
पृष्ठभूमि :
विगत केही वर्षदेखि यता म आफूलाई प्राप्त हुन आएको मुख्य न्यायाधिवक्ताको जिम्मेवारीवश कर्तव्य निर्वाहको सिलसिलामा विभिन्नखाले प्रवृत्ति र प्रभृतिहरूसँग जोडिने गरेको छु। प्रायशः मेरो पदीय कर्तव्य न्यायसँग ठोक्किने गर्दछ। हरेक प्रवृत्ति र प्रभृतिहरूसँग ठोक्किँदा कतै अन्याय नहोस्, सर्वत्र न्याय होस्, सबैले न्यायको अनुभूति गरुन् र न्याय कानुनबमोजिम होस् भन्नेमा सचेत पनि छु।
यही क्रममा मेरा सहकर्मी, जो लामो समयसम्मको न्यायिक सेवामा अनुभव प्राप्त अधिकृतज्यूहरू हुनुहुन्छ, उहाँहरुबाट कार्यालयमा केही गुनासो वा दुःखमनाउ सुन्नुपर्ने अवस्था रह्यो। उहाँहरुको भनाइ थियो कि “………. ठाउँमा रहेको एक जना स्वाँठले हेपेर बोल्यो, अपमानित नजरले हेर्यो, न्यायिक मन, मस्तिष्क, शैली वा प्रस्तुतिभन्दा बाहिरका असान्दर्भिक प्रश्नहरू गरेर हुर्मत लिने काम गर्यो।” उहाँहरूको गुनासो तत्काल सुन्नु र आत्मसात् गर्नुबाहेक मसँग अर्को कुनै उपाय थिएन/छैन। मलाई मनमा यो कौतूहल जाग्यो कि त्यस्तो बज्रस्वाँठ कुन रहेछ? अब ऊसँग कार्यालयका अन्य स्टाफहरूले होइन, म आफैँले साक्षात्कार गर्नुपर्दछ भन्नेसम्मको अठोट मेरो अन्तरमनमा जाग्न पुग्यो।
तत् ठाउँका साथीहरूले नाम बताए अनुसारको बज्रस्वाँठको मुकाम रहेको ठाउँमा कर्तव्यवश म आफैँ उपस्थित हुन पुगेँ। साथीहरूले बताएअनुसार पहिलो जम्काभेटमै सो मानिस बुद्धि र विवेकहीन बज्रस्वाँठ नै हो भन्ने मेरो मन–मस्तिष्कले ठम्याउन पुग्यो। …. दिने ठाउँमा रहेको उक्त बज्रस्वाँठ म ५/७ वर्षको उमेरको छँदा बाले घरमा पालेका, निकै मर्द वा बलिया भनेर चिनिएका, गाउँ–छिमेकका सबै गोरुहरूलाई धुलो चटाउन सक्ने “धौले” र “चम्रे” नामका दुई बलवान् गोरुको हललाई समेत तह लगाउने, “धम्पुरे काइँला” नामले बोलाइने बाको हलीको ठ्याक्कै सम्झना लाग्ने मानिस पो रहेछ।
शारीरिक बनोटका हिसाबले पनि “धौले”, “चम्रे”को हललाई एकै डल्लो बनाउने तागत संग्रह भएको, आमाले दिएको “फलाएँ” थालको चारमाना पिठोको ढिँडो तुरेर गैरी खेत जोत्न पठाउने हलीजस्तो प्रतीत हुने लायकको, जसले झुलो, अँगेरो, लाम्पाते सुर्ती र झन्डै मुठी भुसाहा जाने चिलिम पनि साथमै लिएर जान्थ्यो र तीनधार्ने हलोलाई तृण बराबरको हलुङ्गो मानेर खेत जोत्ने काम गर्दथ्यो। हामी उसलाई “धम्पुरे काइँला बा” भन्ने सम्बोधन गथ्र्यौं।
सोही स्वभावको ऊ कसरी यो ठाउँमा आइपुग्यो त? म आफूलाई आश्चर्य लाग्नु स्वाभाविकै थियो र पनि पदीय मर्यादा वा जिम्मेवारीले गर्दा फरक पो छ कि भन्ने थोरै आशा अर्कोतर्फ बाँकी नै थियो। सो आशा जाग्नुको पछाडि ‘मानिस जति जिम्मेवार भयो अर्थात् ठूलो बन्यो, उति नै नरम वा मिजासिलो रहन्छ’ भन्ने शाश्वत मान्यताले म आफूलाई घच्घच्याइरहेको थियो।
म बालक छँदाको “धम्पुरे काइँला बा” अनुहारको उक्त मानिससँग केही छलफल पनि चल्यो। उसको बोली सुन्दा साँच्चिकै नमिठो, अखरिएको, निरस र बाउँठिएको म आफैँलाई अनुभूत हुन पुग्यो। यो चरित्रको बज्रस्वाँठको अघिल्तिर बाध्यतावश उभिनुपर्ने, झुक्नुपर्ने, तर्कशक्तिको कुनै अर्थ नरहने भएपछि यस्ता मान्छेसँग सकभर अनुहारै हेर्न नपरोस् भन्ने कुरामा मलाई पनि आत्मा जागृत हुन पुग्यो।
अबको पुस्ता हली होइन, न्यायप्रेमी बन्न सिकौँ र हरेक सरकारी वा सार्वजनिक निकायहरूलाई हलीमुक्त क्षेत्र बनाउन पहल गरौँ।
बज्रस्वाँठलाई कसैको आशीर्वाद पनि त होला!
बाका पालाको हली “धम्पुरे काइँला” प्रतीत हुने लायकको उक्त बज्रस्वाँठलाई कुनै दम्भी, अहंकारी, छुद्र तर शक्तिशालीको आशीर्वादले उक्त मर्यादित कुर्सीमा राखिएको हो भन्ने गाइँगुइँ बजार हल्ला म आफूले पनि नसुनेको होइन। सायद त्यही भएर होला, सो बज्रस्वाँठमा पनि दम्भ, अहंकार र छुद्रताको मात्रा अत्यधिक उच्च रहेको देखियो। सँगसँगै उसमा “फिस्टे उन्माद”को मात्रा झनै अत्यधिक रहेछ। कुनै बेला पोथीहरूको बीचमा उन्मत्त देखिएको भाले फिस्टो बाँसको रुखको टुप्पोमा बसिसकेपछिको अनुभव उसका तरुनी पोथी साथीहरूसँग फुर्तीसाथ भन्दै थियो रे, “ल हेर, म कति गरुङ्गो, बाँसको रुखको टुप्पोमा चढेको त पत्तक्क नुगेर भुइँ छोयो।”
उक्त बज्रस्वाँठमा पनि यो खालको फिस्टे अहंकार चुलिएकै रहेछ। अहंकार चुलिएपछि पक्कै पनि पोखिनु वा तल झर्नुबाहेक अरू विकल्प रहँदैन। मेरो अन्तरमनले बज्रस्वाँठको फिस्टे अहंकारको समापनको दिन धेरै टाढा छैन भन्ने लख काट्यो। बज्रस्वाँठका त्यसपछिका क्रियाकलापहरू नियाल्दै जाँदा उसमा न्यायिक मन, विवेक, भावना र समर्पणको लेससम्म पनि देखिँदैनन्। अररो, अखरिएको तीनधार्ने हलोमा ठोकिएको जब्बर अनौ लतार्ने वा तान्ने मानिस हो कि भन्ने पत्यार लाग्ने खालको अङ्ग–ढङ्गले उसलाई हली बराबरको हैसियत दिन पक्कै सुहाउँदो हो। तर कसैको आशीर्वादले ऊ अहिले …… ठाउँमा छ।
बेलुका–बेलुका पनि सायद उसलाई “धम्पुरे काइँला बा” लाई जस्तै तीन बोतल कोदोको ठर्राले पुग्दैन होला। शरीरअनुसारको घिच्याइले “घिर्चो” लागेको, स्वाँठिएको बज्रस्वाँठलाई केही गुरुङ काजी र केही बाहुनहरूले कामको निर्देशन गर्छन् अरे भन्ने हल्ला पनि बजारमा सुनिन्छ। काजी र बाजेहरूको इमानदार आज्ञापालक बज्रस्वाँठमा न्यायको मर्म र मकसदको सामान्य हेक्कासमेत रहेको देखिँदैन। यस्ताबाट विधि वा नीति पालनाको भरोसा राख्नु आकाशकै फल बराबर हो।
बोली र व्यवहार दुवै दृष्टिले उग्र, अनुशासनहीन र छाडा स्वभावको बज्रस्वाँठका आँखा हेर्दा हान्ने गोरुको झैँ लाग्ने, राता–राता वा कर्किएका देखिन्छन्, सायद रातिको ठर्राले पनि यस्तो देखिएको हुन सक्छ। उसको हेराइ, बोलाइ वा प्रस्तुति नै अशिष्ट, अमर्यादित र तितो लाग्ने खालको छ। सायद उसले मिठो त मालिकसँग मात्र बोल्छ कि!
तुलनात्मक रूपमा “धम्पुरे काइँला बा” बढी इमानदार र उचित पनिः
शारीरिक बनोट र बोलीचालीमा “धम्पुरे काइँला बा” जस्तै देखिने बज्रस्वाँठको कार्यशैली र व्यवहारलाई पनि पल–पलमा अध्ययन गर्नुपर्छ भन्ने जिज्ञासाले मलाई पछ्यायो। उसका दैनिक गतिविधिहरू आफैँ वा स्टाफ साथीहरू मार्फत वा अन्य सेवाग्राहीसँग सेयर गर्दै जाँदा सो बज्रस्वाँठको व्यवहार अत्यन्त बेइमान, छली र धर्मछाडा पनि भेटियो। “धम्पुरे काइँला बा” त स्वभावअनुसार भुसाहा, रक्सी वा कोदोको ढिँडोमा रमाउने, अरूप्रति न्यायपूर्ण र इमानदार व्यवहार प्रदर्शन गर्ने व्यक्ति थिए।
उनलाई बेलुकी–बेलुकी आमाले ढिँडो खाने पिठो प्रायजसो र कहिलेकाहीँ भात खाने चामल र तिहुनका लागि गुन्द्रुक र नेपाले भटमास हली खर्चबापत दिने गर्नुहुन्थ्यो। बेलुकी–बेलुकी हलो लतारेबापतको थकाइ वा जीउ दुखाइ भगाउन कोदोको ठर्राबापतको खर्च बाले उसलाई उपलब्ध गराउनुहुन्थ्यो। यही बक्सौनी प्राप्तिका लागि “धम्पुरे काइँला बा” ले ऊ बेलाको जमानाअनुसार मालिक रिझाइको काम गर्दथे।
मालिक रिझाइले आत्मसन्तुष्टि हुने र बक्सिस पनि पाइने “धम्पुरे काइँला बा” को सोच र यो बज्रस्वाँठको सोचमा भने एकरूपता नै देखियो। सायद मालिकले बज्रस्वाँठलाई यो ठाउँमा खटाउनुको पछाडि पनि मालिक र मालिकका धूर्त मण्डलीहरूको संरक्षणको अभिप्राय पक्कै लुकेको छ। त्यसैले त बज्रस्वाँठका हरेक गतिविधिहरू बेइमानीपूर्ण, औचित्यहीन वा नाजायज नै लाग्ने गर्दछन्।
बज्रस्वाँठलाई प्रश्न, “अब पनि सुध्रने कि नसुध्रने?”
बज्रस्वाँठसँग प्रदेशवासी, खासगरी पोखरेलीहरूका तर्फबाट मेरो प्रश्न छ— अब पनि उही हलीले बक्सिस वा बक्सौनी प्राप्त गर्ने आशयले मालिक रिझाइको काम गर्ने हो वा आम नागरिकको हित वा भलाइ हेर्ने हो? अथवा नीति, विधि र कानुनको पनि सम्मान गर्ने हो? हलीमा केवल मालिकको मजदुरी, मजदुरीमाथि प्राप्त हुन आउने साँझ–बिहानको गर्जो टराइको चिन्ता………….! हली प्रवृत्ति केवल घर–व्यवहारमा मात्रै लागू हुने प्रथा थियो, जसलाई अहिले राज्यले कानुन नै ल्याएर अन्त्य गरिदियो तर ………… मा भने हली प्रवृत्ति अझै चर्को रुपमा देखिएको छ र त्यहाँ देखाउने हली स्वभावले संस्था र संस्थाको मर्यादामा आँच पुर्याइरहेका छन्।
यिनै कारणहरुले गर्दा नागरिक असन्तुष्टि बढ्दै गएको छ। स्वयं संस्थाको मर्यादा र जनआस्थामा विचलन देखिएको छ। आफ्ना कारणले देखिएको विकृति र विसङ्गतिप्रति बज्रस्वाँठले थोरै मात्र आत्मबोध गरेर कानुन, न्याय र न्यायका मान्य सिद्धान्तप्रति आफूलाई समर्पित गर्न सकेमा संस्थाको छुट्टै मर्यादा कायम रहनेछ र परिस्थितिमा छुट्टै सकारात्मक परिवर्तन देखिनेछ। तसर्थ, बज्रस्वाँठले सुध्रने वाचा गरोस्।
उपसंहारः
म दावाका साथ भन्छु, न्यायलाई अन्यायमा बेच्नेहरू, न्यायको उपेक्षा गर्नेहरू, न्यायिक मर्यादा उल्लङ्घन गर्नेहरू माथि बेलिविस्तार गरिएअनुसारका बज्रस्वाँठहरू नै हुन्। लफङ्गा, उरन्ठेउला, सधैँभरि लोक–रिझाइ होइन कि मालिक–रिझाइमा लिप्त रहेका, ओहदा वा जिम्मेवारीको मर्यादा भुलेका बज्रस्वाँठहरूले संस्थालाई रचनात्मकता वा सिर्जनात्मकतातर्फ कहिल्यै दिशानिर्देश गर्न सक्दैनन्।
राज्य र राज्यको कानुनले हली र हली प्रवृत्तिलाई पूर्णतया उन्मूलन गरिसक्दा पनि यस्तैखाले बज्रस्वाँठ हलीहरूका कारणले हाम्रो समाज विकृत भइरहेको छ। अबको पुस्ता हली होइन, न्यायप्रेमी बन्न सिकौँ र हरेक सरकारी वा सार्वजनिक निकायहरूलाई हलीमुक्त क्षेत्र बनाउन पहल गरौँ।
(शर्मा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता हुन् ।)










चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
सडक सञ्जालमा जोडिँदै गुर्जा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया