एसइई र ननग्रेडेड विद्यार्थीको व्यवस्थापन

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा २०८२ साल असार १३ गते सार्वजनिक गरेको छ । यस पटक कुल ४ लाख ३८ हजार ८९६ जना परीक्षार्थीले एसइई दिएका थिए । तीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना अर्थात् ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड सूचीमा परेका छन् भने १ लाख ६७ हजार ५ सय ९७ जना अर्थात् ३८.१९ प्रतिशत विद्यार्थी ननग्रेडेड सूचीमा परेका छन् ।
नतिजा अनुसार ४८ हजार १ सय ७७ जना विद्यार्थीले जिपिए ३.६० देखि ४.०० को बीचमा प्राप्त गरेका छन्, जिपिए ३.२० देखि ३.६० पाउने विद्यार्थीको संख्या ८१ हजार ३ सय ८५ रहेको छ । जिपिए २.८०–३.२० पाउने विद्यार्थीको संख्या ८९ हजार १ सय २४ छ भने २.४०–२.८० पाउने विद्यार्थी ४८ हजार ४ सय ७९ जना रहेका छन् । जिपिए २.००–२.४० बीच पर्ने विद्यार्थी ४ हजार १ सय २६ मात्र छन् भने जिपिए १.६०–२.०० बीचमा जम्मा ८ जनामात्रै परीक्षार्थी परेका छन् ।
प्रदेश अनुसारको एसइई नतिजा हेर्दा बागमती प्रदेशमा कुल १ लाख १६ हजार २ सय ६२ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ७८ हजार १ सय १६ विद्यार्थी ग्रडेड भएका छन्, जसअनुसार यस प्रदेशको उत्तीर्ण दर ६७.१९ प्रतिशत रहेको छ । गण्डकी प्रदेशमा ३४ हजार ७ सय ४ परीक्षार्थी सहभागी भएकोमा १८ हजार ६ सय ७१ जना ग्रडेड भएका छन् । गण्डकी प्रदेशको उत्तीर्ण दर ५३.८० प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा कुल ६६ हजार ६ सय ४६ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३१ हजार ९ सय ६० जना ग्रडेड भएका छन्, जसअनुसार उत्तीर्ण दर ४७.९५ प्रतिशत रहेको छ ।
यसैगरी, मधेस प्रदेशमा ४८ हजार ५ सय ४१ जना परीक्षार्थीमध्ये २२ हजार ४ सय ५५ जना विद्यार्थी ग्रडेड भएका छन्, र यो प्रदेशको उत्तीर्ण दर ४६.२६ प्रतिशत रहेको छ । कोशी प्रदेशमा ६३ हजार १ सय ६७ विद्यार्थी सहभागी भएकामा २८ हजार ३६ जना ग्रडेड भएका छन् । यस प्रदेशको उत्तीर्ण दर ४४.३८ प्रतिशत रहेको छ । कर्णाली प्रदेशमा कुल २५ हजार ९ सय २० विद्यार्थी परीक्षामा सहभागी भएका थिए, तीमध्ये १० हजार ५ सय ६३ जना ग्रडेड भएका छन् । कर्णाली प्रदेशको उत्तीर्ण दर ४०.७५ प्रतिशत रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा ३५ हजार ६ सय २८ विद्यार्थी सहभागी भएकामा १४ हजार ४६ जनामात्र ग्रडेड छन् । यस प्रदेशको उत्तीर्ण दर ३९.४२ प्रतिशत रहेको छ, जुन सबैभन्दा कम हो । यो विवरणले शिक्षा–पहुँच, गुणस्तर, तथा स्रोत साधनको सहज उपलब्धतासँग प्रत्यक्षरूपमा सम्बन्धित रहेको देखिन्छ । परीक्षा गत वर्षको तुलनामा सुधारिएको देखिएको छ । २०८० सालमा ४७.८६ प्रतिशतमात्र विद्यार्थी ग्रेडेड सूचीमा परेका थिए, जुन यो वर्ष बढेर ६१.८१ प्रतिशत पुग्नु उत्साहजनक पक्ष हो ।
यो त जीवन यात्राको एउटा महत्वपूर्ण मोडमात्र हो । अबको यात्रा अझ चुनौतीपूर्ण, तर अवसरले भरिएको छ ।
ग्रेडेड विद्यार्थीलाई शुभकामना
यस वर्ष एसइई परीक्षामा ग्रेडेड सूचीमा पर्न सफल भएका सम्पूर्ण २ लाख ७१ हजार २ सय ९९ विद्यार्थीलाई हार्दिक बधाई ! यो सफलता विद्यार्थीको मेहनत, धैर्य र प्रतिबद्धताले सम्भव भएको हो । यो उपलब्धि केवल एउटा परीक्षा पास गर्नुमात्र होइन, यो लक्ष्यप्रतिको समर्पण र अनुशासनको प्रमाण हो । यद्यपि यो अन्तिम गन्तव्य होइन, यो त जीवन यात्राको एउटा महत्वपूर्ण मोडमात्र हो । अबको यात्रा अझ चुनौतीपूर्ण, तर अवसरले भरिएको छ ।
भविष्य निर्माणका लागि विषयको उचित छनोट, निरन्तर अध्ययन र व्यक्तित्व विकासमा ध्यान दिन जरुरी छ । आफ्नो रुचि, क्षमता र सपना अनुसारको मार्ग पहिचान गरेर आफूलाई अझ सक्षम र जिम्मेवार नागरिकको रूपमा तयार पार्नुहोस् । तपाईंहरूको आजको सफलता भोलिको उज्यालो सम्भावनाको ढोका हो, यसलाई अझ व्यापक र सार्थक बनाउनुहोस् ।
ननग्रेडेड विद्यार्थीः छाँया पर्न नदिऊँ
यस वर्षको नतिजा अनुसार ३८.१९ प्रतिशत विद्यार्थी ननग्रेडेड सूचीमा परेका छन् । यथार्थ यही हो—झन्डै दशमध्ये चार विद्यार्थीको परिणामले अपेक्षित मापदण्ड पूरा गर्न सकेन । यी विद्यार्थीको संख्या अझै गम्भीर छ, जसले समग्र शिक्षाको गुणस्तरबारे प्रश्न उठाएको छ ।
यस वर्ष गणित विषयमा मात्र १ लाख २८ हजार २ सय १५ जना विद्यार्थी ननग्रेडेड सूचीमा परेका छन । अंग्रेजीमा ८० हजार ६ सय ७२ जना, विज्ञान तथा प्रविधिमा ७९ हजार २ सय ७१ जना, नेपालीमा ५४ हजार ७ सय ३५ जना, र सामाजिक अध्ययनमा ५३ हजार १८६ जना विद्यार्थीले न्यूनतम ग्रेड प्राप्त गर्न सकेनन् ।
गणितमा सबैभन्दा धेरै विद्यार्थी ननग्रेडेड छन् । विज्ञान र अंग्रेजीमा पनि उच्च दरमा विद्यार्थी एनजी भएका छन्, जसले अध्ययन अध्यापनको रणनीति सुधार्नुपर्ने आवश्यकता औंल्याउँछ ।
नतिजामा राम्रो उपलब्धि हासिल गर्ने र गर्न नसकेका विद्यार्थीको संख्या हेर्दा हाम्रो शिक्षाको गुणस्तर, शिक्षण–शिक्षण प्रक्रियाको प्रभावकारिता, तथा विद्यार्थीहरूको मानसिक, सामाजिक र भावनात्मक पक्षसमेत पुनः मूल्यांकन गर्नुपर्ने आवश्यकता देखाउँछ । परीक्षा परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि शैक्षिक वृत्तसम्म ग्रेडेड विद्यार्थीको चर्चा भइरहे पनि, ननग्रेडेड सूचीमा परेका हजारौं विद्यार्थी भने छायाँमा परिरहेका छन् ।
अब प्रश्न उठ्नुपर्छः के ननग्रेडेड हुनु जीवनको अन्तिम सन्देश हो ? के ग्रेडले मात्र मान्छेको मूल्य तोकिन्छ ? वा, यो एउटा असफलता हो जसबाट सिकेर, उभिएर, अघि बढ्न सकिन्छ? ननग्रेडेड विद्यार्थीको व्यवस्थापन तर्फ पनि बहस हुन जरुरी छ ।
अवसरको ढोका खुला छ
परीक्षा भनेको केवल एउटा मूल्यांकन हो, तपाईंको सम्पूर्ण जीवनको फैसला होइन । धेरै प्रसिद्ध व्यक्तित्व प्रारम्भिक शैक्षिक जीवनमा असफल भएका थिए, थोमस एडिसन, अल्बर्ट आइन्स्टाइनदेखि लिएर नेपालका थुप्रै उदाहरणसम्म । तर तिनीहरूले हार स्वीकारेनन्, आफूलाई खोजे, सिके र पुनः आफूलाई प्रमाणित गरे । ननग्रेडेड हुनु तपाईँको क्षमताको अभाव होइन; यो केवल तपाईंको सिकाइको गति, परिस्थितिहरू, वा तयारीको अन्तर हो ।
यो नतिजाले ननग्रेडेड विद्यार्थीलाई होसियार बनाउने मौका दिएको छ, पुनर्विचार गर्ने, सुधार गर्ने र नयाँ योजनासाथ अघि बढ्ने अवसर दिएको छ ।
ननग्रेडेड विद्यार्थीको व्यवस्थापन
३८.१९ प्रतिशत विद्यार्थी ननग्रेडेड हुनु अझै पनि हाम्रो शिक्षा प्रणालीको गहिरो संरचनात्मक कमजोरीको स्पष्ट संकेत हो । यस्तो नतिजाले केवल शैक्षिक क्षेत्रलाई मात्र होइन, समग्र समाजलाई समेत गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ । यो तथ्यांक केवल प्रतिशतको कुरा होइन, यो प्रश्न हाम्रो दृष्टिकोणप्रति हो, हामी यि विद्यार्थीलाई असफल भनेर होइन, उनीहरूलाई पुनःसक्रिय र सक्षम बनाउन प्रयत्न गरौं, अवसरहरू प्रदान गरौं ।
ननग्रेडेडको अर्थ फेल होइनः ननग्रेडेड अर्थात् मूल्यांकनमा न्यूनतम आवश्यकता पूरा नगरेका र कक्षा ११ पढ्न योग्य नठहरिनु हो । तर यसलाई सजिलै ‘फेल’ भनी ठहर गरिनु, शिक्षाको मानव केन्द्रित दृष्टिकोणसँग मेल खाँदैन । यसको सट्टा, हामीले शिक्षा प्रणालीमा सुधार गर्दै विद्यार्थीको मनोबल बलियो बनाउने दिशामा सोच्नुपर्ने बेला आएको छ ।
संरचनागत कमजोरीको प्रभावः गणित, विज्ञान वा अंग्रेजी जस्ता आधारभूत विषयमा योग्य शिक्षकको अभाव, अध्यापन पद्धतिमा नवप्रवर्तनको कमी, डिजिटल व्याकुलता, र अभिभावकको न्यून संलग्नताले विद्यार्थीको शैक्षिक यात्रालाई प्रभावित पारेका हुन्छन् । ननग्रेडेडको यो संख्या यीनै संरचनागत समस्याहरूको परिणाम हो ।
के गर्ने, उपाय के छन् ?
सरकारले घोषणा गरिसकेको मौका परीक्षालाई प्रभावकारी ढंगले सञ्चालन गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । विद्यालयले ननग्रेडेड विद्यार्थीका लागि लक्षित तयारी कक्षा सञ्चालन गरी दिनुपर्छ । काभ्रेको एक विद्यालयमा गरिएका अभिभावक अन्तरक्रियाले विद्यार्थीको नियमितता र मनोबलमा उल्लेखनीय सुधार देखिएको उदाहरण प्रेरणादायी छ ।
ननग्रेडेड हुनु तपाईँको क्षमताको अभाव होइन; यो केवल तपाईंको सिकाइको गति, परिस्थितिहरू, वा तयारीको अन्तर हो
१. मौका परीक्षाः दोस्रो अवसर
राष्ट्रिय परीक्षा बोर्डले आवश्यक न्यूनतम ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गर्दै आएको छ, जसको मुख्य उद्देश्य तिनीहरूलाई शैक्षिक यात्रामा पुनः समावेश गराउने अवसर प्रदान गर्नु हो ।
यस वर्ष बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) नन ग्रेडेड भएका विद्यार्थीलाई साउनको १९ गतेदेखि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । मौका परीक्षामा सफल आवश्यक ग्रेड हासिल गर्ने विद्यार्थीहरू पुनः ग्रेडेड सूचीमा समावेश गरिन्छन् र उनीहरू कक्षा ११ मा भर्ना हुन योग्य मानिन्छन् ।
यस परीक्षालाई विद्यार्थीले दोस्रो अवसरका रूपमा लिनुपर्छ । नतिजामा असफल हुनु जीवनको अन्त्य होइन, बरु सुधारको संकेत र नयाँ सुरुवातको बाटो हो । यस कारण ननग्रेडेड विद्यार्थी, अभिभावक, र विद्यालय सबैले मौका परीक्षाको महत्वलाई गम्भीर रूपमा बुझ्न जरुरी छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रदान गरिने मौका परीक्षा अवसर हो, जसले असफलताबाट अघि बढ्न सक्ने आँट र बाटो प्रदान गर्छ । यसलाई सदुपयोग गर्दै हजारौँ विद्यार्थीले पुनः उज्यालो भविष्य निर्माण गर्न सक्ने छन् ।
२. सिटिइभिटीमार्फत व्यावसायिक तालिम
दोस्रो, शैक्षिक धारमा पुनः प्रवेश कठिन हुने विद्यार्थीका लागि सीपमूलक तालिम एउटा प्रभावशाली विकल्प हुन सक्छ । बुटवलको एक संस्थाले तीन महिनाको इलेक्ट्रिसियन तालिम दिएर विद्यार्थीलाई रोजगारीमा लगेको अनुभव नै यसको प्रमाण हो ।
यति बेला सबै सरोकारवाला निकाय, विशेष गरी सरकार, स्थानीय तह, शैक्षिक संस्था, अभिभावक, र समाजको ध्यान सिटिइभिटि मार्फत व्यावसायिक तथा प्राविधिक तालिमको पहुँचमा केन्द्रित हुनु आवश्यक छ ।
सिटिइभिटी नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् हो, जसले मुलुकभर व्यावसायिक तालिमको सञ्जाल विस्तार गरेको छ । यस संस्थाले ३ महिना देखि ३ वर्षसम्मका विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आएको छ, जसमा कृषि, स्वास्थ्य, निर्माण, पर्यटन, सूचना प्रविधि, र यान्त्रिक सीपजस्ता विषयहरू समावेश छन् ।
सीप सिकेर श्रम गर्न डराउनु पर्दैन । कामलाई सम्मान गर्ने संस्कार सिर्जना गर्न सके हामीले देशलाई समृद्ध बनाउन सक्नेछौं । सिटिइभिटीमार्फत प्रदान गरिने तालिमहरू छोटो अवधिमा पनि सीप सिक्न सकिने, काममा जान सकिने, र स्वरोजगारसमेत हुन सकिने प्रकृतिका छन् । विदेशमा रोजगारी खोज्ने युवाका लागि समेत यस्ता तालिमहरू आधारशिला बन्न सक्छन् । आजको प्रतिस्पर्धी युगमा केवल किताबी ज्ञानले मात्र जीवन अघि बढ्दैन, व्यावहारिक सीपको महत्व झनै बढेको छ । यसरी सोच्ने हो भने ननग्रेडेड हुनु असफलता होइन, एक नयाँ सुरुवातको अवसर हो ।
३. ब्रिज कोर्ष
विद्यालयहरूले मनोसामाजिक परामर्शदाताको सहायताले विद्यार्थीमा देखिएको आत्मग्लानि र निराशा कम गर्न व्यवस्था मिलाउनु पर्छ । ब्रिज कोर्ष कार्यक्रममार्फत शिक्षामा पुनः आउन चाहने विद्यार्थीलाई समेट्नु पर्छ ।
शिक्षामा समावेशी पहुँच सुनिश्चित गर्न सरकारद्वारा एक महत्वपूर्ण नीतिगत कदम चालिएको छ । अबदेखि माध्यमिक शिक्षा परीक्षामा ननग्रेडेड प्राप्त गरेका विद्यार्थीले समेत प्राविधिक शिक्षाको ढोका खोल्न पाउने भएका छन् । सरकारले २०८१÷८२ को अर्धवार्षिक समीक्षा प्रतिवेदनमार्फत ननग्रेडेड विद्यार्थीलाई लक्षित गरी प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् अन्तर्गत ‘ब्रिज कोर्ष’ वा ‘प्रि–डिप्लोमा’ तहमा अध्ययन गर्ने सुविधा दिने व्यवस्था मिलाएको छ ।
सिटिइभिटीले कृषि, स्वास्थ्य, निर्माण, पर्यटन, सूचना प्रविधि, बिजुली, मेकानिक जस्ता क्षेत्रमा छोटो तथा दीर्घकालीन तालिमहरू सञ्चालन गर्दै आएको छ । यस संस्थाले हाल प्रवेश प्रक्रियालाई सरल बनाउँदै ग्रेडेड नभएका विद्यार्थीलाई प्रि–डिप्लोमा तहमा भर्ना हुने अवसर दिएको छ, जुन निकै स्वागतयोग्य निर्णय हो । यससँगै विद्यार्थीलाई पुनः शिक्षाको मूलधारमा ल्याउने तथा प्राविधिक सीपका माध्यमबाट उनीहरूको भविष्य सुनिश्चित गर्न मार्ग खोलिएको छ ।
शिक्षक, शैक्षिक संस्था र स्थानीय तहको दायित्व
शिक्षक र विद्यालयले ननग्रेडेड विद्यार्थीलाई बिर्सनु हुँदैन । ती विद्यार्थीका लागि विशेष परामर्श, सपोर्ट कक्षा, र रिमेडियल शिक्षाको व्यवस्था गर्नु पर्छ । उनीहरूलाई तटस्थ तरिकाले समेट्ने वातावरण बनाउनु जरुरी छ । एसइई परीक्षा अन्तिम होइन, एउटा अवसरमात्र हो, यो सन्देश विद्यार्थीको मनसम्म पुर्याउनु आजको खाँचो हो ।
विद्यालय तहमै करियर परामर्श कार्यक्रम सञ्चालन गरेर विद्यार्थीलाई एकाडेमिक वा प्राविधिक मार्ग कुन उपयुक्त हो भन्ने निर्णय गर्न सहयोग गरिदिन पर्छ । स्थानीय तहले ‘एक पालिका, एक सीप केन्द्र’ अभियान सञ्चालन गर्न सके युवालाई स्थानमै तालिम दिने र उनीहरूलाई देशमै अवसर सिर्जना गराउन सकिने छ ।
परिवार र समाजको भूमिका
यति बेला अभिभावक र समाजको भूमिका निर्णायक हुन्छ । मेरो सन्तान फेल भयो भनेर लाज मान्नु हुँदैन । बरु उनलाई सुन्नुहोस्, मनोबल बढाइ दिनुहोस्, सम्भावनाको बाटो देखाउनुहोस् । हरेक बालबालिकाको सिकाइको ढाँचा फरक हुन्छ, सबै विद्यार्थी ग्रेडका आधारमा होइन, जीवनका विविध आयाममा सफल हुन सक्छन् ।
परिवार र समाजले उनीहरूलाई दोहोर्याएर पढ्न, व्यावसायिक तालिम लिन, सीपमूलक शिक्षातर्फ आकर्षित गर्न सक्नुपर्छ। सीप शिक्षा, कम्प्युटर, कृषि, पर्यटन, हस्पिटालिटी, कारिगर तालिम यस्ता क्षेत्र हुन् जसले जीवनको नयाँ ढोका खोल्न सक्छन् ।
निष्कर्ष :
एसइई परीक्षाको नतिजा केवल शैक्षिक मूल्यांकनमात्र होइन, हाम्रो शिक्षा प्रणालीको ऐना हो । यसले सफलताका संकेतहरू पनि दिएको छ र सुधारको खाँचो पनि औँल्याएको छ । ग्रेडेड विद्यार्थीले यो अवसरलाई आफ्नो भविष्य निर्माणका लागि सदुपयोग गर्नुपर्छ भने, ननग्रेडेड विद्यार्थीलाई अवसरबाट वञ्चित गर्नु अन्याय हुनेछ ।
हामीले शिक्षा प्रणालीमा सुधार चाहन्छौं भने हरेक विद्यार्थीलाई ‘तपाईंको पनि सम्भावना छ’ भन्ने अनुभूति दिलाउनु पर्दछ । ननग्रेडेड विद्यार्थी संकट होइनन्, उनीहरू सुधार र पुनःसक्रियताको सन्देश हुन् । हामी शिक्षामा मानवीयताको पुनःस्थापना गर्न तयार छौं भने, यो क्षण अवसरको घडी बन्न सक्छ ।
मौका परीक्षा र व्यावसायिक तालिम जस्ता उपायलाई प्रवर्धन गरेर हामी ननग्रेडेड विद्यार्थीलाई पुनः आशाको यात्रामा समावेश गराउन सक्छौं । अब समय आएको छ, हामीले असफल विद्यार्थी भन्ने लेबललाई सीपयुक्त युवामा रूपान्तरण गर्ने दृष्टिकोण अपनाऔं । सबैको भविष्य उज्यालो बनाउनका लागि शिक्षा प्रणाली समावेशी, लचिलो र आशावादी बन्नैपर्छ ।
( बराल गण्डकी बोर्डिङ स्कुल र गण्डकी कलेज अफ इन्जिनियरिङ कलेज लामाचौर पोखराका पूर्वप्राचार्य हुन् )









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया