गुरु र गुरुपूर्णिमा

तोयनाथ लामिछाने २०८२ असार २६ गते १७:१०

१) गुरु शब्दको उत्पत्ति
अंग्रेजी नेपाली साझा संक्षिप्त शब्दकोश; २०५० मा ‘गुरु’ शब्द संस्कृतबाट उत्पन्न भएको भनेर बताइएको छ । त्यसैगरी यो शब्द संस्कृतका छुट्टाछुट्टै ‘गु’ र ‘रु’ गरी दुई पद मिलेर बनेको भनेर उल्लेख गरिएको छ (पृष्ठ २०७)। अंग्रेजी भाषाको शब्दकोश–न्यु वेब्स्टर्स डिक्सनरी अफ द इङ्लिस ल्याङ्ग्वेज; १९८९–मा पनि ‘गुरु’ शब्द संस्कृत भाषाबाट उत्पन्न भएको भनेर बताइएको छ (पृष्ठ ६७७)।

Advertisement


यसरी माथि उल्लिखित परिभाषा अनुसार ‘गुरु’ शब्द संस्कृत भाषाका दुई मूल शब्द ‘गु’ र ‘रु’ मिलेर बनेको र जसमा ‘गु’को मतलब अन्धकार वा अज्ञानता र ‘रु’को मतलब हटाउने व्यक्ति भन्ने बुझिन्छ ।


२) गुरु शब्दको अर्थ
नेपाली बृहत् शब्दकोशमा ‘गुरु’ शब्दको पहिलो अर्थ ‘कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति’ भनेर बताइएको छ । त्यसैगरी यसको दोस्रो अर्थमा ‘संगीतकला आदि सिकाउने व्यक्ति’; ‘गायत्री, वेद मन्त्र आदि दीक्षा दिने व्यक्ति’लाई लिइएको छ । त्यसैगरी यसको चौथो परिभाषामा ‘बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति, मान्य जन’ भनेर बताइएको छ ।

Advertisement

त्यसैगरी यो शब्दको पर्यायवाची शब्दको रूपमा ‘शिक्षक’ वा ‘अध्यापक’ भनेर पनि उल्लेख गरिएको छ (पृष्ठ ३२८) । अर्को शब्दमा भन्नुपर्दा गुरुले आफूसँग भएको ज्ञान वा सीप कुनै व्यक्ति वा समाजलाई प्रदान गरी ती व्यक्ति वा समाजलाई सही मार्गदर्शन गर्दछन्, जसका कारणले उनी आफ्नो समाजमा आदरणीय र सम्मानित हुन्छन् भन्न सकिन्छ ।


यसरी विश्लेषण गर्दा गुरुमा कुनै पनि व्यक्ति वा समाजको विद्यमान अन्धकार वा अज्ञानतालाई हटाई व्यक्ति वा समाजलाई उज्यालो दिशातिर उन्मुख गराउन सक्ने क्षमता रहेको हुन्छ भन्न सकिन्छ । हाम्रो समाजमा सनातन कालदेखि गायत्री मन्त्र वा वेद मन्त्र प्रदान गर्ने व्यक्तिलाई गुरु भन्ने चलन कायमै छ । अहिले समाजको परिवर्तित परम्परा अनुसार कुनै पनि विद्यालय वा महाविद्यालयहरूका कक्षाकोठामा औपचारिक रूपले अध्यापन वा प्राध्यापन गर्ने व्यक्तिलाई पनि गुरु भनिएको छ ।

Advertisement

त्यसैगरी विद्यामा मात्र नभएर बुद्धिमा वा बलमा श्रेष्ठता हासिल गरेको व्यक्तिलाई समेत गुरु भनिएको छ भने उमेरमा आफूभन्दा ज्येष्ठ व्यक्तिलाई समेत सम्मानस्वरूप गुरु मानिएको छ । आधुनिक मानव सभ्यताका कारणले विज्ञान र प्रविधिमा आएको रूपान्तरणको कामका लागि सीप सिकाइको काम गर्ने व्यक्तिलाई पनि गुरु भनिन्छ । उदाहरणका लागि वाहनका मुख्य चालकलाई सहचालकले ‘गुरुजी’ भनेर सम्बोधन गरेको हामीले सुन्दै आएका छौँ ।


‘गुरु’ शब्दले खास गरेर हिन्दू धर्म र बुद्धधर्ममा सामान्यतया आध्यात्मिक शिक्षक अथवा मार्गदर्शक भन्ने जनाउँछ । यसलाई व्यापक अर्थका हिसाबले कुनै पनि खास विषय वा क्षेत्रको विज्ञ वा नेता भनेर गुगल डट कममा बताइएको छ ।

हाम्रो समाजमा सनातन कालदेखि गायत्री मन्त्र वा वेद मन्त्र प्रदान गर्ने व्यक्तिलाई गुरु भन्ने चलन छ ।


३) गुरुका किसिम
आध्यात्मिक परम्परामा, विशेष गरेर हिन्दू धर्म र सिख धर्मभित्र, कामका आधारमा तीन किसिमका गुरु मानिएको छ, शिक्षा दिने शिक्षा गुरु, मन्त्रदान गर्ने दीक्षा गुरु र जसले आध्यात्मिक अनुभूतिको मूर्तरूप दिन सक्छन् त्यस्ता सद्गुरु वा ब्रह्मनिष्ठ गुरु । यी माथिका किसिमबाहेक भूमिका र कामका आधारमा अरू धेरै किसिमका गुरु बताइएको छ, जस्तैः–वाचक गुरु, सूचक गुरु, कारक गुरु, आदि ।


धार्मिक ग्रन्थहरूमा उल्लेख गरिए अनुसार बृहस्पतिलाई देवताका गुरु र शुक्राचार्यलाई दानवका गुरु बताइएको छ । हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएअनुसार सप्तर्षिहरू अत्रि, भारद्वाज, गौतम महर्षि, जमदग्नि, कश्यप, वशिष्ठ, र विश्वामित्र आदि विभिन्न ऋषिहरूलाई पनि गुरु मानिएको छ ।


४) गुरुपूर्णिमाको अर्थ
नेपाली बृहत् शब्दकोशमा गुरुपूर्णिमा भनेको ‘गुरुको विशेष रूपमा पूजा गरिने वा त्यस्तो पूजाको माहात्म्य भएको आषाढ शुक्ल पूर्णिमाको दिन’ हो भनिएको छ । त्यसैगरी गुरुपूर्णिमालाई ‘व्यासपूर्णिमा’ भनेर पनि बताइएको छ (पृष्ठ ३२९)। यसै दिन वेदका अध्येता व्यासको जन्म भएकाले उनको सम्मानस्वरूप आजको दिनलाई व्यासपूर्णिमा भनिएको हो भन्न सकिन्छ ।


५) गुरुपूर्णिमा मनाउने चलन
औपचारिक रूपमा गुरुपूर्णिमा मनाउने चलन कहिलेदेखि चलिआएको हो भन्ने खास उल्लेख छैन । म गाउँघरतिर रहँदा गुरुपूर्णिमा मनाउने गरेको चलन भएजस्तो लाग्दैन । बजारतिर झरेपछि पनि मैले सुरु–सुरुका दिनहरूमा गुरुपूर्णिमा मनाउने चलन त्यति साह्रै थिएन । पछिल्ला दिनमा भने यो चलन मौलाउँदै गएको देखिन्छ । खासगरी दीक्षामन्त्र दान गर्ने गुरुलाई भेटेर आशीर्वाद लिने गरेको पाइन्छ ।


‘नेपाल निवृत्त शिक्षक समाज, काठमाडौँ’ नामको संस्था मिति २०५७ सालको आषाढ महिनाको २६ गते ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विधिवत् रूपमा दर्ता भएको कुरा यस संस्थाको अभिलेखमा उल्लेख गरिएको पाइन्छ । यस संस्थाको स्थापना दिनको सन्दर्भलाई पनि जोड्ने गरी वि.सं. २०७६ सालदेखि यस संस्थाको केन्द्रीय समितिको बैठकले सो स्थापना दिवसको साथसाथै हरेक वर्षको आषाढ महिनामा पर्ने गुरुपूर्णिमाको दिनलाई संस्थागत किसिमले गुरुपूर्णिमा दिवसको रूपमा मनाउन निर्णय गरेको हो ।


सोही औपचारिक निर्णयपछिका दिनहरूमा यस संस्थाको केन्द्रीय तहका साथै विभिन्न जिल्लालाई पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर यस दिनलाई गुरुपूर्णिमा दिवस मनाउन निर्देशन गरेको छ । सोही प्रचलन बमोजिम यस वर्षको गुरुपूर्णिमा आज यही आषाढ २६ गतेका दिन पर्न गएकाले आज हामीहरू विभिन्न कार्यक्रमका साथै आफूभन्दा ज्येष्ठ गुरुहरूलाई सम्मान गरेर गुरुपूर्णिमाको दिनलाई एउटा पर्वको रूपमा मनाउन लागिरहेका छौँ ।


यसभन्दा पहिला कुनै कुनै संघ, संस्थाले गुरुपूर्णिमाभन्दा पनि हाम्रो महान् धार्मिक ग्रन्थ महाभारतका रचयिता साथै पवित्र ग्रन्थ वेदका संकलक अथवा ग्रन्थकार वेदव्यासको र आदिकवि भानुभक्तको जन्मदिनको सम्झनामा भानुजयन्ती र व्यास जयन्तीका रूपमा मनाउँदै आएको पनि पाइन्छ । विकिपिडियाले दिएको परिभाषाअनुसार–गुरुपूर्णिमा भनेको आध्यात्मिक र शैक्षिक गुरुप्रति सम्मान प्रकट गर्ने एउटा धार्मिक पर्व हो र यसलाई नेपाल, भारत र भुटानमा हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरूले एउटा पर्वको रूपमा मनाउँछन् भनेर भनिएको छ ।


६) गुरुपूर्णिमा पर्वको महत्व
गुरुपूर्णिमाको दिनको सबैभन्दा महत्वपूर्ण सार भनेको आफ्ना शिक्षकहरू जसले हामीलाई ज्ञान र बुद्धि प्रदान गर्नुभयो, उहाँहरूप्रति सम्मान प्रकट गर्नु हो । त्यसैगरी आजको दिनको अर्को महत्व भनेको आफ्नो आध्यात्मिक प्रगतिका निम्ति गुरुसँग आशीर्वाद माग्नु हो ।


आजको दिनको महत्व भनेको शिक्षकहरूले सिकाइको भूमिकालाई स्वीकार गरी आफ्ना शैक्षिक उन्नयनका निम्ति खोज तथा अनुसन्धानमा आफूलाई जीवनपर्यन्त समर्पण गर्नु हो । विकिपिडियाले यस दिनलाई संस्कारहरू अवलम्बन गरेर, प्रार्थना गरेर र ज्ञान र आशीर्वाद साटासाट गरेर मनाइन्छ भनेर बताएको छ ।


आजको दिनलाई आफ्ना केही परम्परागत रीतिरिवाज अवलम्बन गरेर वा प्रार्थना गरेर वा भजन वा स्तोत्र आदिको वाचन गरेर वा एक–आपसमा आ–आफ्ना ज्ञानको बँटवारा गरेर पनि मनाइने रहेछ भन्ने कुरा माथिको वाक्यले हामीलाई जानकारी दिएको छ । त्यसैले कसैले कविता वाचन गरेर पनि आजको दिनलाई रमाइलो पार्न सकिन्छ भन्ने कुराको हेक्का राख्न पनि उत्तिकै जरूरी छ ।


७) गुरुप्रति सम्मान बोध
गुरु शब्दको विपरीतार्थक शब्दको रूपमा शिष्य वा चेला भनिन्छ । त्यसैले शिष्य वा चेलाले गुरुप्रति श्रद्धाभाव प्रकट गर्नु उसको परम कर्तव्य हो । साथै हामीले हाम्रा परम्परा भावी सन्ततिलाई हस्तान्तरण गर्नका निम्ति पनि यस कार्यले धेरथोर सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । यस सन्दर्भमा म यहाँ गुरुप्रति सम्मान प्रकट गरिएको एउटा कविताका केही पङ्क्ति उल्लेख गर्ने अनुमति माग्दछु । जुन यस प्रकार छन्ः


जसले यो विशाल तमको पर्दा निकालिदियो ।
यस्ता ज्ञान–प्रभा क्षितीश गुरुको पूजा सधैँ गर्छु यो ।।२।।
जसले व्यास, वसिष्ठ भई मनुजको आँखा उघारिदियो ।
यस्ता मुक्ति–प्रभा क्षितीश गुरुको पूजा सधैँ गर्छु यो ।।४।। (सागर महासरस्वती; गुरु–पूजा; २०६५; पृष्ठ ५)
माथि उल्लिखित ‘गुरु–पूजा’ नामक ग्रन्थको ‘गुरुको गाथा गाउँछु’ भन्ने शीर्षकका केही पङ्क्ति पनि म यहाँ प्रस्तुत गर्दछु । जुन यस प्रकार रहेका छन्ः
जसले लेख भन्यो र पुस्तक बन्यो, जसले सिकाइदियो ।
जसले टेक भन्यो र मार्ग सजिलो, जसले बनाइदियो ।।
मनको वृत्ति भनेर यो जगत् नै जसले पचाइदियो
गाथा गाउँछु है सधैँ म गुरुको जसले बचाइदियो ।।२।। (उही; पृष्ठ ६१)


८) वेदव्यास जन्म जयन्ती
आजको यस गुरुपूर्णिमाको पावन दिन हाम्रो पवित्र धार्मिक ग्रन्थ वेदका रचयिता महर्षि वेदव्यासको जन्मजयन्तीको पनि शुभ अवसर भएकाले म यहाँ वेदव्यासप्रति समर्पण गरिएको ‘वेदव्यास–वन्दना’ शीर्षक कविताको एउटा श्लोक उल्लेख गर्दछु ।
जसको शास्त्र पढेर मानिस खुबै विद्वान् भई हाल्दछ ।
जसको मूर्ति नजिकमा बसिदिए अज्ञान गई हाल्दछ ।।
जसको वाक्य सुनेर यो हृदयको पर्दा छिट्टै खुल्दछ ।
यस्ता व्यास महर्षिका चरणमा हाम्रो सदा भक्ति छ ।।१।।
(उही; पृष्ठ ८८)


९) अन्त्यमा
त्यसैगरी गुरुप्रति श्रद्धाभाव अर्पण गर्ने हाम्रो चलनचल्तीमा रहेको संस्कृत भाषाको एउटा श्लोक पनि म उल्लेख गर्दछुः
त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव ।
त्वमेव विद्या द्रविणं त्वमेव, त्वमेव सर्वं मम देवदेव ।

तपाईको प्रतिक्रिया