गण्डकी प्रदेश तेस्रो पुरुष टि २० क्रिकेट प्रतियोगितामा कास्की र पर्वतको जित

समाधान संवाददाता २०८२ असार ४ गते १८:४१

पोखरा ।

गण्डकी प्रदेश तेस्रो पुरुष टि २० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुर विरुद्ध सनसनीपूर्ण जित हात पारेको छ । पोखरा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो ।
अर्को खेलमा कास्कीले गोरखा विरुद्ध १० विकेटले जित हात पारेको छ । योसँगै समूह बीको समीकरण रोचक मोडमा पुगेको छ । कास्की २ खेलमा दुवै खेल नै जित्दै ४ अंकका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक÷एक खेल जित्दै समान २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।

बिहीबार हुने खेलले फाइनलमा पुग्ने टिमको टुंगोसमेत लाग्ने प्रतियोगिताका संयोजक ऋषिराम गौतमले जनाएका छन् । बिहीबार पहिलो खेल गोरखा र पर्वत तथा दोस्रो खेल कास्की र नवलपुरबीच हुनेछ ।

Advertisement

बुधबार भएको पहिलो खेलमा पर्वतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लियो । निर्धारित २० ओभरमा पर्वतले ९ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । टोलीका लागि अभिषेक थापाले ४० बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । अभिराज पटेलले २९ बलमा ३७ रन र विनोद नेपालीले १० बलमा १४ रनको योगदान दिए ।

नवलपुरका लागि कमल परियार र सुदीप अर्यालले समान २ विकेट लिए भने अपराजित पौडेल, दीपक डुम्रे, र स्वीकार श्रेष्ठले समान १ विकेट हात पारे । १ सय ३२ रनको लक्ष्य पछ्याउँदै ओर्लिएको नवलपुर १८.५ ओभरमा १ सय १६ रनमै समेटियो । गौरव विष्टले २५ रन, स्वीकार श्रेष्ठले १८ रन र विगत पाण्डेले १७ रन बनाए तापनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

Advertisement

पर्वतका कप्तान अमृत गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन दिँदै ३ विकेट लिए । राजु थापाले पनि ३.५ ओभरमा ४१ रन खर्चिएर ३ विकेट लिए भने विनोद नेपालीले २ विकेट हात पारे । उत्कृष्ट बलिङ र कप्तानी प्रदर्शनका लागि अमृत गुरुङलाई प्लेयर अफ द म्याच घोषित गरियो ।

दोस्रो खेलमा कास्कीले गोरखालाई एकतर्फी खेलमा १० विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ । टस जितेर गोरखाले पहिला ब्याटिङ गर्ने निर्णय लियो । टोलीले १९.५ ओभरमै सम्पूर्ण १० विकेट गुमाउँदै गोरखाले ९० रनमात्र बनाउन सक्यो । गोरखाका लागि स्वरुपराज श्रेष्ठले १४ बलमा २१ रन बनाए भने मेहुल श्रेष्ठले ४५ बलमा १८ रन जोडे ।
कास्कीका बलरबीच सन्तुलित प्रदर्शन गर्दै सुवास भण्डारीले ३.५ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए भने सिब्रिन श्रेष्ठले २ विकेट तथा कृष्ण पौडेल र अर्जुन केसीले समान १ विकेट हात पारे ।

१ रन प्रतिबल भन्दा कमको लक्ष्य पछ्याउँद्यै उत्रिएको कास्कीले गोरखाको बलिङलाई कमजोर सावि गर्दै ८.४ ओभरमै ९४ रन बनाउँदै कुनै विकेट नगुमाई जित हात पा¥यो । अनिल गुरुङले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाउँदै म्याच जिताए भने अर्का ओपनर अर्जुन कुमालले पनि २५ बलमा ३९ रन बनाए । अनिल तुफानी ब्याटिङ प्रदर्शन गर्दै खेलको ‘प्लेयर अफ द म्याच’ बने ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भएको प्रतियोगिता ८ जिल्लाको सहभागिता रहेको संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । विजेता टिमले नगद १ लाख, उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई जनही २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया