असार पन्ध्रः सांस्कृतिक पर्व

नेपाल कृषिप्रधान देश हो । नेपालीहरुको मुख्य पेशा कृषि हो । तर राज्यले कृषि पेशालाई त्यति व्यवसायीकरण गर्न सकेको अवस्था भने देखिँदैन । किंवदन्तीअनुसार कपिलवस्तु जिल्लाको ऐतिहासिक स्थान तिलौराकोट राज्यमा राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएका थिए रे । सोही समयदेखि धान रोप्ने चलन चलेको हो भन्ने पाइन्छ ।
नेपालमा परम्पराकालदेखि नै असार १५ लाई रोपाइँ पर्वको रूपमा मनाउँदै आएका छन् । पछि आएर यसलाई ‘अन्तर्राष्ट्रिय धान दिवस’ वा रोपाइँ दिवस पनि भन्न थालियो । कृषकहरूको सम्मान गर्ने उद्देश्यले कृषि मन्त्रालयले असार १५ गतेलाई ‘अन्तर्राष्ट्रिय धान दिवस’ को रूपमा मनाउँदै आएको छ । तसर्थ, वर्तमान अवस्थामा असार १५ सांस्कृतिक पर्वको रूपमा विकास हुँदै आइरहेको छ ।
किसानहरूले यस दिनलाई धान रोप्ने मौसमको सुरुवातको रूपमा मनाइने वार्षिक पर्वको रूपमा मनाउँछन् । असार १५ मा एकपटक हिलो टेक्नु र हिलोमा खेल्नु पर्दछ भन्ने मान्यता रही आएको छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन हो र यस दिनपछि क्रमशः दिन छोटो र रात लामो हुँदै जान्छ । परापूर्वकालदेखि नै यस दिन हली, बाउसे र खेतालीहरूले हिलोमा छुपु–छुपु धान रोप्दै असारे भाकामा रमाइलो गर्दै गाउने गीत अझै पनि प्रचलित छन् ।
छुपुमा छुपु हिलोमा धान रोपेर छाडौँला,
असारे गीत हली र बाउसे मजाले गाउँला ।
असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा, छ बीस ऋण लाग्यो ।
किसानहरूले यस दिन खेतमा धानको बिरुवा रोप्छन् र राम्रो फसलको कामना समेत गर्छन् । आजभन्दा करिब (४०–५०) वर्ष पहिला नेपालको ग्रामीण समाजमा खेती–किसानी गर्ने प्रचलन अहिलेकभन्दा केही पृथक् किसिमको थियो । जुन परम्परा, पद्धति र सामाजिक तथा सांस्कृतिक चालचलन हाम्रो उमेरसम्मकालले त प्रत्यक्ष रूपमा देख्न, भोग्न पनि पायौँ । खेतीपाती गर्नको लागि प्रत्येक घरमा एउटा गोरु पाल्नुपर्ने अनिवार्य नै थियो । धेरै जग्गाजमिन हुनेहरूले त हलगोरु (दुईवटा) पनि पाल्थे । वर्षभरि खेती गर्नका लागि गाउँमा दुई घरबीच परेली लगाउने चलन थियो । गोरु पाल्न नसक्ने वा थोरै जग्गाजमिन हुनेहरूले दुई घरबीचको परेलीमा आफू खेताली वा बाउसे लगाएर आफ्नो खेती गर्ने चलन थियो ।
खेती गर्ने विधि, पद्धति र तरिकाअन्तर्गत दुई घरबीचको परेली चलनमा, एक हल गोरुपछि १ जना हली, २ जना बाउसे र ३ जना खेताली गरी जम्मा ६ जना हलपछि काम गर्न जाने चलन थियो । यस किसिमको परेली चलनमा वर्षभरि जोत्नुपर्ने दिनको आधारमा हलीलाई दुई घरले (परेली) मिलेर वर्षमा ५ देखि ७ मुरी धान मजुरीबापत भर्ने चलन थियो । मजुरी नयाँ धान पाकेपछि मंसिर वा पौष महिनामा दिने गरिन्थ्यो । हली लगाउने मान्छे प्रायः गाउँ–घरका गरिब र पिछडिएको समुदायका हुन्थे । हलीले आफू जोत्ने घरको साहूलाई बराजु भन्ने चलन थियो । खेतबारी जोतेको दिन बिहानको छाक खाना जोत्ने घरमा खाने र सोको ज्यालाबापत एक माना चामलमा थोरै नुन, खुर्सानी, अदुवा, बेसार, दुई–चार दाना आलु वा मस्यौरा थपेर दिने चलन थियो ।
यस्तो किसिमको ज्याला प्रायः (५–७) दिनको एकपटक एकैचोटी लिने गर्थे । हलीहरूले यसरी पाएको ज्यालाबापतको सामान खुशी हुँदै झोला वा पछ्यौरीमा पोको पारि लैजाने गर्थे । खेत जोत्नको लागि गाउँ–घरमा बनाएको काठको हलो, जुवा, जोतार (भैंसी, गाई–गोरुको छालाबाट बनाएको हल्लुडो) र हिलो सम्याउन मोहीकाठ (लिड्को) प्रयोग गर्थे । केही समयपछि काठे हलोको सट्टा आधुनिक फलामे हलोको प्रयोग गर्ने चलन आयो । काठे हलोले भन्दा फलामे हलोले धेरै जोत्न सकिने रहेछ । काठे हलोभन्दा फलामे हलो केही आधुनिक कृषि औजार मानिन्छ ।
दुई घरबीचको परेली चलनमा वर्षमा कम्तीमा २५ देखि ३५ दिनसम्म रोपाइँ गर्थे । पहिलापहिला गाउँ–घरमा भल छोपुवा खेत रोप्ने चलन पनि थियो । जुन जग्गामा पानीको स्रोत नभएको तर ठूलो पानी परेको समय अवसर छोपी आकाशे पानीको भरमा, भलवाडी प्रयोग गरी धान रोप्थे । यो चलन त आजभोलि पूर्ण रूपमै लोप भइसकेको छ । यसबाट पनि बुझ्न सकिन्छ कि त्यस समयमा जग्गाको महत्व र उपयोग कति रहेछ भन्ने ।
औसतमा प्रति व्यक्ति वार्षिक १३७ के.जी. चामल आवश्यक पर्छ । नपुगेको चामल भारतबाट आयात भएको छ ।
खेतको क्षेत्रफल मापन गर्दा कति हल गोरु लाग्छ? वा कति मुरी माटो हो? भन्ने चलन थियो । रोपाइँ सामान्यतया असार महिनाको पहिलो हप्तादेखि सुरु भई साउन महिनाको (१५–२०) गतेतिर मात्र सम्पन्न हुन्थ्यो । धान रोपाइँको सुरुको दिनलाई ‘टिके रोपाइँ’ भन्ने चलन थियो । टिके रोपाइँ प्रायः साइत जुराएर राम्रो दिन–बार पारि गर्ने चलन थियो । उक्त दिन खाजा मिठो–मसिनो खानुपर्दछ भन्ने मान्यताले सेलरोटी वा पुरी, पुवा बनाउने चलन थियो । अरु दिन भने सामान्यतया खट्टे, चिउरा, सुक्का रोटी, तरकारी, खिउनी, मकै आदि खाने गर्थे । खाजा खाने समयमा गोरुलाई पनि राम्रो घाँस–पानीको बन्दोबस्त गर्ने चलन थियो । गोरुलाई घाँस बिहान घरबाटै लैजाने चलन थियो ।
रोपाइँको पहिलो दिन “टिके रोपाइँ” को दिन खेतको धनीले रातो अक्षता बनाई सबैभन्दा पहिला गोरुको शिरमा ठूलो टीका लगाइदिने र सोही टीका हलीलाई लगाइ यो वर्षको मेलो राम्रो किसिमले सकोस् भनि हली, गोरुलाई आशीर्वाद दिने चलन थियो । सोही रातो टीका बाउसे र खेतालीहरूले पनि लगाउँथे । जुन संस्कृति–परम्परा अत्यन्त रमाइलो र रोचक देखिन्थ्यो ।
आजभोलि टिके रोपाइँको महत्व हराइसकेको छ । कोही–कसैले त हल पर्म लगाएर एकै दिन (५–७) हल गोरुको रोपाइँ एउटै खेतमा गर्ने चलन पनि थियो । त्यो दिनमा हली, बाउसे, खेताली गरी करिब (५०–५५) जना मान्छेहरू एउटै रोपाइँमा देख्दा अत्यन्त रमाइलो वातावरण सृजना हुन्थ्यो । यस्तो किसिमको रोपाइँ प्रायः धेरै खेत–जग्गा हुने धनी किसानहरूले मात्र गर्थे ।
दिउँसो घाम–पानीबाट जोगिनको लागि स्याखु, छत्री प्रयोग गर्थे । स्याखु, छत्री बाँस वा निगालोको चोयाले बुनि, कटुस्से पात वा प्लास्टिकको छापो प्रयोग गरी अत्यन्त कलात्मक किसिमले निर्माण गरिन्थ्यो । टिके रोपाइँको दिन हली, बाउसे, खेतालाहरूले सुरिलो भाखामा असारे गीत गाउँदै एकआपसमा हिलो छ्यापेर रमाइलो गर्ने परम्परा पनि थियो । हामी केटाकेटी अवस्थामा टिके रोपाइँको दिन बेलुका पाँच बजे तिर हल फुकाएपछि दिनभरि थकित भएका गोरु, हली, बाउसे निधारमा रातो अक्षता लगाएर साँझपख लाम लागी लस्कर लगाउँदै बेसीबाट घरतर्फ (गाउँ) फर्किएको दृश्य देख्दा अत्य धोखा लाग्थ्यो ।
ढाब खेतमा रोपाइँ हुँदाको दिन खेतमा भोटी, बाम र भित्ते माछाहरू पाइन्छ । बाम माछा पाउँदा त केके न ठूलै चीज पाइयो भन्ने ठान्थे । हली, बाउसेहरूले रोपाइँदा खेतमा भेटिएका माछा डोरीमा उनेर स्याखुमा झुण्ड्याएर हिन्थे । हली, बाउसेहरूले उक्त माछा बेलुका लागि सितन हो भनि हाँसो–ठट्टा पनि गर्थे । रोपाइँको दिन घरमा साना केटाकेटीहरूले बेलुका “बा” खेतबाट आउँदा माछा ल्याउनुहुन्छ र माछा पोलेर खाने हो भन्दै बस्थे । केटाकेटी उमेरमा ती माछा पोलेर खाँदा अत्यन्त स्वादिष्ट लाग्थ्यो । त्यो सम्झना अहिले पनि आउँछ ।
आजभोलि यस किसिमको परम्परा लोप भइसकेको छ । गोरु पाल्ने चलन हरायो । खेत जोत्नको लागि ट्र्याक्टर प्रयोग गर्न थाले । ट्याक्टर नजाने ठाउँका पाखाबारी वा टारी खेत जोत्नको लागि स–साना हाते ट्याक्टरको प्रयोग गर्न थालिएको छ । अधिकांश गाउँको पाखो तथा टारीखेत बाँझो भएको छ । गाउँका मानिसहरू शहरकेन्द्रित वा समतल फाँटखेतमा बसाइ सर्न थाले । जसको कारणले दोहोरो असर पर्न गयो । एकातिर गाउँको खेतीयोग्य जमिन बाँझो बन्दै गयो भने अर्कोतिर फाँटखेतमा घरहरू बन्दै गएर खेतीयोग्य जग्गा साँघुरिँदै गयो । जसको कारणले समग्र राष्ट्रिय उत्पादनमा दोहोरो असर पर्यो । समग्र राष्ट्रिय उत्पादन घटयो ।
वर्तमान तथ्यांकअनुसार नेपालमा वार्षिक ३.८१२ (मिलियन टन) धान उत्पादन हुन्छ भने करिब ४.०० (मिलियन टन) धान खपत हुन्छ । औसतमा प्रति व्यक्ति वार्षिक १३७ के.जी. चामल आवश्यक पर्छ । नपुगेको चामल भारतबाट आयात भएको छ । आजभोलि गोरुले खेत जोतेर खेती गरेको देख्न पनि रहर लाग्छ । गोरु पालेर खेती गर्नेको संख्या गाउँ–घरमा एक–दुईजना मात्र भेटिन्छन् । अहिलेको नयाँ पुस्तालाई गोरुले जोतेर खेती गरेको देख्दा नौलो लाग्छ ।
खेती गर्ने प्रविधि, औजाार, बीउ–बिजन र उपकरणमा केही आधुनिकीकरण हुँदै गए तापनि, कृषि पेशाप्रति मानिसको सोचाइ र व्यवसायीकरण भने अझै परम्परागत नै छ । प्रविधिको विकास हुनु राम्रो पक्ष हो तर प्रविधिको विकाससँगै उत्पादन बढ्यो–बढेन? कृषि पेशामा आधुनिकीकरण र व्यवसायीकरण भएको छ कि छैन? सोको मूल्यांकन गर्नुपर्छ । नेपालको भौगोलिक संरचनाअनुसार पहाडी क्षेत्रले ६८ प्रतिशत जमिन ओगटेको छ । तसर्थ, गाउँमा धेरै खेतीयोग्य जमिन छ । उक्त जमिनको सदुपयोग गर्न सकेमा मात्र वास्तवमा राष्ट्रिय उत्पादन बढ्छ र आफ्नो उत्पादनले आत्मनिर्भर बन्न सकिन्छ ।
नेपाल कृषिप्रधान देश भएकोले धान दिवसले यहाँको कृषि संस्कृतिको महत्त्वपूर्ण पक्षलाई उजागर गरेको छ । तथापि, नेपालमा धान रोपाइँ गर्ने चलन केवल परम्परागत रूपमा मात्र सीमित देखियो । कृषि पेशा व्यवसायीकरण हुन सकेको छैन । मुख्यतया, सरकारले नेपालमा धान खेतीयोग्य जमिन कति बाँझो छ? सो जग्गामा धान खेती गर्नको लागि किसानहरूलाई के कसरी प्रोत्साहित गर्न सकिन्छ? कृषिको लागि कसरी राम्रो पूर्वाधार तयार गर्ने? नेपालमा धान उत्पादनको क्षमता कति हो? हाल कति उत्पादन भइरहेको छ? भन्ने तथ्याङ्कको विश्लेषण हुनु अति आवश्यक छ ।
वार्षिक रुपमा धान कति परिमाणमा उत्पादन भएको छ? कति खपत हुन्छ? हाम्रो उत्पादनले आत्मनिर्भर बन्न सक्यौँ कि सकेनौँ? एक वर्षमा भारतबाट कति चामल आयात भएको छ? सोको समीक्षा गरी तदनुसार योजना बनाई कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता हो । तब मात्र धान दिवसको वास्तविक औचित्यता र महत्त्व रहन्छ । धूमधाम बाजागाजासहित धान दिवस मनाउने, धान दिवसको रूपमा भव्य सांस्कृतिक कार्यक्रमहरू गर्ने, मन्त्री र ठूला ओहोदाका मान्छेहरू आएर भाषण गर्ने, धान–बिरोको माला लगाएर हिलोमा खेलेको तस्बिर खिच्दैमा ‘राष्ट्रिय धान दिवस’ को वास्तविक औचित्यता हुन सक्दैन ।
हुन त! यस पर्वको पनि आफ्नै किसिमका मौलिक सामाजिक, सांस्कृतिक विशेषताहरू छन् । यसले समुदायलाई एकताबद्ध गरेको छ । कृषि भूमिको संरक्षण गरौँ, धानको उत्पादन बढाऔँ भन्ने नाराका साथ मनाउने यस दिवसले किसानहरूलाई केही रुपमा भए पनि प्रेरित गरेको छ र संस्कृतिको जगेर्ना गरेको छ । । यस दिन दही–चिउरा खाने परम्पराले । दही शरीरको लागि ऊर्जावद्र्धक र पवित्र, शुद्ध चीज मानिन्छ । लोकगीत, नाचगान र हिलोमा खेल्ने जस्ता गतिविधिले यस पर्वलाई सांस्कृतिक रुपमा अझ बढी महत्त्वपूर्ण र रौनक थपेको छ ।
यस दिन किसानहरूले आफ्नो खेतमा धान रोप्छन र राम्रो फसल भित्र्याउन पाइयोस् भनि कामना समेत गर्छन् । आजभोलि यो पर्व नेपालमा पर्यटकहरूमाझ पनि लोकप्रिय बन्दै गएको छ । । यस दिन विदेशी पर्यटकहरू पनि आएर हिलोमा खेल्ने, रमाउने गर्छन् । सायद उनीहरूलाई यस किसिमको नेपाली संस्कृति नौलो र रमाइलो लागेर होला, जसलाई संस्कृति प्रसारवाद भनिन्छ ।
तसर्थ, असार १५ लाई रोपाइँ महोत्सवको रूपमा मनाउने परम्परालाई कायम राख्नु आवश्यक छ । यसले संस्कृतिको जगेर्ना गरेको छ । तर कृषि पेशाप्रति जनताको आकर्षण कसरी बढाउने? खेतीयोग्य जमिनको पूर्ण रूपमा के कसरी सदुपयोग गर्न सकिन्छ? कृषि उत्पादन वृद्धि कसरी गर्ने र आफ्नो उत्पादनले के कसरी आत्मनिर्भर हुन सकिन्छ भन्ने महत्त्वपूर्ण पक्षमा राज्यको ध्यान जानु आवश्यक छ । आगामी दिनमा कृषि क्षेत्रको विकासका लागि राज्यले प्रभावकारी कार्यक्रमहरू ल्याउन सफल होस् । सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय धान दिवसको शुभकामना!









चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
सडक सञ्जालमा जोडिँदै गुर्जा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया