वटा गुफा अर्थात् ओडारहरू छन् । त्यही ओडारमा मेडिटेसन अर्थात् ध्यानयोगका लागि उपयुक्त स्थानको रूपमा लिने गरिन्छ ।

मुस्ताङको लुढाक (लुप्रा) गाउँमा २,५०० वर्षअघि तिब्बती लामा टसी ग्याल्जेनले ओखरको बोट रोपेर बस्ती बसालेको धार्मिक किंवदन्ती छ, जहाँ अहिले पनि उक्त बोट संरक्षित छ ।


त्यसो त तिब्बती लामाका छोरा लामा ग्याल्जेन निकै ठूलो शक्तिशाली र तान्त्रिक क्षमता भएकाले त्यसबेला मुस्ताङको घरपझोङ—५ ठिनीका राजाले सम्बन्ध स्थापित गर्न थाले । त्यसबेला लुढाक गाउँ र त्यस क्षेत्रमा पर्ने वनजंगल सबै मुस्ताङको ठिनीका राजाको नियन्त्रणमा थियो । लामा ग्याल्जेन निकै शक्तिशाली भएकाले ठिनीका राजाले आफूलाई समस्या पर्दा सहयोग गर्नुपर्ने र लुढाकमा फल्ने काठको भुम्बुली दिनुपर्ने सर्त राखेर लुढाकको बस्ती रहेका जग्गा र लेक जंगल शक्तिशाली लामा ग्याल्जेनलाई चढाए । त्यहाँ ओखरको बिरुवा उम्रिएको र ठिनीका राजाले जलजमिन चढाएकाले त्यहाँ मानव बस्ती बसेको भन्ने धार्मिक जनविश्वास रहेको लामा घेसे सोनामको भनाइ छ ।

मुस्ताङको लुढाक उर्फ लुप्रा बस्ती झन्डै दुई हजार पाँच सय वर्ष पुरानो मानिएको छ । त्यसबेला लुढाक गाउँको खेतीयोग्य जमिन निकै ठूलो क्षेत्रफलमा फैलिएको थियो । तर बर्सेनि लुप्रापान्डाको खोलाको कटानले गर्दा त्यहाँको ठूलो खेतीयोग्य जमिन बगरमा परिणत भएको स्थानीय बासिन्दाको भनाइ छ । लुप्रा गाउँमा हाल घरधुरीको बसोबास रहेको स्थानीय छिरिङ गुरुङले जानकारी दिए । गाउँमा करिब १५० जनाको जनसंख्या रहे पनि धेरै युवाहरू विदेश पलायन भइसकेकाले अहिले गाउँमा करिब ६०–६५ जना मात्रै जनसंख्या रहेको स्थानीय गुरुङको भनाइ छ ।

लुढाक उर्फ लुप्रा गाउँलाई बोन गाउँको रूपमा लिने गरिन्छ । त्यहाँका अधिकांशले बोन धर्म मान्ने गरेको स्थानीय गुरुङको भनाइ छ । गाउँमा रहेका स्थानीयको जीविकोपार्जनको स्रोत भनेकै कृषि, पशुपालन र केहीले होटल चलाएर बसेका छन् । लुढाक गाउँ अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मुक्तिनाथबाट लुढाक गाउँ हुँदै निस्किने पर्यटकीय पदमार्ग रहेकाले कतिपय विदेशी पर्यटक लुप्रा हुँदै ठिनी गाउँमा निस्कन्छन् ।


लुढाक गाउँमा स्याउ, आलु, फापर, उवा, जौ र हरियो सागसब्जी राम्रो उत्पादन हुन्छ । गाउँमा चारवटा पर्यटक लक्षित होटल सञ्चालनमा छन् । गाउँमा बोन धार्मिक गुम्बा छ । त्यहाँ कठिन परिस्थितिका बालबालिकाहरू बोन शिक्षासहित सरकारी विद्यालयमा पढाइने शैक्षिक पठन–पाठन हुने गर्छ । गुम्बाका बालबालिकाहरू त्यहाँको सरकारी स्कूलमा पढ्ने र त्यसपछि बोन गुम्बाको होस्टेलमा बसेर पढ्छन् ।


ओझेलमा लुढाक गाउँ
पर्यटकीय दृष्टिकोणले अथाह सम्भावना हुँदाहुँदै पनि मुस्ताङको ‘लुढाक’ गाउँ ओझेलमा परेको छ । कहिलेकाहीं आकस्मिक रूपमा विदेशी पर्यटकको उपस्थिति हुने गरे पनि आन्तरिक पर्यटक भने लुढाक गाउँमा पुग्न सकेका छैनन् । प्रचार–प्रसारमा कमी हुँदा राष्ट्रिय राजमार्ग नजिकै हुँदा पनि मुस्ताङ आउने अधिकांश पर्यटक लुढाक गाउँको बारेमा बेखबर हुँदा लुप्रा गाउँ ओझेलमा परेको हो ।


लुढाक उर्फ लुप्रा गाउँ नजिकै तीनवटा गुफा अवस्थित छन् । ध्यानयोगका लागि यो स्थान उपयुक्त भएको स्थानीय छिरिङ गुरुङले जानकारी दिए । ‘विदेशी पर्यटकहरू यहाँ आएर ध्यानयोग गर्न रुचाउने गर्छन्, विदेशीहरू गुफामा बसेर ध्यान गर्न आउने क्रम चलिरहेको छ, ट्रेकिङ पदमार्ग पनि यही गाउँ हो,’ गुरुङले थपे, ‘यहाँ स्थानीयले होमस्टे पनि चलाएका छन्, केहीले होटल पनि खोलेका छन् ।’ स्थानीय गुरुङले लुढाक गाउँ साइक्लिङ ट्रेलका लागि पनि महत्वपूर्ण पदमार्ग रहेको बताए ।
मुस्ताङको लुढाक गाउँबाट नीलगिरी र धौलागिरि हिमाल, उपल्लो मुस्ताङ र मुस्ताङ–डोल्पा सीमाना साङ्ता गाउँको समेत सजिलै दृश्यावलोकन गर्न सकिने गुरुङले उल्लेख गरे ।


धार्मिक तथा ऐतिहासिक रूपमा निकै ठूलो महत्त्व बोकेको मुस्ताङको लुढाक गाउँलाई पर्यटकीय हबको रूपमा विकास गर्न सरकारले ध्यान दिनुपर्ने स्थानीय लामा छोल्डेन गुरुङले बताए । यसका लागि हालको कच्ची सडक विस्तार र पर्यटकीय पूर्वाधारहरूको स्तरोन्नति आवश्यक रहेको लामा गुरुङको भनाइ छ । मुख्य राजमार्गबाट क्षणभरमै पुग्न सकिने लुढाक गाउँमा पुग्दा पर्यटकले निकै आनन्दको महसुस गर्न पाउँछन् । लुढाकको उत्तर–दक्षिण दिशामा रहेका अग्ला–अग्ला पहाडको खोँचमा बस्ती रहेकाले लुढाक गाउँ पुग्ने जोकोही पर्यटक मोहित नहुने कुरै भएन ।


सदियौँ वर्ष पुराना ऐतिहासिक ढुंगा र माटोले निर्मित लुढाक गाउँका परम्परागत घरहरू निकै आकर्षक देखिन्छन् । गाउँभित्रको पर्यटकीय पदमार्ग गल्लीको पदयात्रा पर्यटकका लागि निकै अविस्मरणीय बन्छ । भिरालो सतहमा एक–अर्कामा गुजमुज्ज परेका परम्परागत घरहरूको छतमा लस्करै पञ्जिएर राखिएको दाउरा र त्यहाँका घरमाथि गाडिएको बुद्धिस्ट झन्डा (लुङ्ता) ले लुढाक गाउँको सुन्दरतालाई झनै घनिभूत तुल्याएको छ । गाउँमाथिको अग्लो स्थानमा स्तूप निर्माण भएको छ । बोन धर्मसम्बन्धी विभिन्न खोज–अनुसन्धान र मेडिटेसन–ध्यानयोग साधनाका लागि पनि लुढाक गाउँ आफैँमा महत्वपूर्ण स्थानको रूपमा लिइने गरिएको छ ।


मुस्ताङको लुढाक गाउँलाई बर्सेनि नजिकैको ठाडो लुप्रा खोलाले निकै सास्ती दिने गरेको छ । बर्सेनि ठाडो खोलाको कटानले लुढाक गाउँको खेतीयोग्य जमिन पातलिँदै जान थालेको स्थानीय बताउँछन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया