नागरिक असन्तुष्टि सर्वेक्षण गण्डकी २०८२
अधिकांश नागरिक सरकारको कामदेखि निराश, राजनीति गलत दिशामा गएको निष्कर्ष

पोखरा ।
गण्डकी प्रदेशका नागरिकहरू राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र देशको समग्र अवस्थाप्रति गहिरो रूपमा निराश र असन्तुष्ट रहेको एक बृहत सर्वेक्षणले देखाएको छ । ‘पूरक एसिया’ नामक अनुसन्धान संस्थाले सार्वजनिक गरेको नागरिक असन्तुष्टि सर्वेक्षण गण्डकी २०८२’ प्रतिवेदन अनुसार, प्रदेशका १० मध्ये ९ जनाभन्दा बढी नागरिक (९१ प्रतिशत) अहिलेको सरकारको कामबाट सन्तुष्ट छैनन् भने ८५ प्रतिशतले देशको राजनीति नै गलत दिशामा गइरहेको अभिमत व्यक्त गरेका छन् ।
यो सर्वेक्षणले गण्डकी प्रदेशको जनमतको ऐनाको रूपमा काम गरेको छ, जसले नागरिक निराशाको गहिराइ र त्यसका पछाडिका जड कारणहरूलाई तथ्यांकसहित उजागर गरेको छ ।
‘पूरक एसिया’ले यो सर्वेक्षण सन् २०२४ को अन्त्यदेखि २०२५ को सुरुवात (२७ डिसेम्बरदेखि २४ जनवरी) सम्म सञ्चालन गरेको थियो । अनुसन्धानका लागि गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेक ९ जिल्लाका १८ वटा पालिकालाई छनोट गरिएको थियो । यसमा पोखरा महानगरपालिकादेखि विभिन्न नगरपालिका र गाउँपालिकाहरू समावेश थिए ।
वैज्ञानिक एवं विश्वसनीय नतिजाका लागि अनुसन्धानकर्ताहरूले ‘¥यान्डम स्याम्पलिङ’ अन्तर्गत बहु–चरणको छनोट विधि अपनाएका थिए । यस विधिअनुसार, पालिका, वडा र घरपरिवारसम्मलाई विभिन्न चरणमा वैज्ञानिक तवरले छनोट गरी कुल १०६७ उत्तरदातासँग प्रत्यक्ष अन्तर्वार्ता लिइएको थियो । ९५ प्रतिशत विश्वासको स्तर र ३ प्रतिशत त्रुटिको सम्भावनासहित गरिएको यो सर्वेक्षणलाई यस क्षेत्रमा गरिएको एक आधिकारिक र गहन अध्ययन मानिएको छ ।
- सरकारको कार्यप्रति ९१ प्रतिशत नागरिक असन्तुष्ट
- राजनीति गलत दिशामा गइरहेको ८५ प्रतिशतको विश्वास
- सीप अनुसारको रोजगारी नभएको ७७.७ प्रतिक्रिया
- उद्यमशीलताका लागि सरकारी व्यवहार असयोगी
- युवाको विदेश पलायनप्रति ८८ प्रतिशत नागरिक चिन्तित
- विचौलियबिना सरकारी सेवा लिन झन्झट
- राजनीतिक नेतृत्वबाट भ्रष्टाचार संरक्षण
- नियुक्ति र ठेक्कापट्टा नातावाद–कृपावाद
- राजनीतिक नेतृत्वप्रति विश्वासको गिरावट
असन्तुष्टिका प्रमुख कारणः अवसरविहीनता, भ्रष्टाचार र नेतृत्व संकट
सर्वेक्षणले नागरिक असन्तुष्टिका पछाडि मुख्यतः तीनवटा कारणलाई जिम्मेवार ठह¥याएको छ, जसले राज्य सञ्चालनका हरेक तहमा समस्या रहेको संकेत गर्छ ।
प्रदेशको भविष्य मानिने युवापुस्तामा व्याप्त निराशाको प्रमुख कारण आर्थिक अवसरको कमी हो । सर्वेक्षणमा सहभागीमध्ये ७७.७ प्रतिशतले आफ्नो सीप, ज्ञान र क्षमताअनुसारको रोजगारी देशमा नभएको तितो यथार्थ पोखेका छन् । त्यस्तै, करिब ७० प्रतिशत उत्तरदाताले उद्यमी बन्नका लागि वातावरण नै सहयोगी नभएको बताएका छन् । युवाहरूको विदेश पलायनप्रति ८८ प्रतिशत नागरिकले गहिरो चिन्ता र असन्तुष्टि जनाउनुले यो समस्याले सामाजिक–आर्थिक संरचनामा पारेको दूरगामी असरलाई स्पष्ट पार्छ ।
भ्रष्टाचार र नातावाद–कृपावादले नागरिकलाई सबैभन्दा बढी निराश र आक्रोशित बनाएको सर्वेक्षणको निष्कर्ष छ । सर्वेक्षणमा ८२ प्रतिशत नागरिकले सरकारी कार्यालयमा बिचौलियाको सहयोगविना सेवा लिनै गाह्रो हुने अनुभव सुनाए । ९० प्रतिशतभन्दा बढीको बुझाइमा राजनीतिक नेतृत्वले नै भ्रष्टाचारीलाई संरक्षण दिने र शक्तिमा हुँदा आफ्ना निकटलाई मात्र जोगाउने काम गर्छ । सरकारी नियुक्ति प्रक्रियामा ८६.५ प्रतिशत र ठेक्कापट्टामा ७६ प्रतिशतले नातावाद–कृपावाद हावी भएको महसुस गर्नुले सुशासनको अवस्था कति कमजोर छ भन्ने देखाउँछ ।
राजनीतिक दल र तिनका नेतृत्वप्रति नागरिकको विश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको छ । ८२.६ प्रतिशतले राजनीतिक नेतृत्वप्रतिको आफ्नो भरोसा पूर्ण रूपमा घटेको बताएका छन् । लोकतन्त्रका आधारस्तम्भ मानिने राजनीतिक दल, संघीय सरकार, प्रदेश सरकार र संसद् जस्ता संस्थाहरूको कामप्रति नागरिक सन्तुष्टि २०–२५ प्रतिशतको साँघुरो दायरामा खुम्चिनुले व्यवस्थाप्रति नै विश्वासको गहिरो संकट उत्पन्न भएको संकेत गर्छ ।
असन्तुष्टिको अभिव्यक्तिः विद्रोह होइन, विकल्पको शान्तिपूर्ण खोजी
यति धेरै असन्तुष्टि र निराशाका बीच, गण्डकीका नागरिकहरूले देखाएको परिपक्वता भने सर्वेक्षणको सबैभन्दा उल्लेखनीय पक्ष हो । उनीहरूको आक्रोश र निराशा प्रणालीप्रति भन्दा पनि त्यसलाई सञ्चालन गर्ने पात्र र उनीहरूको गलत प्रवृित्तप्रति केन्द्रित छ ।
नागरिकहरू आफ्नो असन्तुष्टि व्यक्त गर्न सडकमा उत्रिएर विद्रोह गर्ने (१९.५ प्रतिशत) वा निराश भएर देश नै छाड्ने (१९.९ प्रतिशत) जस्ता चरम विकल्पभन्दा निर्वाचनमार्फत मत परिवर्तन गरेर शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाटै जवाफ दिनुपर्छ (५३.५ प्रतिशित) भन्ने पक्षमा छन् । यसले उनीहरूमा लोकतान्त्रिक अभ्यासबाटै परिवर्तन सम्भव छ भन्ने बलियो विश्वास रहेको देखाउँछ ।
पुराना दलहरूले गर्न नसकेका काम नयाँले गर्न सक्छन् भन्नेमा ५६.६ प्रतिशत नागरिक विश्वस्त देखिन्छन् । तर, त्योभन्दा पनि बढी, करिब ७३ प्रतिशत नागरिकलाई कुनै नयाँ वा पुरानो दलभन्दा पनि कोही ’नयाँ व्यक्ति’ नेतृत्वमा आए देशले काँचुली फेर्छ भन्ने गहिरो आशा छ । यसले नागरिकको खोजी दलभन्दा पनि सक्षम, इमानदार र परिणाममुखी नेतृत्वतर्फ मोडिएको प्रष्ट हुन्छ ।
यो सर्वेक्षण गण्डकी प्रदेशको मौन तर असन्तुष्ट जनमतको एउटा शक्तिशाली आवाज हो । यसले राजनीतिक दल र सरकारलाई स्पष्ट सन्देश दिएको छः सुशासन, आर्थिक अवसर र जवाफदेहितामा तत्काल ठोस सुधार नगरे नागरिकले आगामी चुनावमा कठोर निर्णय लिनेछन् । नागरिकको धैर्यको बाँध टुट्नै लागे पनि उनीहरूले समाधानको बाटो लोकतान्त्रिक प्रक्रियाभित्रै खोज्नुले आशाको दियो निभ्न दिएको छैन । तर, यो आशालाई निराशामा बदलिन नदिन अबको सम्पूर्ण जिम्मेवारी राजनीतिक नेतृत्वकै काँधमा आइपुगेको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया