सम्पादकीय—बसपार्कको सपना

महानगर भइसकेको पोखरामा एउटा बसपार्कसमेत छैन । बसपार्कको योजना भने २०३२ सालमै बनेको थियो । पृथ्वीचोकमा बसपार्क बनाउने भनेर जग्गा अधिग्रहण पनि भएको हो । तर अहिले अधिग्रहित जमिनको थोरै हिस्सामात्रै बसपार्कका लागि सीमित भएको छ । कतिपय जमिन मुआब्जा स्वरुप पनि गएको छ र थुप्रैचाहिँ अतिक्रमणमा परेको छ । बसपार्कका लागि भएको जमिनको सदुपयोग गर्न महानगरपालिका असफल हुँदै आएको छ ।
पोखरालाई व्यवस्थित बनाउने सपनासँगै पृथ्वीचोकमा बसपार्क बनाउने योजना सुरु भएको झन्डै पाँच दशक बितिसकेको छ । तर, यो योजना हरेक पटक राजनीतिक आश्वासन, बजेट अभाव र अतिक्रमणको चपेटामा पर्दै आएको छ । यसै पृष्ठभूमिमा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसपार्कका लागि अधिग्रहण गरिएको सम्पूर्ण जग्गामै बसपार्क बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । शुक्रबार भएको सार्वजनिक सुनुवाइमा उनले त्यस्तो प्रतिबद्धता गरेका छन् । वर्षौंदेखि आश्वासन मात्रै झेल्दै आउनुपरेको छ । त्यस कारण फेरि एउटै प्रश्न छ— के यो वाचा यसपटक साँच्चै पूरा होला?
यो बसपार्कको इतिहास निकै लामो र पेचिलो छ । २०३२ सालमा तत्कालीन सरकारले एउटा आधुनिक र बृहत् बसपार्क बनाउने लक्ष्यका साथ पृथ्वीचोकमा जग्गा अधिग्रहण गरेको थियो । त्यो बेलाको परिकल्पना आजसम्म पनि साकार हुन सकेको छैन । समय बित्दै जाँदा राजनीतिक अस्थिरता र उदासीनताका कारण बसपार्क निर्माणको योजना ओझेलमा पर्यो । यसबीचमा, अधिग्रहण गरिएको जमिनमा सुकुम्बासी र भूमिहीनका नाममा अतिक्रमण मौलाउँदै गयो । आज अवस्था यस्तो छ कि बसपार्कका लागि छुट्याइएको अधिकांश जमिन अव्यवस्थित टहरा र बस्तीले ढाकिएको छ । हरेक स्थानीय चुनावमा यो बसपार्क निर्माण एक प्रमुख चुनावी नारा बन्ने गरेको छ, तर चुनावपछि ती वाचाहरू केवल भाषणमा सीमित हुँदै आएका छन् ।
यस्तो निराशाजनक विगतका बीच मेयर आचार्यको पछिल्लो भनाइले विश्वस्त हुने आधारचाहिँ दिएको छैन । महानगरले १९ हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण गरिसकेको र त्यसै प्रक्रियामार्फत बसपार्क क्षेत्रका बासिन्दाको पनि उचित व्यवस्थापन गर्ने उनको योजना छ । यो समस्याको सबैभन्दा जटिल तर महत्वपूर्ण पाटो हो । भूमिहीन समस्या केवल अतिक्रमणको विषय नभई मानवीय संवेदनासँग पनि जोडिएको छ । त्यसैले, बल प्रयोगभन्दा पनि उचित व्यवस्थापनसहितको समाधान खोज्ने महानगरको योजना सराहनीय हुन्छ ।
पोखराको पृथ्वीचोक बसपार्कको सपना पूरा गर्नु केवल एउटा पूर्वाधार निर्माणको विषय मात्र होइन, यो पोखराको समग्र विकास र व्यवस्थापनको एक महत्वपूर्ण मानक हो । मेयर आचार्यको प्रतिबद्धता र योजनाले आशा जगाएको छ, तर पोखरेली जनताले आश्वासन धेरैपटक सुनिसकेका छन् । अब उनीहरू शब्दमा होइन, काममा परिणाम खोजिरहेका छन् । भूमिहीनको मानवीय पक्षलाई सम्मान गर्दै, राजनीतिक दबाबबाट मुक्त भएर दृढतापूर्वक अघि बढ्नु नै अहिलेको एकमात्र विकल्प हो । यदि महानगरले आफ्नो वाचाअनुसार आगामी दुई वर्षभित्र अतिक्रमण हटाएर बसपार्क निर्माणको कामलाई नतिजामुखी बनाउन सक्यो भने, यो मेयर आचार्यको कार्यकालको सबैभन्दा ठूलो र ऐतिहासिक उपलब्धिका रूपमा दर्ज हुनेछ । अन्यथा, यो वाचा पनि इतिहासको अर्को एउटा पानामा सीमित नहोला भन्न सकिन्न ।









सक्षम सहकारीको सभा
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्रीद्वयले विधान संशोधनको प्रस्ताव पेस गर्ने
चिसोले मुस्ताङ सुनसान
पेन्टिङ पर्यटक लोरा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया