लोप हुँदै लुतो फाल्ने संस्कृति

सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउन सङ्क्रान्ति वा साउने सङ्क्रान्ति भन्ने चलन छ । कहीँकतै यसलाई राँके सङ्क्रान्ति पनि भन्दा रहेछन् । यो दिन श्रावण महिनाको पहिलो दिन हो, जुन हिन्दु संस्कृतिमा शुभ मानिन्छ । हिन्दुहरूले यस दिनलाई ‘लुतो फाल्ने’ दिन पनि भन्छन् । तसर्थ, साउन सङ्क्रान्ति सामाजिक, सांस्कृतिक महत्त्वसँग जोडिएको पर्व हो । यस दिन औषधि, पहेँलो माटो र जडिबुटी शरीरमा लगाई (दलेर) नुहाएर लुतो फाल्ने गर्छन् । यो महिना नेपाली पात्रोअनुसार श्रावण सौरमास पद्धतिको चौथो महिना हो । यस दिनबाट सूर्यनारायण दक्षिणायनतर्फ लाग्दछन् र पृथ्वीको उत्तरी गोलार्धमा वर्षा ऋतु प्रारम्भ हुन्छ ।
सूर्यनारायणले दक्षिणको बाटो समाएपछि पृथ्वीको उत्तरी गोलार्धमा क्रमशः दिन छोटा र रात लामा हुँदै जाने प्रक्रिया सुरु हुन्छ र क्रमशः जाडो मौसमतिर प्रवेश गर्दछ । यसको ठीकविपरीत पृथ्वीको दक्षिण गोलार्धमा दिन लामा र रात छोटा हुन थाल्दछन् र क्रमशः गर्मी मौसम सुरु हुन थाल्छ । हिन्दु धर्मावलम्बीहरूमा सूर्य दक्षिणायन लागेपछि पितृहरूको समय सुरु हुन्छ र पितृहरू बसेको स्थानमा उज्यालो पुग्दछ भन्ने विश्वास छ । शास्त्रीय मान्यताअनुसार मृत्युका देवता दक्षिण दिशाका स्वामी हुन् । तसर्थ, मृत्युपश्चात् पहिलो गन्तव्य दक्षिण दिशालाई मानिएको हो ।
सामान्यतः श्रावण महिना वर्षा, हिलोमैलो, फोहोर पानी र खेतीपातिसँग जोडिएको महिना हो । साउन एक गतेदेखि ग्रीष्म ऋतु अन्त्य भई वर्षा ऋतु प्रारम्भ हुन्छ । साउन सङ्क्रान्ति आसपासको समय वा असार महिनाभरि खेतीपातिका क्रममा हिलो वा फोहोर पानीको कारणले मानिसको छालामा सङ्क्रमण भई लुतो, घाउखटिरा, दाद, घमौरा, बिबिरा लगायतका चर्मरोगले छाला चिलाउने, पाक्ने जस्ता समस्या आउन सक्दछ ।
प्राचीनकालदेखि यस दिन विशेष सावधानी अपनाउँदै आएको तथ्य शास्त्रहरूमा वर्णित ’कन्दारक’ राक्षसको पूजा गरी मन्साउने प्रसङ्गले पुष्टि गर्दछ । संस्कृतिमा ’कान्दु’को अर्थ चिलाउनु हो । साउन सङ्क्रान्तिका दिन यस रोगका राक्षस कन्दारकलाई विधिवत् रूपमा पूजा गरी मन्साएर भगाई लुतो फाल्नुपर्ने विधान धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । तसर्थ, साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने चलन चलिआएको हो ।
साउन सङ्क्रान्तिको दिन सूर्यास्त भएपछि दीप, कलश, गणेशको पूजनका साथै विभिन्न पूजाका सामग्रीहरू; कागभलायो, कुकुरडाइनो, लुतेझार, तिउरी, पाते, देविसरो, सिउँडी, जरैसहितको पानीअमला, सिस्नो, कागती, निबुवा, अम्बा, नासपाती, शिरुघाँस, दुबो, पानीसरो र पातिको सुकेका सिन्का (डाँठ) लगायतका सामग्रीहरू जुटाई तुलसीको मोठमा चोखो पानी, गाई÷गोरुको गोबर र रातो माटोले लिपी सोही स्थानमा पूजा सामग्रीहरू राखेर ’कन्दारक राक्षस’ को पूजा गरी मन्सिने चलन छ । पातिको सुकेका डाँठ पोल्दा ठूलै आगोको राँको बल्छ । त्यसैले यसलाई राँके सङ्क्रान्ति पनि भनिएको हुन सक्छ ।
कन्दारकको पूजा गर्दा ढिकी कुट्ने र एकैछिन ढोका बन्द गर्ने चलन पनि थियो । तर शंखघण्ट बजाउने र नाङ्लो ठटाउने प्रचलन यद्यपि छँदैछ । पूजा सामग्रीको रूपमा धेरै किसिमका वनस्पतिहरू संकलन गर्नुपर्ने मूल कारण उक्त वनस्पतिबाट प्राप्त हुने वासना, सुगन्ध वा सो जडिबुटीहरूको उपयोगले छाला सम्बन्धीका चर्मरोग निदान हुने वैज्ञानिक कारण हुनसक्छ भने अर्कोतर्फ जैविक विविधता, पर्यावरण र घरमा पालेका पशुहरूलाई घाँसपात र मानिसहरूलाई फलफूल उपयोग गर्न वनस्पतिहरू संरक्षण गर्ने ध्येय पनि हुन सक्दछ ।
यस दिनमा परिवारका सबै सदस्यले बलेको अगुल्टोमा लुतो विसर्जन गरी मेरो लुतो लैजा उइइइइई…..भनी आँगनको डिलबाट पूर्वपट्टिको खेतबारीमा आगोको अगुल्टो फाल्ने गर्दछन् । कहीँकतै त आगोको अगुल्टो फाल्दा छिमेकी अर्को गाउँको नाम लिएर मेरो लुतो फलानो गाउँमा लैजा उइइइइई…..भनेर फाल्ने चलन पनि रहेछ । तर यो विधि राम्रो देखिएन । यस किसिमबाट लुतो फाल्नाले छालाका विभिन्न रोगबाट मुक्ति मिल्ने शास्त्रीय जनविश्वास रहेको छ । सुकेलुतो औधी चिलाउँछ । धेरै चिलाउने भएकोले पीडा भएर होला मानिसहरू ‘लाहुरे दाइको क्या राम्रो पैरन, सुके लुतो कन्याउँदै हैरान’ भनी गीत गाउँदै लुतो कन्याएको सम्झना आउँछ । बाल्यकालीन अवस्थामा यस किसिमको परम्पराबाट लुतो फालेका दिनहरू सम्झँदा अहिले पनि रमाइलो लाग्छ । लुतो विसर्जन गर्दा तलको मन्त्र उच्चारण गर्नुपर्ने शास्त्रीय निर्देशन छ ।
कन्दारक सुराधीश गृहाण दीपमुत्तमम् ।
सरलेन्धन सम्भूतं ममारिष्टं विनाशय ।।
कन्दारक रात्रिचर लूतादिभयनाशन ।
उल्कामिमाँ प्रक्षिपामि मास्तुलूता भयं मम ।।
थारु समुदायमा यस दिन ’गुरियापर्व’ मनाउने चलन छ । थारु समुदायले गाउँघरमा रहेको रोगव्याधि हटाउन र टोल छिमेकलाई रोगमुक्त राख्नका लागि रोगव्याधिको प्रतीक ’गरही पुतल’ बनाई गाउँको दक्षिण दिशामा लगेर सेलाउने गर्दछन् । यसरी सेलाएको गरहीलाई चुरकी र केराको डाँठले कोर्रा लगाएपछि गाउँबस्तीको रोगव्याधि हट्ने जनविश्वास रहेको पाइन्छ । नेपाली समुदायमा यस दिनपछि क्रमशः चाडपर्वहरू सुरु हुन थाल्छन् ।
मानव उन्नति र अस्तित्वका लागि सामाजिक पुँजी अपरिहार्य छ । भौतिक तथा मानवीय पुँजीलाई सामाजिक पुँजीले निर्देशित गरिरहेको हुन्छ ।
श्रावण महिनामा हिन्दु नारीहरूले भगवान् शिवको पूजा–आराधना गर्ने विधान रहेको छ । सत्य युगमा अमृतको खोजीमा देवता र दानव मिलेर समुद्र मन्थन गरी समुद्रबाट अनेक निधिहरू निकाल्ने काम गरे । यही क्रममा समुद्रबाट ’कालकूट’ नामक विष हलाहल उत्पत्ति भयो । संसार विषमय हुने भयावह स्थिति बन्यो । पृथ्वीमा सम्पूर्ण प्राणी जगत्को रक्षा गर्नको लागि भगवान् शिवजीले त्यस विषलाई पान गरी कण्ठमा धारण गर्नुभयो । त्यसैले शिवजीको कण्ठ निलो भएको हो भन्ने पौराणिक भनाइ छ ।
यही बखतमा विषको डाह मेट्न भगवान् शिवजी अत्तालिँदै हिमालय पर्वतमा गई गोसाइँकुण्डको उत्पत्ति गरी त्यहीँ कुण्डमा स्नान गरेर विषको डाह शान्त पार्नुभएको हो भन्ने पौराणिक कथन छ । तसर्थ, श्रावण महिनाभरि भगवान् शिवजीलाई जल चढाई पूजा–आराधना गर्ने चलन चलिआएको हो भन्ने मान्यता छ । यही धार्मिक जनविश्वासले गर्दा गोसाइँकुण्ड एक पवित्र धार्मिक एवं पर्यटकीय स्थलको रूपमा विकास हुन पुग्यो ।
श्रावण महिनामा प्रकृतिस्वरूपा पार्वतीले हरियो रूप धारण गर्ने भएकाले पुरुषरूपी शिवजीको प्रसन्नताका लागि महिलाहरूले हरियो वस्त्र, हरियो चुरा र हरियो पोते आदि धारण गरी प्रत्येक सोमबार शिवजीलाई गङ्गाको जल चढाई पूजा–आराधना गर्ने चलन छ । आजभोलि श्रावण महिनामा हिन्दु नारीहरूले शुभ मानिने हरियो पोते, हरियो चुरा र हरियो वस्त्र लगाउने प्रचलन अत्यधिक रूपमा बढेको छ । तसर्थ, श्रावण महिनालाई हरियो महिना पनि भनिन्छ । साउन महिनालाई हिन्दु धर्मावलम्बीहरूले पवित्र महिनाको रूपमा मान्दछन् र नियमित रूपमा स्नान गरी शुद्ध भई शिवजीको मन्दिरमा दर्शन गर्न जान्छन् । यस दिन स्नान गरी दान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ ।
यो महिनामा माछामासु, लसुन–प्याज जस्ता तामसी भोजन नगर्ने चलन पनि बढेको छ । श्रावण महिनाभरि आफ्ना इन्द्रियहरूलाई नियन्त्रणमा राखी ब्रह्मचर्य पालन गर्दै सोमबार व्रत बसी शिवजीलाई गङ्गाजलले स्नान गराई दूध, बेल, पुष्प, धतुरो आदि शिवजीका प्रिय वस्तु चढाएर पूजा–आराधना गर्नाले मानिसमा रहेका काम, क्रोध, मोह, लोभ, भय आदि समाप्त भई निष्पाप भइने शास्त्रमा उल्लेख गरेको पाइन्छ । सम्पूर्ण ब्रह्मचारी, गृहस्थ, कन्या, साधवा अथवा विधवा नारी सबैले यस महिनामा शिवजीको शास्त्रोक्त विधिले शिवमन्त्र पाठ गरी पूजा–आराधना गर्नाले यस संसारमा इच्छाएको वस्तु प्राप्त गर्न सकिने धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ ।
यस दिन काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठूलो भीड लाग्दछ । भारतमा साउन महिनाभरि गङ्गा स्नान गरी ’बोलबम’ भन्दै पहेँलो वस्त्र लगाएर शिवजीको रूप धारण गरी खाली खुट्टाले हिँडी भजनकीर्तन गर्दै मठ–मन्दिरमा गई पूजापाठ र शिवको आराधना गर्छन् । आजभोलि यो चलन नेपालमा पनि व्यापक रूपमा विस्तार हुँदै गएको छ । यो संस्कृति प्रसारणको उपयुक्त उदाहरण हो ।
श्रावण महिनामा जसले विधि पुर्याएर स–भक्तिसाथ भगवान् शिवजीलाई प्रसन्न तुल्याउन सक्छ उसले सम्पूर्ण पापबाट मुक्ति पाउँछ भन्ने मान्यता छ । आशुतोष भगवान् शिवजीका कृपाले धर्म, धन, मान, विद्या, श्रीसम्पत्ति, असल वर वा कन्या, पद, प्रतिष्ठादेखि राज्यसम्मका सम्पूर्ण कामना प्राप्त गर्न सक्दछ भनी शास्त्रमा बताइएको छ । हिन्दु धर्मावलम्बीहरूमा यो बलियो जनविश्वास रहिआएको छ । यो महिनामा पार्वतीले सोमबार विधिपूर्वक व्रत बसी भगवान् शंकरलाई वर प्राप्त गरेकी थिइन् भन्ने किंवदन्ती छ । तसर्थ, साउन महिनाको सोमबार व्रत बसी भगवान् शिवको आराधना र पूजापाठ गरेमा इच्छाएको व्यक्तिसँग विवाह हुनेछ भन्ने विश्वास छ ।
विगतका दिनहरूमा जस्तै लुतो फाल्ने पूजाका सामग्रीहरू जुटाएर ‘कन्दारक राक्षसको’ पूजा गरी मन्साई लुतो फाल्ने परम्परा आजभोलि भने क्रमिक रूपमा लोप हुँदै गएको छ । तर यस दिन पर्व मनाउनको लागि विभिन्न किसिमका मिष्ठान्न परिकारहरू बनाएर खाने चलन भने बढेको छ । साउन सङ्क्रान्तिमा परम्परागतदेखि खाने चलनका मिष्ठान्न परिकारहरू विस्थापित भई नयाँ–नयाँ परिकारहरू खाने चलन चलेको छ । तसर्थ, वर्तमान अवस्थामा चाडपर्व मनाउने विधि, शैली र चलनमा पनि क्रमिक रूपमा परिवर्तन हुँदै गएको देखिन्छ । आजभोलि साउन सङ्क्रान्तिमा मासको पिठोको फुरौला बनाएर खाने चलन लोप हुन थालिसकेको छ । यो संस्कृति परिवर्तनको स्वरूप हो ।
समाजशास्त्रीय दृष्टिकोणमा पुरानो संस्कृति क्रमिक रूपमा परिवर्तन हुन्छ र नयाँ संस्कृति निर्माण हुन्छ । यो समाज विकासको नियमित प्रक्रिया हो, यसलाई रोक्न सकिँदैन । एक ठाउँको संस्कृतिले अर्को ठाउँको संस्कृतिलाई प्रभाव पारी नयाँ संस्कृतिको सुरुवात हुन्छ । यसलाई संस्कृति प्रसारवाद भनिन्छ । हाम्रो समाजमा कतिपय यस्ता बलिया, तथ्यपरक र वैज्ञानिक संस्कृतिहरू छन्, तिनको जगेर्ना गर्नु अहिलेको आवश्यकता हो ।
अवैज्ञानिक, केवल आस्था, विश्वास र कपोलकल्पित आधारमा स्थापित हुँदै आएका रुढिवादी, परम्परागत र भ्रमपूर्ण संस्कृतिहरू परिवर्तन गर्दै नयाँ, वैज्ञानिक र तथ्यपरक संस्कृतिको विकास र संस्थागत गर्नुपर्दछ । त्यस किसिमका संस्कृतिहरू सामाजिक पुँजीको रूपमा स्थापित गरी सोको संस्थागत गर्न सकेमा मात्र समाज सशक्त र सबल हुन्छ ।
हाम्रो समाजमा सदियौंकालदेखि स्थापित हुँदै आएका चाडपर्व, रीतिरिवाज, धार्मिक मूल्य, मान्यता, संस्कृति र सामाजिक पुँजीको संरक्षण गर्नु आजको मुख्य आवश्यकता हो । संस्कृति एउटा धार्मिक कानुन हो, जसले समाजलाई संगठित गरेको हुन्छ र मानिसलाई सत्कर्मतर्फ उद्यत गर्दछ । आजका नयाँ पुस्तालाई साउने सङ्क्रान्तिमा लुतो फाल्ने चलन, परम्परा, विधि र प्रक्रियाका बारेमा सुनाउँदा नौलो लाग्छ ।
साउन सङ्क्रान्ति सामाजिक, सांस्कृतिक तथा जैविक विविधतासँग जोडिएको हुँदा यसको महत्त्व तथा धार्मिक जनविश्वासको बारेमा नयाँ पुस्तालाई ज्ञान दिनु आवश्यक छ । तब मात्र हाम्रा पुराना धार्मिक तथा सामाजिक संस्कृति, मूल्य–मान्यता, चालचलन, रीतिरिवाज र परम्परालाई संरक्षण गर्दै सशक्त र वैज्ञानिक सामाजिक पुँजीको निर्माण तथा सोको संस्थागत गर्न सकिन्छ । सामाजिक पुँजीले मानव जीवनलाई गतिशील बनाउँछ । सामाजिक पुँजीविना समाज अपूर्ण, अपांग र निष्क्रिय बन्छ ।
सामाजिक पुँजीको अभावमा समाजको गति अगाडि बढ्न सक्दैन र समाजमा व्यथिति सिर्जना हुन्छ । तसर्थ, गतिशील र अपनत्वमुखी समाज निर्माणको लागि सामाजिक पुँजी अपरिहार्य छ । मानव सभ्यताको विकास क्रमसँगै सामाजिक पुँजीको निर्माण र विकास सोहीअनुरूप अगाडि बढेको हुन्छ । ढुंगे युगमा सोही खालको सामाजिक पुँजीको विकास भएको थियो । कृषि युग र आजको औद्योगिक युगमा सोही किसिमका संस्कृतिहरू विकास भएका छन् ।
समाजमा स्थापित भएका सशक्त, सुसंस्कृत र वैज्ञानिक तथ्यपरक सामाजिक पुँजी लोप हुन दिनु हुँदैन । त्यसको संरक्षण गर्नुपर्दछ । आफ्नो मौलिक धर्म, संस्कृति राष्ट्रको लागि बलियो गहना र सम्पत्ति हुन् । यस किसिमका संस्कृतिहरूको संरक्षण तथा जगेर्ना गरी नयाँ पुस्तालाई क्रमिक रूपमा हस्तान्तरण गर्दै जानुपर्ने अग्रजहरूको दायित्व हो । यो मानव सभ्यता विकासको अकाट्य र नियमित प्रक्रिया हो ।
बच्चालाई जे सिकायो–त्यही सिक्छ, जस्तो वातावरण दिइयो–त्यस्तै बन्छ । हुन त, नयाँ पुस्ताले पनि यस विषयमा स्वयं चासो राख्नुपर्दछ । तत् सम्बन्धी नयाँ सोधखोज, अनुसन्धान गर्ने, पुराना संस्कृति र परम्परा कति वैज्ञानिक, व्यावहारिक र तथ्यपरक छन् सोको विश्लेषण गर्न सक्ने जिज्ञासु बन्नुपर्दछ । लोप हुँदै गएका वैज्ञानिक र तथ्यपरक संस्कृतिहरूको जगेर्ना गर्नको लागि आफूलाई तत् सम्बन्धी क्षेत्रमा अनुसन्धान भूमिकामा समाहित गर्नुपर्छ । कुनै पनि विषयवस्तु वा घटनाक्रमको अध्ययन अनुसन्धान गर्न तत् सम्बन्धी विषयमा जरैसम्म पुग्नु आवश्यक छ । तब मात्र वास्तविक तथ्यपरक चुरोमा पुग्न सकिन्छ ।
वर्तमान अवस्थामा नेपाली समाजमा पश्चिमी संस्कृतिको प्रभाव व्यापक रूपमा पारिरहेको छ । ठूला, शक्तिशाली देशको संस्कृति नक्कल गर्ने, उनीहरूको संस्कृति राम्रो र आधुनिक छ भन्ने मानसिक तथा परनिर्भर सोच र चिन्तनले हाम्रो मौलिक संस्कृति क्रमिक रूपमा लोप हुँदै गएको छ । यो परनिर्भरता र पछौटेपनको मानसिकता हो । हुन त, विकसित राष्ट्रले विकासोन्मुख देशलाई सधैँ आफ्नो नियन्त्रणमा राखी परनिर्भरता बढाउन चाहिरहेको हुन्छ । वैज्ञानिक, व्यावहारिक र तथ्यपरक संस्कृतिले समाजलाई संगठित गर्छ र मजबुत बनाउँछ ।
सामाजिक पुँजी जति शक्तिशाली, वैज्ञानिक र व्यावहारिक हुन्छ, मानव जीवन त्यति नै सुखी, सफल, सभ्य र सार्थक बन्छ । तसर्थ, सामाजिक पुँजीविना भौतिक तथा मानवीय पुँजी गौण हुन्छ । मानव उन्नति र अस्तित्वका लागि सामाजिक पुँजी अपरिहार्य छ । भौतिक तथा मानवीय पुँजीलाई सामाजिक पुँजीले निर्देशित गरिरहेको हुन्छ । सामाजिक पुँजी जति सशक्त छ, त्यति नै भौतिक तथा मानवीय पुँजी सशक्त हुन्छ । तसर्थ, संस्कृति जोगाऊँ, सुन्दर समाजको निर्माण गरौँ ! साउने सङ्क्रान्ति (लुतो फाल्ने पर्व) को सबैलाई हार्दिक शुभकामना ।









चिसोले मुस्ताङ सुनसान
पेन्टिङ पर्यटक लोरा
किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया