भवसागर पार गराउने गुरु

विश्वराज अधिकारी २०८२ असार २६ गते १७:५४

गुरुको अर्थ ‘गु’ अन्धकार र ‘रु’ नाश गर्ने अर्थात् अन्धकारबाट चेतनाको ज्योति बालेर उज्यालो प्रकाश छर्नेवाला नै गुरु हुनुहुन्छ । गुरुतत्त्व यस्तो शक्ति हो जसलाई प्रत्यक्ष नांगो आँखाले देख्न सकिँदैन, तर प्रत्यक्ष महसुस गर्न सकिन्छ । यसले मानिसको आन्तरिक चेतना जागृत गराउँछ । आज संसारमा जति पनि सफल मानिसहरू हुनुहुन्छ, सबै असल गुरुकै देन हो । हाम्रा पहिला गुरु मातापिता नै हुनुहुन्छ । बच्चाले जन्मपछि प्रत्यक्ष मातापिताकै सामिप्यतामा हरेक कुरा सिक्ने अवसर प्राप्त गर्दछ ।

Advertisement


गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः । ।


अर्थात्, गुरु नै ब्रह्मा (सृष्टिकर्ता) हुनुहुन्छ, जसले मानिसको मानसपटलमा नयाँ–नयाँ कुरा, विचारको सिर्जना गरिदिनुहुन्छ । गुरु नै विष्णु हुनुहुन्छ, जसले यस्तै उच्च विचारको संरक्षण गरिरहनुहुन्छ । अनि गुरु नै महेश्वर हुनुहुन्छ, जसले मानवभित्रको कुविचार, रिस, राग, लोभ, मोह, क्रोध हटाएर शान्त र उच्चकोटिको जीवनयापनमा मार्गदर्शन गर्नुहुन्छ । जसरी एकजना कुमालले काँचो माटोलाई ल्याएर पानीमा मुछी–पिटेर अत्यन्त नरम र चाम्रो बनाई आफ्नो चक्रमा राखेर घुमाई–घुमाई कति सुन्दर भाँडा बनाउँछ, त्यसरी नै गुरुको अथक मेहनत र परिश्रमले मानिस असल, सच्चरित्रवान् बन्छ ।

Advertisement

गुरु कुनै व्यक्ति होइन, यो त एक तत्व हो, शक्ति हो, एक भाव हो । गुरु श्रद्धा हो, तपाईंको गुरु तपाईंको परिचय हो । गुरु प्रार्थना, समर्पण अनि भाग्यले मिल्दछ र भाग्य गुरुबाट मिल्दछ । गुरुबाट नै सम्पूर्ण भय नाश हुन्छ, गुरुरूपी डुंगाले भवसागर पार गराउँछ । गुरुबाट नै राजनीतिक, सामाजिक, नैतिक अनि आध्यात्मिक शिक्षा मिल्दछ, जसले समाज रूपान्तरण गर्दछ ।

गुरुको अथक मेहनत र परिश्रमले मानिस असल, सच्चरित्रवान् बन्छ ।

Advertisement


गुरुपूर्णिमाको चलन कहिले र कसले चलायो भन्ने सन्दर्भमा, महाभारत कथालाई लिपिबद्ध गर्ने, उपनिषद्का रचनाकार, चार वेदलाई जनजनमा पु¥याउने संसारकै प्रथम गुरु महर्षि वेदव्यासको जन्म यही आषाढ पूर्णिमाको दिन भएको थियो । उनै ऋषिका चेलाहरूले आफ्नो गुरुको जन्मदिनलाई उत्सवका रूपमा मनाउन थालेपछि आषाढ पूर्णिमालाई गुरुपूर्णिमाका रूपमा मनाउन थालियो । गुरुविना ज्ञान सम्भव छैन भन्ने सन्दर्भमा भगवान् श्रीरामका गुरु वशिष्ठ हुनुहुन्थ्यो, त्यस्तै सर्वज्ञानी हुँदाहुँदै पनि भगवान् श्रीकृष्णले सान्दीपनि ऋषिको आश्रममा रहेर गुरु र गुरुमाताको सेवा गर्नुभएको थियो ।

आधुनिक समयमा पनि हरेक धर्म र सम्प्रदायमा आ–आफ्नै ढङ्गले गुरु मान्ने परम्परा छ । जस्तैः जिसस क्राइस्ट, पैगम्बर हजरत मोहम्मद, गुरु नानक, ओशो आदि । यसबाट यो पुष्टि हुन्छ कि जुनसुकै धर्म वा सम्प्रदायमा पनि गुरुको स्थान सधैँ उच्च रहन्छ । वर्तमान समयमा गुरुको नाममा केही गलत व्यक्तिले गुरुलाई बदनाम गरिरहेका छन्, तर सच्चा गुरुको स्थान सधैँ उच्च रहनेछ । भनिन्छ, कलियुगमा देवता विभिन्न रूपमा सहयोग गर्न आउनुहुन्छ ।


(लेखकः विगत ११ वर्ष जापानमा योग प्रशिक्षकका रूपमा कार्यरत रही हाल पोखरा–२६ मा नियमित योग प्रशिक्षण गराइरहेका छन् ।)

तपाईको प्रतिक्रिया