गण्डकी प्रदेश पुरुष टि २० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरको विजयी सुरूवात

पोखरा ।
तेस्रो गण्डकी प्रदेश पुरुष टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समूह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले विजयी सुरूवात गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुर गोरखाविरुद्ध ९१ रनले विजयी भयो ।
जितसँगै दुबै टोलीले समूह बीमा २–२ अंक जोड्न सफल भएका छन् । खराब मौसमका कारण छोट्टाइएको १३ ओभरको खेलमा पर्वतले टस जितेर फिल्डिङ रोजेपछि कास्कीले पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा १ सय ८ रन बनायो । कास्कीका लागि सफल श्रेष्ठले आक्रामक प्रदर्शन गर्दै २२ बलमा ४ चौका र २ छक्कासहित ४० रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले १२ बलमा २३ रन जोडे ।
पर्वतका लागि अमृत गुरुङले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने रोशन गौतमले २ विकेट र राजु थापाले १ विकेट लिए । १ सय ९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको पर्वतले निर्धारित १३ ओभरमा ४ विकेटको क्षतिमा ८८ रनमात्र बनाउन सक्यो । रोशन गौतमले सर्वाधिक ३५ रन बनाए भने सन्देश खड्का र अभिषेक थापाले क्रमशः १२ र १० रनको योगदान दिए ।
कास्कीका सिब्रिन श्रेष्ठले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए भने कृष्ण पौडेल र सुभाष भण्डारीले समान १ विकेट झारे । प्लेयर अफ द म्याच कास्कीका सफल श्रेष्ठ घोषित भए ।
मंगलबार भएको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको गोरखाले निर्धारित २० ओभरमा नवलपुरलाई ८ विकेट क्षतिमा १ सय ४३ रनमा रोक्न सफल भयो तर जवाफी ब्याटिङमा आफैं १५.२ ओभरमै ५२ रनमै समेटिँदै ९१ रनले हार व्यहोरोको छ । नवलपुरको सुरुआत केही कमजोर रह्यो । सुरुवाती ३ विकेट चाँडै गुमाएपछि टोलीको इनिङ्सलाई रिजन काफ्लेले ३६ बलमा ३७ रन र अपराजित पौडेलले २३ बलको सामना गर्दै २६ रन बनाउँदै पारीलाई सम्हाले ।
सुदीप अर्यालले १० बलमा २१ रन बनाउँदै तीव्र पारी खेले । नवलपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । गोरखाका युनिश थापाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३ विकेट लिए भने स्वरुप राज श्रेष्ठ र मेहुल श्रेष्ठले समान २ विकेट लिए ।
तर गोरखाको ब्याटिङ सुरुदेखि नै कमजोर रह्यो । कप्तान गौरव पौडेल १६ रनमै आउट भए भने अरू कुनै ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । सम्पूर्ण टोली १५.२ ओभरमा ५२ रनमा समेटियो । नवलपुरका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । स्वीकार श्रेष्ठ र कमल परियारले समान ३ विकेट लिए भने अपराजित पौडेलले २ विकेट लिए । कमल म्यान अफ दि म्याच बने ।
बुधबार समूह बी अन्तर्गत लिगको खेलमा पर्वतले नवलपुरको सामना गर्ने छ भने गोरखाले कास्कीको सामना गर्ने छ । समूह ‘ए’बाट भने स्याङ्जा फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिता २ समूहमा विभाजनमा गरी सञ्चालन भएको छ । समूह ‘ए’मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’मा कास्की, नवलपुर, पर्वत र गोरखा छन् । प्रत्येक दिन २ खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख, उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई जनही २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया