सम्पादकीय—डेंगुको डर हटाऊ

समाधान संवाददाता २०८२ असार २४ गते १०:२३

साउनदेखि कात्तिकसम्म डेंगी संक्रमणको जोखिम उच्च हुन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ७३ जिल्लामा डेंगी संक्रमण फैलिइसकेको जनाउँदै यस वर्ष ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुनसक्ने चेतावनी दिएको छ । त्यसपूर्व नै संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि तीनै तहका सरकारले तयारी सुरु गरिसकेका छन् । गत वर्ष डेंगी संक्रमणको ‘हटस्पट’ बनेको गण्डकी प्रदेशको राजधानी पोखरामा पनि समुदाय स्तरमा सचेतना र अभिमुखीकरण थालिएका छन् ।

Advertisement

गत वर्ष पोखरा महानगरमा मात्र ८ हजार ६ सय जनामा डेंगी सङ्क्रमण भएको थियो । डेंगीबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो । भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा यहाँ ६ गुणाले सङ्क्रण बढेको थियो । डेंगी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान पुराना टायरभित्र जमेको सफा पानी हो ।


सफा र जमेको पानीमा यो लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । डेंगी संक्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्ने जस्ता लक्षण देखा पर्छन् । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्छ । वर्षा सुरु भएसँगै डेंगु, झाडा–पखाला, ज्वरो, टाइफाइडसहित सरुवा रोगहरू फैलिन्छन् । डेंगु संक्रमणको जोखिम पहिलेभन्दा गम्भीर ढंगले पहाडी र हिमाली क्षेत्रमा समेत पुगेको छ ।

Advertisement

२०७९ मा डेंगु ७७ वटै जिल्लामा फैलिएर झन्डै ५५ हजार संक्रमित बन्दा ८८ जनाको मृत्यु भएको थियो । तर त्यस बेलाको अनुभवबाट पाठ सिकेको पूर्वतयारी सबैतिर भएको देखिँदैन । यसपालि १७ भन्दा बढी पहाडी जिल्लामा पनि संक्रमण फैलिएको पुष्टि भइसकेको छ । फैलिरहेको संक्रमणले कुनै पनि समय काठमाडौं वा अन्य सहरमा महामारीको रूप लिन सक्ने विज्ञहरुको चेतावनी छ ।


स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन निर्देशन दिए पनि जनचेतना र निवारणका काम नगन्य देखिन्छ ।स्थानीय तहहरूले विगतमा लामखुट्टे खोजी तथा नष्ट गर्ने अभियान चलाए पनि अहिले यस्ता गतिविधि देखिँदैनन् । राज्यको निष्क्रियता, जनसाधारणको असावधानी र रोग नियन्त्रणको तयारी नहुँदा डेंगुले महामारीको रुप नलेला भन्न सकिन्न । विश्व स्वास्थ्य संगठनले यस वर्ष दक्षिण एसियामा लम्बिएको मनसुन र अत्यधिक गर्मीका कारण डेंगु लगायत कीटजन्य रोगको जोखिम उच्च रहेको जनाएको छ ।

Advertisement

ग्रामीण क्षेत्र र पहाडी जिल्ला अस्पतालमा परीक्षण उपकरणको अभाव, प्रशिक्षित जनशक्ति नहुनु र अस्पतालमै उपचार सम्भव नहुनुले धेरैको ज्यान जोखिममा पर्न सक्छ । डेंगु परीक्षण र उपचारको पहुँच सबै जिल्लामा विस्तार हुनुपर्छ । लामखुट्टे नष्ट गर्ने अभियान प्रभावकारी बनाउनुपर्छ । सम्भावित जोखिम क्षेत्रको पहिचान र पूर्वतयारी रणनीति बनाएर लागू नगरे फेरि अर्काे स्वास्थ्य संकटको सामना गर्नुको विकल्प हुने छैन ।

तपाईको प्रतिक्रिया