बजेटमा प्रतिपक्षले गर्‍यो कार्यान्वयन र पारदर्शितामाथि प्रश्न

समाधान संवाददाता २०८२ असार ५ गते २०:५३

पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि शुक्रबार प्रदेशसभा बैठकमा प्रतिपक्षी सांसदहरूले तीव्र आलोचना गरेका छन् । उनीहरूले बजेट व्यवहारिक नभएको, जनताको प्राथमिकता नसमेटिएको र कार्यान्वयन क्षमता कमजोर भएको आरोप लगाएका छन् । छलफलमा उठेका प्रश्नहरूलाई अर्थमन्त्री डा. टकराज गुरुङले सदनमै जवाफ दिएका थिए ।

Advertisement

माओवादी सांसद रेशमबहादुर जुग्जालीले आन्तरिक राजस्व संकलनमा कमजोरी रहेको औंल्याए । उनले अघिल्लो वर्ष ५ अर्ब राजस्वको अनुमान गरिए पनि जम्मा ३ अर्ब मात्र संकलन भएको तथ्य प्रस्तुत गर्दै, ‘यो वर्ष पनि तीन अर्बमाथि जान सक्ने अवस्था छैन,’ उनले भने । उनले पुँजीगत खर्चको अवस्था दयनीय रहेको, प्रदेशले कानुन बनाउन नसकेको र १०० प्रतिशत पुँजीगत खर्च गर्न खोज्दा चेक नै बाउन्स हुने अवस्था आउने चेतावनी दिए ।

राप्रपाका सांसद पञ्चराम गुरुङले बजेटले पूर्वाधार, शिक्षा र स्वास्थ्यमा जोड दिए । उनले प्राविधिक शिक्षालाई प्राथमिकता नदिएको बताए । पोखराको खानेपानी, पार्किङ समस्या र पर्यटन क्षेत्रजस्तो ग्लास ब्रिज तथा सेल्फी ब्रिजको अभावको पनि आलोचना गरे । गण्डकीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा समस्या देखिएको भन्दै उनले प्रदेश सरकारले त्यसप्रति ध्यान नदिएको आरोप लगाए ।

Advertisement

गुरुङले मल, बीउ, पानी र बाँदर आतंकका कारण कृषकहरू समस्यामा परेका बेला बजेटले यस्ता विषयमा सम्बोधन नगरेको उल्लेख गरे । उनले राजस्व संकलन गर्ने निकायहरू स्पष्ट नहुँदा र कच्चा पदार्थ उत्पादनमा क्षेत्रीय योजना नबन्दा प्रदेश आत्मनिर्भर हुन नसक्ने धारणा राखे ।

माओवादी सांसद सुशिला सिम्खडाले बजेट सिफारिस, पहुँच र भागबण्डाका आधारमा आएको आरोप लगाइन् । उनले सहिदको अपमान भएको सत्ता गठबन्धनका कारण प्रतिपक्ष मौन रहेको र बजेट जनमुखी नभएको बताइन् । ‘यो बजेट जनताका करबाट बनेको हो, तर जनताकै हितमा छैन,’ उनले भनिन् ।

Advertisement

सिम्खडाले कुल बजेटको ७० प्रतिशत संघीय अनुदानमा आधारित रहेको उल्लेख गर्दै आत्मनिर्भरता भन्ने नारामात्र भएको बताइन् । उनले भूगोलअनुसार बजेट नआएको, योजना बैंक अझै लागू नभएको र नेताहरूको इच्छाअनुसार बजेट बन्ने परिपाटी कायम रहेको टिप्पणी गरिन् ।

सांसदहरूको आलोचनापछि अर्थमन्त्री डा. टकराज गुरुङले उठेका प्रश्नहरूको जवाफ दिएका छन् । उनले बजेट कार्यान्वयन र स्रोत परिचालनका पक्षहरूमा सुधार ल्याउने आश्वासन दिएका छन् ।

गण्डकी प्रदेशको बजेट सत्तापक्षीय सांसदबाट स्वागत
बजेटमाथि सत्तापक्षीय सांसदहरूले समर्थन जनाउँदै बजेट विकासोन्मुख, पूर्वाधार केन्द्रित र आत्मनिर्भरता उन्मुख भएको बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा बजेटमाथि छलफलका क्रममा उनीहरूले विभिन्न पक्षमा बजेटले ठोस पहल गरेको भन्दै सकारात्मक टिप्पणी गरेका हुन् । नेपाली कांग्रेस सांसद अशोककुमार श्रेष्ठले यस वर्षको बजेट सरकारको नीति तथा कार्यक्रमसँग मेल खाने देखिएको भन्दै मन्त्रीलाई धन्यवाद व्यक्त गरे । उनले अघिल्ला वर्षमा नीति तथा कार्यक्रम र बजेटबीच समन्वय नदेखिएको भए पनि यसपटक सुसंगत रूपमा बजेट आएको उल्लेख गरे । श्रेष्ठले पोखरा मुस्ताङ र तनहुँका पर्यटकीय गन्तव्यमा बजेट विनियोजन, ‘लेक टू लेक’ साइकलिङ मार्ग र ‘कोसेलीघर’ अभियानलाई सकारात्मक कदमका रूपमा व्याख्या गरे । उनले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रयासप्रति प्रशंसा गर्दै बान्दीपुरमा चिनियाँ सामग्रीलाई उपहार दिइएको घटनालाई आलोचना गरे ।

सिताकुमारी सुन्दासले बजेटमा समेटिएको तथ्यांक प्रणाली सुदृढीकरण, आयोजना बैंकको प्रभावकारिता र समन्वय संयन्त्र व्यवस्थित बनाउने विषयलाई सकारात्मक बताइन् । उनले योजना प्राथमिकिकरणमा स्पष्ट मापदण्ड तय गर्नुपर्ने धारणा राख्दै पालिकाबाट आउने मनोरञ्जन कर समयमै पठाउनेलाई प्रोत्साहन दिने नीति उचित भएको उल्लेख गरिन् ।

बिकल शेरचनले साना किसानलाई लक्षित गरी ‘इन्भेष्ट गण्डकी’ कार्यक्रममार्फत लगानी भित्र्याउने प्रयास सराहनीय रहेको बताए । उनले सहरी क्षेत्रमा चाप व्यवस्थापन र जनशक्ति परिचालनमा बजेट प्रभावकारी देखिएको उल्लेख गर्दै कोरिडोर निर्माणले सम्भावनाहरू थप बलियो बनाएको धारणा राखे ।

सांसद भक्तबहादुर कुँवरले संघीय सरकारले साझेदारी अधिकारको सम्बन्धमा ऐन नबनाएका कारण प्रदेशको अधिकार सीमित रहेको बताए । उनले आठ वर्षको अवधिमा विकासले फड्को मारेको बताउँदै, आफ्नो निर्वाचन क्षेत्रमा मात्रै ७८ किलोमिटर सडक कालोपत्र भएको उदाहरण दिए । रेखा गुरुङले बजेट समृद्धिको आधार भएको बताउँदै स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्रमा समेटिएको योजनाको प्रशंसा गरिन् । राजकुमारी भुजेलले पर्यटक सूचना केन्द्र शैक्षिक कार्यक्रम र अस्पतालमा एम्बुलेन्स खरिद जस्ता विषयलाई सकारात्मक बताइन् ।

भोजराज अर्यालले बजेटमा समेटिएका योजनाहरू सकारात्मक भए पनि परिणाममूखी कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिए । उनले मुख्यमन्त्रीद्वारा घोषणा गरिएका कार्यक्रम कार्यान्वयनमा नपुगेको भन्दै योजना प्राथमिकिकरण र हस्तान्तरण प्रक्रियामा स्पष्टता ल्याउनुपर्ने बताए ।

सांसद श्यामराजा महतले बजेट राम्रो भए पनि कार्यान्वयनको पक्ष कमजोर भएको उल्लेख गरे । कार्यान्वयन प्रक्रियामा व्यावहारिक ज्ञानको खाँचो भएको बताए । जितबहादुर शेरचनले गण्डकी प्रदेशमा सामाजिक सुरक्षा र भौतिक पूर्वाधारका क्षेत्रमा धेरै काम भएको दाबी गरे । उनले पर्यटक राजधानी, पदमार्ग र सेल्फी ब्रिजको जस्ता परियोजनाको उल्लेख गर्दै बजेट व्यावहारिक रहेको बताए ।

सांसद गणेशमान गुरुङले गण्डकी प्रदेशलाई औद्योगिक उत्पादनतर्फ अग्रसर गराउनुपर्नेमा जोड दिए । उनले म्यानुफ्याक्चरिङको विकासका लागि घरेलु मदिराको व्यवस्थापन कच्चा पदार्थको उपलब्धता र स्थानीय उत्पादनको प्रवद्र्धन आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया