
कल्पना गर कि स्वर्ग छैन, धर्तीमुनि नर्क पनि छैन, हाम्रोमाथि खुला आकासमात्रै छ । सबै आजको लागि मात्रै बाँचिरहेका छन् । कुनै राज्य छैनन्, मानिस एकापसमा लड्नका लागि कुनै कारण छैन, कुनै धर्म छैन । सबै शान्तिले बाँचिरहेका छन् । कल्पना गर, कसैलाई कुनै लोभ छैन, कोही भोका छैनन्, सबैको यो संसारमा उत्तिकै महत्व छ, सबैको बराबर हक छ । मलाइ तपाईहरु स्वप्न संसारमा छु भन्नुहोला । तर म एक्लो छैन, एक दिन तपाईहरु पनि हामीसँगै जोडिनुहुनेछ, अनि यो संसार एकताबद्ध हुनेछ ।
संगीतको पारखीहरुमा प्रसिद्ध गायक जोन लेननको यो गित नसुन्ने एकदमै कम होलान् । जति कर्णप्रिय यसको धुन छ, त्यो भन्दा कैयों गुणा मर्मस्पर्शी यसका शब्द छन् । तर फेरि उति नै कम संख्यामा यो गीतको मर्म बुझ्ने मानिस होलान् । यो गीत सुनिरहँदा क्षणिक आनन्दका लागि सुन्नमात्रै भन्दा पनि घोरिएर अर्थ बुझ्न सके एकै छिन भए पनि मोक्षको अनुभूति दिन सक्षम छ जस्तो मलाई अनुभूति हुन्छ ।
संगीतको यो संसारबाट निस्कँदै गर्दा लेननले सोचेको जस्तो संसार सम्भव हुनै नसक्ने हामी हरेकको निष्कर्ष हुन्छ र पुनः हामी आफ्नो दिनचर्यामा लागि हाल्छौं । हामीलाई यसका बिषयमा धेरै घोत्लिने न त फुर्सद, न इच्छा नै । स्वर्ग छैन भन्ने कल्पना गर्न लगाउने अनि स्वर्गकै बराबरीको संसारको कल्पना गर्न लगाउने लेनिनका ती शब्द आदर्शवादको उत्कर्ष हुन्, यथार्थबादबाट कोसौं टाढा । तर के साँच्चै यस्तो संसार सम्भव होला त ?
मानव जाति र मानवीय चरित्रका बारेमा विभिन्न प्रसिद्ध दार्शनिकहरुले आ–आफ्नो देखाइ र बुझाइ अनुरुप इतिहासमा व्याख्या गरेको हामीले पाउछौं । थोमस हब्सले मानव जातिलाई क्रूर, मतलबी, झगडालु, इष्र्यालु जस्ता उपमा दिदै मानव सधै युद्ध गर्न लालायित हुन्छ भनी विश्लेषण गरेका छन् भने जोन लकको विचार त्यसको ठीक विपरीत छ । उनले मानव जातिलाई शान्तिप्रेमी, दयावान, तर्कशीलका रुपमा व्याख्या गरेका छन् ।
जिन ज्याक्स रुसोले लकको जस्तै आँखाबाट मानव जातिलाई विश्लेषण गर्दै उसलाई शान्त आज्ञाकारी जनावरको रुपमा देखेका छन् । भौगोलिक, जातीय, धार्मिक, सांस्कृतिक, लिंग, वर्गीय लगायत विभिन्न धारमा विभाजित मानव जातिहरुलाई यति सहजै बुझ्न र एकताबद्ध गर्न किमार्थ सहज त छैन, तर असम्भव नै छ भनेर पनि भन्न सकिन्न ।
यो संसारका हरेक मानिसलाई जोड्न सक्ने एउटा मात्रै भावना भनेको प्रेम हो । यो कुरा संसारमा विद्यमान हरेक धर्मले स्वीकार गरेका छन् । त्यसैका लागि मानव जातिलाई प्रेरित पनि गरिरहेका छन् । तर बिडम्बना भन्नुपर्छ जसले जति सुकै प्रेमको वकालत गरे पनि यो संसारमा द्वन्द चलिरहेको थियो, चलिरहेको छ र सधैं चलिरहन्छ । त्यही धर्मको नाममा नै मानिसहरु एकापसमा लडिरहेका छन् ।
जसले जति सुकै प्रेमको वकालत गरे पनि यो संसारमा द्वन्द चलिरहेको थियो, चलिरहेको छ र सधैं चलिरहन्छ ।
अझ अचम्म के छ भने हरेक धर्मका अनुयायी आफ्नो भगवानलाई बचाउनका लागि आफ्नो ज्यान पनि फाल्न उद्दत छन् । जबकि सबै धर्मले आफ्नो आफ्नो भगवानसँग अलौकिक शक्ति रहेको र संसार उनैले सिर्जना गरेको कुरामा विश्वास पनि गर्छन् । आफ्नो धर्म र भगवान जोगाउन हामी मानिस मानवीय धर्म भुलिरहेका छौँ ।
‘कसैलाई समाजमा आफ्नो स्थान थाहा नहोस, आफ्नो वर्ग थाहा नहोस्, आफ्नो सामाजिक हैसियत थाहा नहोस्, प्राकृतिक सम्पत्ति, कला, गुण या सामथ्र्य सरहको वितरणमा आफ्नो भाग्य थाहा नहोस् । म अझै चाहन्छु कि कुनै पनि पार्टीलाइ आफ्नो हित या प्रबृत्ति पनि थाहा नहोस् । न्यायका सिद्दान्तहरु अज्ञानताको पर्दा पछाडि रहेर प्रतिपादन गरियोस् !’
जोन राअल (सन् १९२१–२००२) को न्यायका सिद्दान्त नामक पुस्तकका यी हरफ समकालीन राजनीतिक विचारधारामध्ये राजनीतिमा एक उच्च आदर्शको सुरुवात गर्न सामथ्र्य राख्ने एउटा वाद थियो । भौतिकवाद चरमोत्कर्षमा रहेको तत्कालीन समाज माक्र्सको साम्यवाद या स्मिथको पँुजीवादको द्वन्द्वमा यसरी अल्झियो कि अन्य विचारधाराहरु पूर्णतया ओझेलमै रहन पुगे । त्यसैमा कतै हराइरहेको यो राअलवाद राज्यको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न सक्ने सम्भावना बोकेको सिद्दान्त थियो, तर यसको बारेमा कतै धेरै चर्चा परिचर्चा भएन ।
विश्वले विगत ३ वर्षदेखि रुस युक्रेन युद्ध झेलिरहेको सन्दर्भमा इजरायल हमासको युद्ध हुँदै अहिले इजरायल इरानको युद्धले माहोल तातेको छ । इरान इजरायल युद्धको परिवेशमा हिजो भएको अमेरिकाको प्रत्यक्ष सहभागितासँगै अब कतै तेस्रो विश्वयुद्ध हुने हो कि भन्ने शंका उत्पन्न भएको छ । इरानलाई भविष्यमा पनि आणविक प्रशोधन गर्न नदिने उद्देश्यका साथ इजरायलको आक्रमणमा सहायता गर्ने निर्णयसँगै अमेरिकाले ३ इरानी आणविक भट्टीमा बर्साएको बमले अहिले विश्वभरी नै ठूलो कम्पन ल्याएको छ ।
कुनै पनि स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामा आक्रमण गर्नु भनेको संयुक्त राष्ट्रसंघको वडापत्र विपरीत हुने भए पनि अक्सर शक्तिशाली राष्ट्रहरुले बारम्बार त्यसको धज्जी उडाइरहेका छन् ।
युद्धले आफ्ना दुस्मनलाई मात्रै असर गर्दैन । यसले हाम्रो प्रकृतिको विनास सँगसँगै अन्य जीवजन्तुलाई पनि प्रत्यक्ष असर गरिरहेको हुन्छ । जसले गर्दा अन्ततोगत्व मानव प्रजातिलाई नै असर गर्छ । धेरै जसो प्राकृतिक विपदहरुको कारण हामी मानिस नै हौँ । दोस्रो विश्वयुद्धमा प्रयोग भएको आणविक हतियारका कारण जापानले भोगेको असर ८० वर्ष पुगिसक्दा पनि अझै मेटिन सकेको छैन, आणविक बिष्फोटबाट निस्केको विकिरणहरुको असर अझै पनि कति परिवारले भोगिरहेका छन् ।
अहिलेको परिवेशमा जोन लेननको त्यो गीत झनै सान्दर्भिक बनेको छ । यही कुरा हाम्रा धार्मिक ग्रन्थहरुले पनि सुझाएका छन् । यो संसारमा के तेरो, के मेरो हो र ? क्षणिक रुपमा आगमन, पुनरागमन हुने यो संसारमा हरेकको अस्तित्वको उद्देश्य छ र हरेकको अधिकार र भावना एकै हुन् । हामी आफैंले आफु आफूबीच विभाजन ल्याउन अनेक प्रपन्च रचिरहेका छौँ, हामी स्वार्थको बसमा बाँधिएका छौँ । गीतामा भनिएको छ–काम, क्रोध, लोभ मोह र अहंकार, यी पाँच भावना मानिसका परम शत्रु हुन् ।
हरेकको उद्देश्य यी मायाजालबाट आफूलाई टाढा राख्नु नै हुनुपर्छ । यसो गर्न सकेमा मात्रै मानव जातिले मोक्षको मार्ग पहिल्याउन सक्छ । यसले मात्रै जोन लेननले देखेको सपनालाई चरितार्थ बनाउन सक्छ । यो वास्तवमा हामी सबैको सपना पनि हो र हुनुपर्छ पनि । अबको विश्व परिवेशमा लेननको यो गीतसँगै जोन राअलको न्यायको सिद्दान्तको पुनरुत्थान मैले एकदमै जरुरी देखेको छु ।

डा सञ्जय कोइराला
नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया