सभ्यता विकासमा युरोपेली झूठको पर्दाफास

सन् १०९६ मा स्थापित बेलायतको मात्र नभई संसारको पुरानो अक्सफोर्ड विश्वविद्यालय र नजिकै सन् १२०९ मा स्थापित क्याम्ब्रिज विश्वविद्यालय संसारका प्रथम विश्वविद्यालयहरू भनेर पढाइँदै आएको छ । मानव सभ्यता विकासको इतिहासमा युरोपको योगदान यहीँबाट सुरु मानिन्छ । तर यति लामो इतिहास भएको अक्सफोर्डमा यति धेरै मौनता र लज्जाबोध कहिल्यै महसुस भएको थिएन, अर्थात् १० मिनेटमा एक हजार वर्षको इतिहास ध्वस्त हुँदै थियो । सत्य र झूठको पर्दाफास भएको त्यो दिन थियो ।
मार्च महिनाको मध्य बिहान, आफ्नो ९२९ वर्षको इतिहास बोकेको अक्सफोर्ड विश्वविद्यालयको परिसरमा अवस्थित शेल्डोनियन थियटर सभाहल विश्वका विद्वान बुद्धिजीवी, अनुसन्धानकर्ताहरूले भरिभराउ थियो । साथमा अक्सफोर्डकै प्रोफेसरहरू र अफ्रिकी महादेशबाट आएका विद्यार्थीहरूको बाहुल्यता थियो । किनकि त्यहाँ मानव सभ्यता र अफ्रिकाको योगदान विषयमा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत र छलफल राखिएको थियो । डायसमा मुख्य वक्ता ६५ वर्षीय प्रोफेसर एडमन्ड हेरिडटन, आफ्नो जीवनभरको अध्ययन, अनुसन्धान र ४७ वर्षको त्यस विश्वविद्यालयमा दिएको प्राध्यापन पेशाले पाएको ज्ञान राख्दै थिए ।
चाँदीझैं टल्कने कपाल, सेतै फुलेका दाह्रीजुँगा र चाउरी परेको अनुहारको माथि आँखामा गोलाकार तारले बेरिएको पावर चश्मा लगाएका उनी निकै आत्मविश्वास र गर्विलो ढङ्गले प्रस्तुत भएका थिए । उनले मानव सभ्यता विकास र युरोपको योगदानबारे राखेका अनुसन्धानमूलक खोज, इतिहासका तार्किक र वैज्ञानिक आधारहरूले हललाई मन्त्रमुग्ध पारिरहेको थियो ।
कार्यक्रमको तालिका अनुसार २१औँ शताब्दीमा विश्वव्यापी नेतृत्वको बारेमा पनि केही भनाइ राख्न विश्वका केही प्रबुद्ध नेताहरूलाई सोही कार्यक्रममा डाकिएको थियो । अक्सफोर्डकै विद्यार्थी तथा बुद्धिजीवीको अनुरोधमा सो कार्यक्रममा केही अफ्रिकी नेताहरू पनि उपस्थित थिए ।
दिउँसोको साढे ३ बजेसम्म आफ्नो प्रस्तुति राख्दै प्रोफेसर हेरिडटन भन्दै थिए, ‘युरोपेली इतिहास महान छ जसले मानव सभ्यता र विकासलाई चरम अवस्थामा लग्यो र आजको मानवीय विकासमा योगदान दिएको हो ।’ आफ्नो दशकौँ अध्ययन, अनुसन्धान र १२ भन्दा बढी पुस्तक लेखनको आधारमा उनी भन्दै थिए, ‘युरोपले मानवता सिकायो ।’ युरोपियन इतिहास र मानव सभ्यतामा योगदान विषयसहित ३ विद्यावारिधि उपाधिका प्रतिष्ठित विद्वान हेरिडटन आधुनिक सभ्यता विकासको जग युरोप रहेको दाबीमा तथ्यगत जानकारी स्वरूप भन्दै थिए, ‘गणितको विकास ग्रीसबाट भयो, कानूनको विकास रोमबाट भने दर्शनको विकास जर्मनीबाट भयो ।
अहिलेको विज्ञान र प्रविधियुग सुरुवात गर्ने श्रेय ग्रेट ब्रिटेनलाई जान्छ जहाँ १८औँ शताब्दीबाट औद्योगिक क्रान्तिको सुरुवात भएको थियो । मानव विकासको स्तम्भ पश्चिमा अर्थात् युरोपेलीले नै गरेका हुन्’ भन्ने कुराको गहिरो तर्क राख्दै उनले भने, ‘एसियाले बारुद, कागज र मसला यहाँ ल्याएर केही योगदान गरेको होला । यस्तै अमेरिकाले परिष्कृत समयसूची (क्यालेन्डर) तयार गरेको हो तर अमेरिकामा जाने विज्ञान, प्रविधि र वैज्ञानिक पनि युरोपकै योगदान हुन् । बाँकी विश्वको मानव विकास र सभ्यता निर्माणमा कुनै भूमिका देखिँदैन ।’ मानवजातिको उत्पत्ति अफ्रिकामा नै भए पनि सभ्यता विकास र आधुनिक समाजको निर्माणमा अफ्रिका युरोपको उत्पादन रहेको भन्ने तर्क आत्मविश्वासका साथ राखिरहे ।
विद्वान र शिक्षाविद्हरूले खचाखच भरिएको सेल्डोनियन थियटर सभाहल स्तब्ध थियो, अर्थात् धेरै आश्चर्य र थोरै आक्रोशले भरिएको थियो । सभाहलको अग्रपङ्क्तिको बेन्चमा एक साधारण ब्राउन सुट लगाएर एक काला जातिका उज्ज्वल युवा नेता निकै चुपचाप बसिरहेका थिए, अर्थात् ध्यानमग्न भएर सुनिरहेका थिए । उनी पटकपटक आफ्नो डायरीमा प्रोफेसरका भनाइका केही टिप्पणी लेखिरहेका देखिन्थे भने अधिकांश समय मन्द मुस्कानमा प्रोफेसरका भनाइलाई निकै गहिरिएर ग्रहण गरिरहेका देखिन्थे ।
बेलाबेलामा प्रोफेसर हेरिडटनले मानव सभ्यता विकासमा उपसहारा अफ्रिकाको कुनै उल्लेख्य भूमिका छैन भन्दै आफ्ना तर्क र भनाइमा सन्देह नगर्न सुझाइरहेका थिए । प्रोफेसरले ‘आजको सभ्य मानिस बन्न युरोपले नै सिकाएको’ भन्दै युरोपबाहेक अन्य महादेशले मानव विकास र सभ्यतामा योगदान दिएको भए तथ्यगत भनाइ राख्न बारम्बार सभाहललाई चुनौती दिइरहँदा यी युवा नेता अझ बढी मुसुक्क मुस्कुराइरहेका देखिन्थे ।
प्रखर विद्वान हेरिडटनको लामो भनाइ र चुनौतीलाई आफ्नो डायरीमा टिपिरहेका यी काला जातिका युवा नेताले डायरी बन्द गरे । आफ्नो कलमलाई डेस्कको छेउमा राखे र हात उठाए । प्रोफेसर हेरिडटनले हात उठाउने युवा नेतालाई बेवास्ता शैलीमा सामान्य बच्चाझैं ठान्दै भने, ‘ल भन, केही जिज्ञासा वा अस्पष्टता छ कि?’ प्रोफेसरको अनुहारमा स्पष्ट झलक देखिन्थ्यो, उनको भनाइमा प्रश्न उठाउन कसैले सक्दैनन् र प्रश्न उठाउनेलाई उनले मन पराउँदैनन् पनि । त्यसैले हात उठाउने काला जातिका युवा नेतालाई सामान्य आकलन गर्दै ‘केही भन्नु छ भने डायसमा आएर भन्न सक्छौ, डायसमा स्वागत छ ।’
सैनिक जवानजस्ता देखिने ती काला जातिका युवा नेता निकै शान्त र भद्र तवरले उठे, मर्यादित सैनिकको हिँडाइझैं सरासर पोडियमतर्फ लागे । प्रोफेसर हेरिडटन र अन्य अग्रपङ्क्तिका विद्वानहरूलाई नम्र अभिवादन गरे भने सभाहलका सहभागीलाई हात हल्लाएर मिठो मुस्कानसहित अभिवादन गरे । उनको यो अभिवादनले हलमा ताली गडगडायो, कौतूहलता छायो भने उता प्रोफेसरको अनुहार निचोरेको कागतीसरह सुक्दै थियो । माइक हातमा समाउँदै ती युवाले पहिलो वाक्य बोले, ‘क्षमा गर्नुहोला महोदय प्रोफेसर हेरिडटन, के तपाईंको भनाइमा म केही सवाल र जवाफ गर्न सक्छु?’ यस्तो लाग्थ्यो, एक कक्षाकोठामा एक आज्ञाकारी विद्यार्थीले आफ्ना गुरुलाई गृहकार्य बुझाउँदै छन् ।
युवा नेताले मागेको अनुमति प्रोफेसरले नमिठो मान्दै ‘ओके’ भन्दै स्वीकारे, उनले उक्त युवा नेतालाई चिनेकै थिएनन् । वास्तवमा कार्यक्रमअघि यी युवा नेताको कुनै परिचय दिइएको थिएन । अब उनले निधक्क, शान्त शैलीमा मुस्कुराउँदै आफ्नो परिचय राखे । ‘म इब्राहिम ट्राउरे, सबसहारा अफ्रिकाको भूपरिवेष्टित सानो देश बुर्किना फासोबाट आएको,’ मात्र भने तर उनले आफ्नो पद भनेनन् ।
ट्राउरेले सम्बोधन गर्दै भने, ‘म यहाँ डायसमा प्रोफेसर हेरिडटनको युरोप र सभ्यता विकासबारेको अनुसन्धानात्मक अध्ययनलाई सुनेर आश्चर्य भएकाले मात्र बोल्न खोज्दै छु, अर्थात् केही प्रश्न गर्दै उनको चुनौतीलाई स्वीकार गरी केही कुरा राख्न खोज्दैछु । माफ गर्नुहोला महोदय, म गल्ती पनि हुन सक्छु तर सकेसम्म तथ्यगत आधारमा तपाईंको भनाइमा सन्देह राख्दछु, युरोपको मुकुण्डो उघार्ने प्रयास गर्नेछु ।’
दर्शकदीर्घामा निकै कौतूहलता छायो भने अफ्रिकी मूलका विद्यार्थी रहेको भागतिरबाट गडगडाहट ताली बज्यो । धेरै दर्शकले यति धेरै विद्वान प्रोफेसरको अध्ययन, अनुसन्धान र भनाइलाई चुनौती दिँदै यी काला जातिका युवाले के भन्न खोजे भन्ने कौतूहलतामा आफ्नो मोबाइल फोनमा उनलाई रेकर्ड गर्न थाले । शान्त र शिष्ट भावमा यी युवा नेताले प्रोफेसरले पहिले भनेका हरेक भनाइको निचोडलाई सम्झाउँदै मानव सभ्यतामा युरोपबाहेक अन्य महादेशको योगदान र अझ उपसहारा अफ्रिकाको योगदान मन थामेर सुन्न सल्लाह दिए ।
क्याप्टेन इब्राहिम ट्राउरेले पहिलो प्रश्न सभाहललाई नै गरे, ‘मानव उत्पत्ति, मानव सभ्यता, विकास र अफ्रिकाको योगदान के प्रोफेसर हेरिडटनले भने जस्तै हो त?’ सभाहल निकै सशंकित थियो किनकि यति ठूला विद्वान प्रोफेसर हेरिडटनको भनाइमा सन्देह गर्न कुनै अरू बुद्धिजीवी निस्केका थिएनन् । उता प्रोफेसरको अनुहार भने निकै गम्भीर हुँदै थियो । अब केवल सबसहारा अफ्रिकी मुलुक बुर्किना फासो, जसको अर्थ हुन्छ इमानदार मानिसको धर्ती, का ३७ वर्षीय युवा नेता उक्त सभाहलमा कड्किएर केही प्रश्न गर्न थाले ।
प्रश्न १ः महोदय प्रोफेसर, के तपाईंले १६औँ शताब्दीमा नै विभिन्न विषयमा १६ सयभन्दा धेरै पाण्डुलिपि लेख्ने टिम्बक्टुका रचनाहरू हेर्नुभएको छ?
प्रश्न २ः के तपाईंले अफ्रिकी दुन समुदायहरूको गणितीय ग्रन्थहरूको अध्ययन गर्नुभएको छ?
प्रश्न ३ः के तपाईंले तान्जानियाका हाया मानिसहरूको धातु विज्ञान प्रविधिहरूको जाँच गर्नुभएको छ?
प्रश्न ४ः के स्वाजिल्याण्डमा फेला परेको लबाम्बो हड्डीको पृष्ठबाट पत्ता लागेको ४४ हजार वर्ष पुरानो मानवजातिको पहिलो र पुरानो ज्ञात गणितीय गणनाबारे थाहा छ?
प्रश्न ५ः के चन्द्र चक्रलाई चिन्ह लगाउने २९ विशिष्ट खाँचहरू (लुनर साइकल) गणितको सुरुवात कहाँ भएको हो, प्रोफेसरलाई थाहा छ?
प्रश्न ६ः के टिम्बक्टुको सांकोरे विश्वविद्यालयको बारेमा थाहा छ?
प्रश्न ७ः के बुर्किना फासो र सबसहारा अफ्रिकामा विद्यमान प्राचीन माटोका भवनहरू र आदिम लोककथाहरूले सभ्यतालाई गठन गर्दैनन् होला?
१२औँ शताब्दीमा अफ्रिकाको टिम्बक्टु सांकोरे विश्वविद्यालयमा २५ हजार विद्यार्थी शिक्षित हुन्थे भने सोही विश्वविद्यालयको पुस्तकालयमा ७ लाखभन्दा बढी पाण्डुलिपिहरू थिए । जुन समय बेलायतको अक्सफोर्ड वा क्याम्ब्रिज चर्च नियन्त्रित छाप्रा वा गोठसरह थिए वा शिलन्यासको जग हाल्दै थिए
यहाँ मानव उन्नतिमा योगदानबारे चर्चा हुँदैछ, मानवशास्त्रका जिज्ञासाबारे होइन, तर यो नै सभ्यता विकासको चरण हो भन्दै ट्राउरेले एक फोल्डर खोल्दै कागज निकाले । ‘म अब तपाईं सबैले चिन्ने र जान्ने विषयमा कुरा गर्दैछु ।’ कागज देखाउँदै ट्राउरेले भने, ‘यो स्वाजिल्याण्डमा फेला परेको लबाम्बोको हड्डी हो जसले ४४ हजार वर्ष पुरानो मानवीय गणितको इतिहास बोकेको छ । यो गणितको सुरुवात ग्रीसबाट भएको भन्नेका लागि झापड हो । खाँचहरूको गणना प्रणाली जटिल छ तर पाइथागोरसले गरेको सुरुवाती भन्दा हासो उठ्दो हुन्छ । किनकि २० हजार वर्ष पहिले पुरानो प्रजातान्त्रिक गणतन्त्र कंगोको इसांगोको हड्डीको बारेमा अध्ययन गर्नुपर्छ, जसमा अभाज्य सङ्ख्या, गुणन र भागहरूको प्रमाण छ । यो ग्रीक गणितभन्दा झन्डै १९ हजार वर्ष पुरानो हो ।’
शिक्षाको कुरा गर्दा १२औँ शताब्दीमा अफ्रिकाको टिम्बक्टु सांकोरे विश्वविद्यालयमा २५ हजार विद्यार्थी शिक्षित हुन्थे भने सोही विश्वविद्यालयको पुस्तकालयमा ७ लाखभन्दा बढी पाण्डुलिपिहरू थिए । जुन समय बेलायतको अक्सफोर्ड वा क्याम्ब्रिज चर्च नियन्त्रित छाप्रा वा गोठसरह थिए वा शिलन्यासको जग हाल्दै थिए ।
ट्राउरे शान्त र स्पष्ट शैलीमा आफ्नो स्वर चर्काउँदै भन्दै गए, ‘कानून रोमबाट रोमनले सुरुवात गरेका रे? हासो उठ्दो कुरा । के अशान्ति कन्फेडेरेसीको संविधानको बारेमा छलफल गर्न सक्छौ?’ सभाहलमा प्रश्न तेस्र्याए र भने, ‘बुगान्डा संसदमा लोकतान्त्रिक शासनको जटिल प्रणाली थियो जसलाई शक्तिपृथकीकरणको पहिलो नमुना मान्न सकिन्छ । धेरै शताब्दीपछि फ्रान्सका मन्तेस्क्यूले त्यसैलाई आफ्नो सिद्धान्त बनाए र अमेरिकाले सन् १७८३ मा आफ्नो संविधानमा चेक एन्ड ब्यालेन्सको रुपमा लागू गर्यो ।’
‘तपाईंहरू जर्मनीले दर्शनको सुरुवात गरेको हास्यास्पद कुरा गर्नुहुन्छ । जुनबेला जर्मनहरू एक थिएनन्, देश थिएन र उनीहरूको अस्तित्व नै गठन भएको थिएन, त्यसबेला १७औँ शताब्दीमा इथियोपियन दार्शनिक जारा याकोबले दार्शनिक ग्रन्थहरू लेखिसकेका थिए । उनले आफ्नो ग्रन्थमा मानव अधिकार, विचार विकासबारे लेखेका थिए । के यी जारा याकोबका दर्शन पढ्नुभएको छ? जसबेला युरोपमा मानिसले मानिसलाई पशुझैं काटमार गर्थे भने मानवताको कुनै बिन्दु थिएन ।’ गम्भीर आरोपसहितको प्रश्न प्रोफेसर हुँदै युरोपियन विद्वान सामेल सभाहलतिर आयो ।
‘बाल्डाह ह्वाटले नैतिकता ग्रन्थहरू लेखेका थिए जुनबेला युरोपमा त्यो तहको लेखन कार्य कल्पनाबाहिरको थियो । मात्र फरक यो हो कि उनले ल्याटिन वा रोमन वा जर्मनी वा अंग्रेजी वा फ्रेन्च भाषामा लेखेका थिएनन्, मात्र गीज भाषामा लेखेका थिए । त्यसैले आज उनीहरू सभ्यता विकासको गणनामा गनिएनन् । अफ्रिकी गणितज्ञहरूले पृथ्वी गोल छ भन्दै यसको परिधिको गणना गरिरहँदा त्यसबेला युरोपमा पृथ्वी च्याप्टो छ भन्दै गोलो ठान्नेलाई बाइबल, धर्म र ग्रन्थ सत्यताविपरीत गएको भन्दै फाँसी दिइन्थ्यो । के यही हो मानव सभ्यता विकासमा युरोपको भूमिका?’
ईशापूर्वको चौथो शताब्दीमा बसाइएको इजिप्टको राकोटिस शहरमा अफ्रिकी राजवंशद्वारा उही समय ठूलो पुस्तकालय स्थापना गरिएको थियो । जसलाई झन्डै एक शताब्दीपछि ईशापूर्व ३३२ मा युरोपबाट गएका महान अलेक्जेन्डरले आक्रमण गरेर आफ्नो बनाए साथै शहरको नाम नै परिवर्तन गरेर अलेक्जेन्ड्रिया राखियो । अहिले पनि विश्वको पहिलो ज्ञानको भण्डार त्यही अलेक्जेन्ड्रिया लाइब्रेरीलाई मानिन्छ । त्यसबेला अक्सफोर्डका संस्थापकका पुर्खाहरू माटो–झुपडीका घरमा असभ्य तवरले बसिरहेका थिए । सायद युरोपियन अलेक्जेन्डरले आफ्नो नाममा नबनाएको भए त्यो अलेक्जेन्ड्रियाको पुस्तकालयको इतिहास हामीले अहिलेका प्रचलित पुस्तकहरूमा पढ्न पाउने थिएनौँ होला ।
अब औषधि विज्ञानको कुरा गरौँ । पहिलो सफल मोतियाबिन्दु शल्यक्रिया उपचार १४औँ शताब्दीमा अफ्रिकाको मालीमा भएको थियो । पहिलो सिजेरियन सेक्शन युगान्डामा सन् १८७९ मा भएको थियो, जसबाट आमा र बच्चालाई सकुशल जन्माउने प्रक्रिया सम्पन्न भएको थियो । पहिलो खोपको सुरुवात एडवर्ड जेनरको काउपक्स होइन, बिफरविरुद्ध भेरियोलेसन पश्चिमी अफ्रिकामा भएको थियो । त्यसैले दासको रूपमा अमेरिका लगिएका अफ्रिकी नागरिकमा बिफर सङ्क्रमणको असर कम भएको मानिएको थियो ।
वास्तुकला तथा आधुनिक इन्जिनियरिङको कुरा गरौँ । महान जिम्बाब्वेका ध्वनिक गुणहरूले आधुनिक इन्जिनियरिङलाई उछिनेका थिए । न्युबियनका पिरामिडहरू इजिप्टियन पिरामिडभन्दा पुराना र समकक्षी थिए । लालिबेलाका चट्टान चर्चहरू ज्वालामुखी चट्टानको एकल टुक्रामा कुदिएका थिए, जसको निर्माण रहस्य आजको विज्ञान प्रविधिले पनि भेउ पाएको छैन । ‘के यी सबै इतिहासका गौरवमय कृतिहरू मानव सभ्यता विकास र आधुनिक विश्व इतिहासमा समेटिनु आवश्यक छैन, मूल प्रश्न यो हो ।’
अब धातु विज्ञानको कुरा गरौँ । तान्जानियाका हाया समुदायले आजभन्दा २ हजार वर्ष पहिले नै ब्लास्ट फर्नेसमा कार्बन स्टिलको उत्पादन गरेका थिए, जुन उत्पादन युरोपको औद्योगिक क्रान्तिभन्दा १९ सय वर्ष अगाडिको थियो । अहिले पनि बेनिनका कास्यहरू परिष्कृत छन्, जुन उत्पादन युरोपियनले पहिलो पटक देख्दा अफ्रिकामा यस्तो उत्पादन भइरहेको भन्ने कुरा विश्वास गर्न धौधौ प¥यो । कृषिमा अफ्रिकाले गरेको विकास अझ रोचक छ । बाजरा (कोदो), ब्यार, अफ्रिकी चामल, तरुल, कालो केराउ, तरबुजा, भिन्डीजस्ता उत्पादनले धेरै शहरको खाद्यान्न थियो । सहेलको जटिल सिँचाइ प्रणाली विकास पनि अद्भुत थियो । युरोप अन्धकारको युगमा रुमलिइरहँदा अफ्रिकीहरूले कृषिक्रान्ति गरिसकेका थिए ।
‘उबुन्टु के हो? यो दर्शनशास्त्रीलाई सोध्ने प्रश्न हो । ‘म हुँ किनकि हामी हौँ’ भन्ने दार्शनिक अवधारणा उबुन्टुको हो ।’ अफ्रिकी दर्शनशास्त्रलाई युरोपेलीले पुनव्र्याख्या र आफ्नो नाममा विकास गरी न्याय, सामूहिक जिम्मेवारी र मानवीय मर्यादाका आधारमा विभिन्न अवधारणाहरूको विकास गरियो । धेरैपछि यसैलाई आफ्नो सिद्धान्त बनाएर युरोपियन दार्शनिकहरूले व्यक्तिगत अधिकार र नियन्त्रणमाथि ध्यान केन्द्रित बनाएर अवधारणा दिए र त्यहीअनुकूल कानुन बनाइए ।
अफ्रिकी दुन समुदायका मानिसहरूको खोजी खगोलीय गणनाको बारेमा म बताउन सक्छु, जुन धेरै समयपछि युरोपियनले बनाएको टेलिस्कोपले पत्ता लगाउनुअघि नै धेरै कुरा पत्ता लागिसकेको थियो । मन्डले भन्दा शताब्दीऔँ अगाडि अफ्रिकी कलामा जटिल फ्र्याक्टल ज्यामितिको वर्णन थियो । अफ्रिकी सङ्गीतको आह्वान र प्रतिक्रिया परम्पराहरू युरोपियन ज्याज, ब्लुज, रक र लगभग सबै प्रकारका लोकप्रिय संगीतका जग हुन् ।
‘महोदय प्रोफेसर,’ ट्राउरेले सम्बोधन गर्दै चर्को स्वरमा भन्न थाले, ‘जब टिम्बक्टुको पुस्तकालय चरम उत्कर्षमा थियो, त्यसबेलासम्म युरोपमा कुनै विश्वविद्यालयमा धेरै पुस्तक थिएनन्, तर पनि तिम्रा पुर्खाहरूले नै हामीलाई निरक्षर भने । जब हाम्रा पुर्खाहरूले खगोलविद्हरूले ताराहरुको चाल ट्र्याक गरिरहेका थिए, युरोपियन तिम्रा पुर्खाले हामीलाई अन्धविश्वासी भनिदिए । जब हाम्रा पुर्खाले उपचार पद्धति र जटिल शल्यक्रिया गरिरहेका थिए, तिम्रा पुर्खाले हामीलाई बोक्सी वा रूढिवादीको आरोप लगाए ।’ ट्राउरेले एक अर्को पत्र आफ्नो झोलाबाट निकालेर देखाउँदै भने, ‘लौ हेर्नुहोस्, स्वयम् युरोपियनहरूको शिक्षाका लागि आर्थिक सहयोग गर्ने छात्रवृत्तिका संस्थापक सेसिल रोड्सको पत्र हो, यसमा स्पष्ट लेखिएको छः उपनिवेशीकरणलाई औचित्य दिन अफ्रिकी इतिहास मेट्न र अफ्रिकी समाजलाई दबाउन आवश्यक हुन्छ किनकि हामीभन्दा अफ्रिका हरेक तहमा निकै बलियो छ, उसको इतिहास धेरै लामो र विशाल छ ।’
यी सबै प्रमाणले जे भने पनि, अफ्रिकाले सभ्यता निर्माणमा खेलेको भूमिका वा योगदान गर्यो वा गरेन भन्ने प्रश्नको उत्तर मात्र होइन, यो त युरोपियन प्रतिष्ठित विश्वविद्यालय र तिनका उत्पादन विद्वान प्रोफेसर, अनुसन्धानकर्ता र शिक्षित वर्गले समेत युरोपबाहिरको संसारबारे बुझ्दैनन्, जान्दैनन् र चासो दिँदैनन् भन्ने महत्त्वपूर्ण सवाल हो ।
‘महोदय प्रोफेसर डा. इलियट हेरिडटन, तपाईंको अनभिज्ञता संयोग होइन, यो त योजनाबद्ध कुटिल चाल हो जसले युरोपियन आफूलाई महान बनाउने र बाँकी विश्वलाई असभ्य ठान्ने योजनाबद्ध प्रवृत्ति हो । यही योजनामुताबिक प्रोफेसर हेरिडटनजस्ता विद्वानहरूको व्यवस्थित र योजनाबद्ध प्रयासले आज संसारका हरेक विश्वविद्यालयमा युरोपियन इतिहास महान भन्दै पढाइँदै, सिकाइँदै आएको छ ।
फलस्वरूप तपाईं प्रोफेसरले पनि यिनै विश्वविद्यालयहरूमा ४७ वर्षदेखि झूठ र भ्रामक तथ्यलाई सत्य बनाउने प्रयास गरिरहनुभएको छ । अब लाज लाग्नुपर्ने हुन्छ किनकि बाँकी विश्वलाई युरोपले गरेको डकैती र चोरी थाहा भइसकेको छ ।’ ट्राउरेले कडा शब्दमा यसो भनिरहँदा त्यो ५ सयभन्दा धेरै सहभागी जम्मा भएको सभाहल पिनड्रप साइलेन्स भएको थियो । कक्षाकोठामा गृहकार्य नगरेका वा बिगारेका विद्यार्थीलाई शिक्षकले झपारेपछि जस्तो अवस्थामा प्रोफेसर हेरिडटन भुइँतिर हेरेर मात्र बसिरहेका थिए । यसैबीच अफ्रिकी मूलका विद्यार्थी बसेको बेन्चकी एक युवतीले जोडले ताली ठोकिन्, साथमा अन्यले साथ दिए, हुँदाहुँदै ठूलो आँधीबेहरीको गडगडाहटझैं तालीले सभाहल गुञ्जमान भयो ।
यसैबीच अक्सफोर्ड विश्वविद्यालयकै अफ्रिकी अध्ययन विभागकी प्रमुख युरोपियन गोरे समुदायकी गोरी प्रोफेसर मेरी हिटफिल्ड उभिएर डायसमा गइन् र ‘कृपया १ मिनेट मलाई दिनुहोस्’ भन्दै माइक्रोफोन हातमा लिएर सम्बोधन थालिन् ।
‘श्रीमान् राष्ट्रपति ज्यू,’ उनको पहिलो सम्बोधनले धेरै उपस्थित जन आश्चर्यमा परे किनकि उनले पहिलो पटक ट्राउरेको पदसहित परिचय दिँदै थिइन् । ‘उहाँ हुनुहुन्छ, अफ्रिकी सबसहाराको बुर्किना फासो मुलुकका ३७ वर्षीय युवा राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राउरे ।’
उनले थप भन्दै गइन्, ‘यो अक्सफोर्ड विश्वविद्यालय संस्थाको सदस्यका नाताले तपाईं र अफ्रिकी जनतासँग म माफी माग्न चाहन्छु । आज तपाईंको शब्द र भनाइले हाम्रो पाठ्यक्रममा रहेको लज्जास्पद अन्धो ठाउँ र तथाकथित मपाइँत्व कहानीलाई उजागर गरिदिएको छ । तपाईंले उल्लेख गरेका विषयवस्तुहरूमा अफ्रिकी योगदानबारे पाठ्यक्रममा समावेश गर्न अक्सफोर्ड तुरुन्त कदम चाल्नेछ । हाम्रा इतिहासको परिमार्जनमा लाग्नेछ र हाम्रा आँखा खोलिदिनुभएकोमा फेरि पनि धन्यवाद ।’
छेउमै बसेका प्रोफेसर हेरिडटन र अन्य धेरै विद्वत् वर्गको वर्षौँवर्षको अध्ययन विद्वता १० मिनेटमा ध्वस्त भएको महसुस गरिएको थियो । उता विद्यार्थीको ताली बजिरहेको थियो । राष्ट्रपति ट्राउरेले फेरि माइक्रोफोन समाएर भन्न थाले । ‘म पनि धेरै धेरै क्षमाप्रार्थी छु किनकि म यहाँ हजुरहरूलाई माफी मगाउन आएको थिइनँ र पहिले सम्बोधन गर्ने विचारमा पनि थिइनँ । तर प्रोफेसरको केही असत्य कुरा सुनेर म केवल सत्य बोल्न र सत्यताको खोजी होस् भन्ने चाहनाले बोलेको हुँ ।
सत्य त्यो हो, यो विशाल मानव सभ्यता र लामो कालखण्डको विकास कुनै एक महादेश, जाति, जनजाति, समूह वा सम्प्रदायले गरेको होइन र कसै एकको सम्पत्ति पनि होइन । यो त मानव सभ्यताको विकासको प्रक्रिया अन्तर्गत अफ्रिकाबाट मानव उत्पत्ति सुरु भएसँगै आज आधुनिक मानव विकासको चरम उत्कर्षमा आएको हो । पहिलो अफ्रिकी हड्डीमा गरिएको गणितीय खोजदेखि हालका वैज्ञानिक खोजसम्मका परिणामको उपलब्धि हो । दुखको कुरा, शताब्दीऔँदेखि अफ्रिकालाई युरोपले आफ्नो उपनिवेशमा राख्यो र शोषण मात्र गर्यो । त्यहाँका ऐतिहासिक वस्तु र भौतिक–अभौतिक सम्पत्ति चोरियो वा डकैती गरियो । अन्ततः आफ्नो नाम गरियो, आफ्ना बनाइयो । हामीलाई भने गरिब बनाइयो, हामीलाई अशिक्षित बनाइयो र दास बनाएर बेचियो ।’
‘महोदय प्रोफेसर हेरिडटनजस्ता विद्वानले अफ्रिकी मानिस असभ्य, अशिक्षित र गरिब भन्दै अपूर्ण र अन्यायपूर्ण इतिहास पढाइरहे । उता त्यही अज्ञानता र पूर्वाग्रहको विकासले आएका सञ्चार संस्था (मिडिया) ले पनि अफ्रिका गरिबहरूको देश भन्दै आफ्नै प्रचार गर्दै बसे । बीबीसी, सीएनएन, अलजजिरा र लन्डन एक्सप्रेसजस्ता सञ्चार संस्थाले अफ्रिकाको धन, सामाजिक मूल्य–मान्यता र मानवीयता होइन, गरिबी, द्वन्द्व र क्रूरता मात्र देखाइरहे । किनकि पश्चिमा युरोपेलीहरूकै हातमा थिए यी सबै मिडियाहरु ।’
‘अब यस्तो हुने छैन किनकि अब बीबीसी, सीएनएन हेर्नु पर्दैन । हरेक अफ्रिकी युवाको हात–हातमा मोबाइल छ । हरेक आफ्नो समुदाय र राष्ट्रको लागि सूचना सम्वाहक सेना बन्न सक्छन् भने कसैको झूठ सुनिरहनु पर्दैन । पत्रकार, सम्पादक वा प्रकाशक स्वयम् हुन सक्छन् भने हिजोको शोषक अत्याचारी प्रवृत्तिको मुकाबिला गर्न सक्छन् । अबको विश्व यिनै प्रगतिशील युवाको काँधमा छ र हुनुपर्छ ।’
अन्त्यमा, बढी गम्भीर र शान्त स्वभावमा ट्राउरेले भने, ‘मेरा भनाइका पानाहरू, मसँग अहिले भएको कागजात र तथ्यपूर्ण पुष्टिका दस्तावेज यहाँ तपाईंहरूको डिपार्टमेन्टको जिम्मामा वा विश्वविद्यालयको लागि राखिदिएको छु । मलाई आशा छ, तपाईंहरूले त्यसलाई पढ्नुहुनेछ र बुझेर बढी अध्ययन अनुसन्धान गर्नुहुनेछ । सत्य तथ्य पत्ता लगाई आउँदो विश्वलाई यथार्थता भन्नुहुनेछ । तपाईं सबैले मेरो कुरा सुनिदिनुभएकोमा धेरै धेरै धन्यवाद ।’ भन्दै ट्राउरेले आफ्नो मन्तव्य अन्त्य गरेर आफ्नो कुर्सीतिर फर्किए ।
यी सबै भनाइ धेरै युवाले आफ्नो मोबाइलमा खिचिरहेका थिए । भिडियो सामाजिक सञ्जालमा अपलोड भयो, क्षणभरमा विश्वभर फैलियो र निकै भाइरल बन्यो । सारा संसार स्तब्ध बन्यो, युवा राष्ट्रपतिको भनाइमा रहेका खाँटी तथ्य सत्य कुराले मानिसहरूमा अफ्रिका र अफ्रिकी समुदायलाई हेर्ने नजर नै फरक बन्यो । धेरै सञ्चार संस्थामा लामो खबरसहित समाचारका शीर्षक बने, ‘एक अफ्रिकी युवा नेताले युरोपको गौरवमय इतिहास १० मिनेटमा नष्ट गरे ।’
‘(नोट – यो लेख अफ्रिकाको बुर्किना फासो देशका युवा राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राउरे बारेमा सामाजिक सञ्जालमा आएको जानकारीबाट उतारिएको हो । यो धेरै सत्य र मर्मस्पर्शी भएकाले केही सम्पादनसहित राख्ने प्रयास गरिएको छ । बुर्किना फासो सन् १८८३ देखि फ्रान्सको उपनिवेशमा रहेर गरिबी र पछौटेपनले पछि परेको भूपरिवेष्टित मुलुक हो । सन् २०२२ देखि शासन सत्तामा आएका क्याप्टेन ट्राउरेको नेतृत्वमा हाल देशको प्रगति, विकास र उपनिवेशकर्ता पश्चिमा देशहरूलाई चुनौती दिने निकै महान कार्यहरू भइरहेका छन् । त्यसैले यी युवा राष्ट्रपति हाल विश्वको चर्चाका नेता बनिरहेका छन् ।)’









‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया