क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा भ्रष्टाचार विरोधी अभियान सुरु

समाधान संवाददाता २०८२ असार ५ गते २०:४४

पोखरा ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेको छ । पार्टीको ७ नम्बर क्षेत्रीय ब्युरोमा बिहीबार आयोजना गरेको कार्यक्रममा पोलिट ब्युरोको बैठकको निर्णय अनुसार अभियानको घोषणा गरिएको हो ।


पार्टीका वैकल्पिक पोलिटब्युरो सदस्य तथा क्षेत्री ब्युरोका सचिव नारायण अधिकारीले बढ्दो भ्रष्टाचारका कारण विकास, निर्माणको काम अगाडि बढ्न नसकेको बताए । उनले जताततै मौलाएको भ्रष्टाचारले विदेशी ऋणको भार वर्षेनी बढेको दाबी गरे । ‘देश भ्रष्टाचारले आक्रान्त छ । देशमा भ्रष्टाचार नभएको र नहुने कुनै निकाय छैन,’ उनले भने, ‘मन्त्रालय, प्रशासनिक तथा स्थानीय तह, अड्डा अदालत, प्रहरी प्रशासन, विकास निर्माणका काम जहाँ जाउँ त्यहाँ भ्रष्टाचार छ । घुसखोरी व्याप्त छ ।’


उनले घुस नदिँदासम्म जनताको सानोभन्दा सानो काम नभएको दाबी गरे । वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन प्रवद्र्धन गर्न नसकेको आरोप लगाए । अधिकारीले अभियानको सुरुवातमा भ्रष्टाचारीको नाम सार्वजनिक गर्ने जानकारी दिए । दोस्रो चरणमा चेतावनी दिने र तेश्रो चरणमा वैधानिक रुपमा कारवाही गर्ने उनले उल्लेख गरे ।

Advertisement


उनले पाटीले यसभन्दा अघि सञ्चालन गरेको जनसम्बन्ध विस्तार अभियानमा ४ लाख जनतासँग प्रत्यक्ष संवाद गरेको दाबी गरे । उनले वैज्ञानिक समाजवादी क्रान्ति पछिमात्र भ्रष्टाचारको समुल अन्त्य हुने तर्क गरे । पार्टीका केन्द्रीय सदस्य तथा ७ नम्बर क्षेत्रीय ब्युरोका सचिवालय सदस्य आकाश गौतमले नेपालमा भ्रष्टाचार संस्थागत रुपमा बढेको बताए ।


सत्ता पक्ष र प्रतिपक्षमा रहेका पार्टी समेत संस्थागत भ्रष्टाचारको पक्षमा रहेकोले आम जनता भ्रष्टाचारीका बिरुद्धमा संघर्ष नगरेसम्म न्यूनीकरण सम्भव नभएको उनले उल्लेख गरे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका सेक्रेटरी विक्रम थापाले पार्टीले देश र जनताको लागि आवश्यक ठानेर भ्रष्टाचार बिरुद्धको अभियान सञ्चालन गरेको बताए । पार्टीका केन्द्रीय सदस्य बाबुराम सुवेदीले देशमा न्याय मरेको र भ्रष्टाचार एर्व अन्याय मौलाएको दाबी गरे ।

Advertisement

तपाईको प्रतिक्रिया