सम्पादकीय—पोखराको कोसेली के हो ?

हालै पोखराबाट विदा भएर जान लागेका महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंलाई मायाको चिनो अर्थात सम्झनाको कोसेली दिँदा मेयर धनराज आचार्यले एउटा मूर्ति थमाए । पोखरा महानगरपालिकाले बिदाइका अवसरमा करुवा र मूर्ति जस्ता सामान्य सामग्रीलाई मायाको चिनो बनाउँदा यहाँको मौलिकता झल्काउन नसकेको स्पष्ट हुन्छ । फेवातालको पानी वा माछापुच्छ«े बोकेर लैजान नसकिने भए पनि स्थानीय हस्तकला, रैथाने खाद्य पदार्थ, जेठोबुढोको चामल, ल्वाङको चिया, राडीपाखी, सारंगी वा अन्य सांस्कृतिक सम्पदालाई कोसेलीको रूपमा विकास गर्न सकिन्छ । तर, यस्ता सम्भावनालाई व्यवस्थित र प्राथमिकताका साथ अघि बढाउन नसक्दा पोखराले आफ्नो पर्यटकीय पहिचानको एउटा महत्वपूर्ण पाटो गुमाइरहेको छ ।
जब कुनै ठाउँले आफ्नो परिचय दिन्छ, त्यसको प्रतिबिम्ब त्यहाँबाट बिदा हुनेले बोकेर लैजाने चिनो वा कोसेलीमा पनि झल्किनुपर्छ । तर, विडम्बना ! ‘पर्यटनको राजधानी’ को भव्य उपमा पाएको पोखराले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई बिदाइ गर्दा करुवा र बुद्धको मूर्ति थमाउँछ, जुन वस्तुहरू पोखराको विशिष्ट पहिचानभन्दा पनि पाटन र ठमेलको कलाकृतिसँग बढी मेल खान्छन् । यो सानो तर सांकेतिक घटनाले पोखराको एउटा गम्भीर र लामो समयदेखि नजरअन्दाज गरिएको समस्यालाई सतहमा ल्याइदिएको छ— पोखराको आफ्नै भन्न सुहाउने कोसेली के हो ?
पोखरा आउने जोकोही पर्यटक फेवातालको सुन्दरता र माछापुच्छ्रेको छायाँमा रमाउँछन् । तर, फर्किँदा ती अविस्मरणीय पलहरूलाई सँगै लैजान एउटा मूर्त चिनो खोज्दा उनीहरूको हात रित्तो हुन्छ । लेकसाइडका पसलहरूमा विदेशी सामान र अन्यत्र पनि सहजै पाइने वस्तुहरूको बाहुल्यले पर्यटकलाई निराश बनाउँछ । पर्यटन भनेको केवल प्राकृतिक सौन्दर्यको अवलोकन मात्र होइन; यो त स्थानीय संस्कृति, जीवनशैली, कला र उत्पादनसँगको भावनात्मक सम्बन्ध पनि हो ।
जब पर्यटकले यहाँको माटोको सुगन्ध बोकेको कुनै वस्तु आफ्नो साथमा लैजान पाउँदैन, तब उसको पोखरा यात्रा अपूर्ण रहन्छ । यो सहरले पर्यटकलाई आफ्नो चिनारी बोकेर फर्काउने एउटा विशेष कोसेली दिन सकेको छैन । पोखराको चिनो खोज्ने पर्यटकहरूले यहाँको संस्कृति र पहिचान झल्काउने कुनै खास सामान नपाएर निराश हुनुपरेको छ । यो विषयले पोखराको पर्यटकीय सम्भावनालाई मात्र होइन, यहाँको सांस्कृतिक धरोहरलाई समेत गम्भीर प्रश्न उठाएको छ ।
यो समस्या केवल कोसेलीको अभावमा मात्र सीमित छैन । यो पोखराको दूरदृष्टिको कमी र प्रकृतिप्रदत्त वरदानमाथिको अत्यधिक निर्भरताको उपज हो । पोखराले आफ्नो पर्यटनलाई दिगो बनाउन मौलिक संस्कृति र स्थानीय उत्पादनमा आधारित नयाँ स्तम्भहरू खडा गर्नैपर्छ । जेठोबुढोको चामल, ल्वाङको चिया, सारंगी, सिक्लेस–ताङतिङ–घान्द्रुकका राडीपाखी, भांग्रा वा हस्तकलाका सामानहरूमा पोखराको पहिचान लुकेको छ । यी उत्पादनहरू त छन्, तर यिनलाई ‘पोखराको कोसेली’ को रूपमा ब्रान्डिङ गर्ने, आकर्षक प्याकेजिङ गर्ने र पर्यटकसमक्ष सहजै पु¥याउने प्रणाली छैन ।
पोखरा महानगरपालिकाले ‘कोसेली घर’ बनाउने भनेर भनेको छ । कहिलेसम्म बन्ने हो ? थाहा छैन । कोसेली विकास गर्नु भनेको केवल केही वस्तु बेच्नु मात्र होइन; यो त स्थानीय कारीगरलाई रोजगारी दिनु हो, लोपोन्मुख कलालाई संरक्षण गर्नु हो र पोखराको आर्थिक चक्रलाई थप बलियो बनाउनु हो । प्रस्तावित ‘कोसेली घर’ लाई केवल एउटा बिक्री केन्द्रको रुपमा नभई स्थानीय उत्पादन, कला र संस्कृतिको जीवन्त प्रदर्शनी स्थलको रुपमा विकास गरिनुपर्छ । जब पोखराबाट फर्कने हरेक पर्यटकको झोलामा माछापुच्छ्रेको तस्बिरसँगै यहाँको मौलिक उत्पादन पनि हुनेछ, तब मात्र ‘पर्यटनको राजधानी’ को उपाधिले सार्थकता पाउनेछ । अन्यथा, पोखराको पहिचान सुन्दर तर छुन नसकिने हिमालको छायाँमा मात्र सीमित रहनेछ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया