रूपा गाउँपालिकाको ४८ करोड ५५ लाखको बजेट सार्वजनिक, कृषि, पूर्वाधार र पर्यटनमा विशेष प्राथमिकता

पोखरा । कास्की जिल्लाको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार गाउँ सभामा अध्यक्ष नवराज ओझाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्ष लालसुब्बा गुरुङले बजेट प्रस्तुत गरेकी हुन्।
बजेटको कुल राशिमध्ये ३३ करोड ३४ लाख (करीब ६९ प्रतिशत) चालु खर्चतर्फ र १५ करोड २० लाख (३१ प्रतिशत) पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। पालिकाको अधिकांश बजेट संघ र प्रदेश सरकारको अनुदानमा निर्भर रहेको छ। संघ सरकारबाट समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान तथा राजस्व बाँडफाँट गरी जम्मा ४१ करोड ११ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट भने विभिन्न शीर्षकमा २ करोड ७१ लाख प्राप्त हुने अनुमान गरिएको छ।
बजेटमा मौज्दात रकम ३ करोड १४ हजार र आन्तरिक स्रोतबाट १ करोड ६४ लाख उठाउने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई पनि समेटिएको छ। बजेटले कृषि, पर्यटन, पूर्वाधार र स्वास्थ्य सेवालाई प्राथमिक प्राथमिकता दिएको छ।
बाँदरले असर नगर्ने बालीको प्रवर्द्धन
रूपा गाउँपालिका बाँदरको उच्च प्रकोपले प्रभावित क्षेत्र भएकाले आगामी वर्ष बाँदर प्रतिरोधी नगदेबाली लगाउने योजनालाई प्राथमिकता दिएको छ। कृषिमा २ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ भने मसलाजन्य बाली (लसुन, प्याज, बेसार, टिमुर) प्रवर्द्धन गर्न ८५ लाख रुपैयाँ उत्पादन आधारित अनुदानको व्यवस्था गरिएको छ।
‘बाँझो खेतमा यसपालीः बाँदरले असर नपार्ने नगदे बाली’ भन्ने नारासहित ४ हजार रोपनीमा मसलाजन्य बाली विस्तार कार्यक्रम अघि सारिएको छ। पशुपालनतर्फ दुध र मासु उत्पादनमा आत्मनिर्भर बन्न १ करोड ९९ लाख बजेट छुट्याइएको छ। पालिकाले पछिल्ला वर्षहरूमा कृषिमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ — चालु वर्षमा मह उत्पादन, अघिल्लो वर्ष कृषि पकेट कार्यक्रम सञ्चालन गरिएको थियो।
‘ग्रेट वाल’ निर्माण हुँदै
पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले मेहेरेदेखि हात्तीमैता क्षेत्रसम्म ‘रुइलाफ् पर्खाल’ निर्माण गर्ने योजना अघि सारेको छ। चिनियाँ ‘ग्रेट वाल’ को अवधारणाबाट प्रेरित उक्त संरचनाले पर्यटकको बसाइ लम्ब्याउने विश्वास लिइएको छ। पर्यटन क्षेत्रका लागि ५५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। साथै, रुपातालमा उत्पत्ति भएको जलदेवी मुहानलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गरिने जनाइएको छ।
पूर्वाधारको आधा बजेट प्रशासनिक भवनमा
पूर्वाधार निर्माणका लागि १० करोड ८९ लाख विनियोजन गरिए पनि त्यसमध्ये ६ करोड रुपैयाँ प्रशासनिक भवन निर्माणमा मात्र खर्च गरिनेछ। पालिकाको गौरवको योजना शिवचण्डी मोटरबाटो स्तरोन्नतिको लागि पनि २ करोड १८ लाख विनियोजन गरिएको छ।
सामाजिक विकासमा उच्च बजेट
रूपा गाउँपालिकाले सामाजिक विकास क्षेत्रमा २१ करोड २३ लाख रुपैयाँ छुट्याएको छ, जुन बजेटको सबैभन्दा ठूलो हिस्सा हो। यसमध्ये शिक्षा क्षेत्रमा १६ करोड ७२ लाख र स्वास्थ्यमा ३ करोड ५९ लाख विनियोजन गरिएको छ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटले ग्रामीण पूर्वाधार, कृषि उत्पादकत्व, पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवा क्षेत्रमा सन्तुलित ध्यान दिएको देखिन्छ। गाउँपालिका अध्यक्ष ओझाका अनुसार कृषिमा पालिकाले लगानी बढाउँदै लिइरहेको नीति सफल हुँदै गएको छ र किसानले प्रत्यक्ष लाभ लिइरहेका छन्।








हचुवामा संरचना, करोड खर्चेपछि खारेज
मानसिक स्वास्थ्य कमजोर हुँदा आत्महत्या दर बढ्यो
पोखरा रोयल सहकारीले पायो इजाजतपत्र
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया