पोखरा युनाइटेड एकेडेमीमा एसइई कप सुरु

समाधान संवाददाता २०८२ असार ४ गते १६:१३

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा एसइई कप २०८२ सुरु भएको छ ।
प्रतियोगिताअन्तर्गत फुटसल, बास्केटबल, भलिबल र क्विज हुनेछन् । जसमा भलिबलमा ४० छात्र र १० छात्रासहित ५० टिमको सहभागिता छ ।

यस्तै बास्केटवलमा ३४ छात्र र नौ छात्रासहित ४३ टिम तथा फुटसलमा ३२ टिमको सहभागिता रहेको विद्यालयका सहायक प्राचार्य गोविन्दप्रसाद चापागाईंले जानकारी दिए ।
क्वीजमा भने १२ टिमको सहभागिता छ । तीन वटै खेलका विजेता टिमले १२ हजार र उपविजेता टिमले आठ हजार रुपैयाँ नगद

पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
क्वीज विजेताले पाँच र उपविजेताले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने सहायक प्राचार्य चापागाईंले जानकारी दिए ।
एसइई परीक्षा २०८१ मा सहभागी विद्यार्थीमात्रै प्रतियोगितामा सहभागी हुन पाउनेछन् । सबै खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ ।

Advertisement

तीन दिनसम्मि चल्ने प्रतियोगिता उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले सोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।

प्राचार्य बयानबहादुर गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य विद्यालयको रहेको बताए ।
उद्घाटन कार्यक्रममा विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारी, विद्यार्थी संयोजक फणीन्द्रराज पौडेललगायतले बोलेका थिए भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

Advertisement

२०५० सालमा स्थापित विद्यालयमा हाल नौ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय ५० विद्यार्थी छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ ।
विद्यालयका अनुसार आगामी दिनमा मोबाइल, टिभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया