एसइई, स्यानी भाउजु र क्रान्ति

नारायणप्रसाद सापकोटा २०८२ असार २८ गते १५:३४

रिजल्को भोलिपल्ट बिहानै स्यानी भाउजुले फोन गर्नुभयो, ‘छोराले एसइई पास गर्‍यो बाबु, ‘ए प्लस’ ल्याएर ! अब के पढाउने होला, कता पढाउने होला?’ त्यसपछि त स्यानी दिदी, माइजु, माझरे काका, डरमुनि ठूलाबा, मेसिनवाला दाइ, जिपवाला भाइ, काकी पर्ने, सालो पर्ने, मन्तर सुनाउने दाइ र दूधवाला दाइसँग पनि कुरा भयो । सबैका घरघरमा एसइई पास गर्नेहरू रहेछन् ।
यति धेरैसँग कुरा होला र ठ्याक्कै उत्तर दिनुपर्ला भनेर सोचेको पनि थिइनँ । बडो अप्ठ्यारो पर्‍याे । ‘आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन्… रज है खुल्यो भन्दिएँ ।’ झट्ट झलकमान गन्धर्वलाई सम्झिएँ । एउटा नौजवान युद्धको रणभूमिमा अस्ताउँदा उसको बारेमा सोध्ने सबैको अवचेतन मनभित्र पसेर कसरी उत्तर बनाउन सकेका ! टाठा रहेछन् बूढा ।

Advertisement


म टाठो हुन सकिनँ । कारण, सबैको मनभित्र पस्न सकिनँ, समयलाई बुझ्न सकिनँ । युगको सिकार बनेका स्यानी भाउजुदेखि दूधवाला दाइसम्मको मनोवृत्ति ठम्याउन सकिनँ । खासमा कसले सोध्दा के भनिदिने भनेर उत्तर बनाउनुपर्दो रहेछ । कसरी भनिदिने भनेर जान्नुपर्दो रहेछ । के भन्ने, के नभन्ने; केले खुसी बनाउँछ, केले दुःखी बनाउँछ— ख्याल गर्नुपर्दो रहेछ । बोलीकै त हो जमाना !


एक दिन ढिलो गरेर पर्सिपल्ट त पूर्व प्रेमिकाले पनि फोन गरिन् । सामाजिक सञ्जालमा देखिराखे पनि खासै कुराकानी हुँदैनथ्यो उनीसँग । चाहेर–नचाहेर कहिलेकाहीँ पोस्टहरू देखिन्थे । हाउभाउ र रहनसहनले पोखरा, काठमाडौं वा कुनै ठूलो सहरमा छिन् जस्तो लाग्थ्यो । आज त उनको पनि कुरा उस्तै थियो । छोरीले एसइई पास गरिछन्, ‘ए प्लस’ नै ल्याइन् रे ! के पढाउने, कता पढाउने ? हिजो धेरैलाई उत्तर दिइसकेँ, कसैलाई खुसी बनाउन सकिनँ । राम्रो सिकाइ पनि भयो । आज त फ्याट्ट उत्तर दिन मन लागेन । पहिलाकी भए पनि प्रेमिका न हुन् ! एकछिन हावा गफ मात्र भयो ।

Advertisement


सबैले सोध्नुको अर्थ आवरणमा सल्लाह लिनुजस्तो थियो, तर भित्री आशय त्यस्तो रहेनछ । खासमा ती सबै जना आफ्नो परिस्थितिको स्वमूल्यांकन, आफूले बनाएको योजना र न्यारेटिभ्सको अनुमोदन गर्न चाहन्थे— गाउँमा पढेर हुँदैन, स्कुलहरू राम्रा र नराम्रा हुन्छन्, ग्रेड नै क्षमताको मापक हो, पढ्नु भनेको विदेश जानु हो र पैसा कमाउनु हो, आदि इत्यादि । समाजलाई बदल्ने, न्यारेटिभ्सहरू परिवर्तन गर्ने एक्लो जिम्मेवारी मेरै हो कि जस्तो गरेर त्यस दिनभरि निकै पिरोलिएँ ।


न्यारेटिभ्सहरू पनि त्यसै बनेका होइनन्, हावामा सिर्जना भएका होइनन् । ‘गाउँमा पढेर हुँदैन…’ ठिकै हो । आफ्नो समय सम्झिएँ, त्यतिबेलाको एसएलसी. ! गाउँभरि मान्छे थिए । प्रत्येक घरैपिच्छे एसएलसी. दिनेहरू हुन्थे । सबैका घरमा उस्तै माहोल हुन्थ्यो, उस्तै पिरलो । ‘पढ्नु पर्दैन ? हेर त, पढ्ने बेलामा खेलेका ! भोलि जाँचमा के लेख्छौ ?’ बेलुकीपख बारिखेतको खलेगर्‍होमा यसो छेलो हान्न निस्कँदा जसका बा–आमाले देखेपनि भन्ने शब्दहरू थिए यी । एसएलसीको बेलामा मात्र हैन, त्यसअघिको समयमा पनि सबैका बा–आमा शिक्षकजस्तै लाग्थ्यो । जसलाई देखे पनि नैतिक बन्धन र अभिभावकीय अनुभूतिले बाटो बिराउन सम्भव नै थिएन । सिसीक्यामेराले जस्तै जोसुकैले पनि स्वतःस्फूर्त निगरानी गथ्र्यो । बिजुली थिएन । टिभी, मोबाइल, इन्टरनेटको त के कुरा !

Advertisement


त्यसमाथि अक्कलझुक्कल र विशेषगरी दसैँको बेलामा सहरबाट गाउँ आउँदा भेटिने क्याम्पस पढ्दै गरेका, जागिर खाएका र परिचय बनाएका दाइ–दिदी र अंकलहरूले बाटोघाटो र चौतारी जहाँ भेटिए पनि प्रश्न गर्थे— ‘कति क्लासमा रे पढ्ने ? फस्ट–सेकेन्ड के हुन्छौ ?’ साच्चिकै भन्दा मलाई यी प्रश्नहरूले भन्दा उनीहरूका उज्याला कपडा, सफा र कोमल हातखुट्टा अनि शरीरको सुगन्धले बढ्ता आकर्षण गथ्र्यो ।

सहर जानु, पढ्नु र जागिर खानु एउटा गज्जबको ग्ल्यामर लाग्थ्यो । मैले मेरो कक्षा र स्थान भन्न नपाउँदै कक्षाअनुसारका फरक–फरक विषयका प्रश्न गर्थे, ‘पेरियोडिक टेबल आउँछ ? एस्से के–केको आउँछ ? साध्यहरू सबै आउँछ ?’ म साह्रै खुल्न सक्दैनथेँ । हीनताभाव र दृढ निश्चयताले एकैपटक छोप्थ्यो । पढाउने गुरु–गुरुआमाहरूभन्दा महान् थिए ती भावनाहरू, जसले त्यतिबेलादेखि आजसम्म जीवनका अमूल्य पाठहरू पढाइरहेका छन् ।

यो समय जेपिटीको होइन, जिपीटीको हो । विद्यार्थीहरू स्मार्ट छन् । टुल्स र एप्सहरू प्रयोग गर्छन् । प्रयोग नगर्ने त्यही एउटा ‘कमन सेन्स’ त हो !


तर गाउँ अहिले त्यस्तो छैन । गाउँमा अहिले सबै कुरा छन् । कालोपत्रे सडक छ, बिजुलीबत्ती छ, घरघरमा टेलिभिजन छ, हातहातमा स्मार्ट फोन छन् । घरघरमा पुग्ने मोटरबाटो छ, सवारीसाधन छन् । फोटोकपी, प्रिन्टर छन् । अस्पताल छ, बैंक छ, सहकारी छ । किनारा पसलहरू छन् । रेफ्रिजेरेटरहरू छन्, चिस्यान केन्द्र छ । चाउचाउ, बिस्कुट, चटपटे, मःमः, चप्पल, छाता, बोइलर कुखुरा— सबै पाइन्छन् । पक्की घरहरू छन् ।

नभएको केवल मन र केही थान भावनाहरू न हुन् ! यी सारा चिज भएको ठाउँमा जाबो मन र भावनाहरू कसो नपलाउलान् र भन्ने ठानेर गाउँमा पढे पनि हुन्छ भन्ने सल्लाह दिएँ । तर गाउँबाट फोन गर्नेहरूलाई चित्त बुझेजस्तो लागेन । गाउँमा पढेर हुन्छ कि हुँदैन भनेर जान्नका लागि पनि एकपटक गाउँ छोड्नै पर्दो रहेछ ।


गाउँ मात्र हैन, गाउँको स्कुलमा पनि धेरै परिवर्तन भएको छ । सबैभन्दा ठूलो त स्कुल नै पहिलेभन्दा नजिक सरेको छ । त्यसमाथि स्कुल बस छ । पक्की भवन छन् । कक्षाकोठामा सिलिङ फ्यान छन्, स्मार्ट बोर्ड छन्, आरामदायक फर्निचर छन् । पिउने पानी छ, पक्की शौचालय छ, पुस्तकालय छ, कम्प्युटर ल्याब छ । बलियो व्यवस्थापन समिति छ । शिक्षक छन्, तालिमप्राप्त । किताब छन्, कापी–कलम छन् । नभएको केबल पढ्ने–लेख्ने चाहना र ज्ञानको भोक न हो ! सबै कुरा भएको स्कुलमा त्यति भोक पनि एक दिन पक्कै जाग्ला नि भनेर आफू पढेको स्कुलको वकालत गरेँ । तर उनीहरूका लागि सहरका स्कुलको स्थान निकै माथि रहेछ ।


सहर अर्थात् म बस्ने ठाउँ । सारा दुनियाँ बस्ने ठाउँ । ठूला मान्छे बस्ने ठाउँ, धनी मान्छे बस्ने ठाउँ, जागिर पाइने ठाउँ । नागरिकता र पासपोर्ट बनाउने ठाउँ । राम्रा स्कुलहरू भएको ठाउँ । राम्रा स्कुलहरूमा धेरै कुरा हुँदो रहेछ । साँझ घर फर्किँदा एसइई परीक्षा दिन छ वर्ष बाँकी रहेकी छोरीले उत्साहित हुँदै भनिन्, ‘बाबा, हाम्रो स्कुलमा आज बिहे थियो । बाजा बजाएका थिए । दाइ र दिदीलाई गाडीमा राखेका थिए । पैसा दिएका थिए । लड्डु बाँडेका थिए । टिचरहरू, प्यारेन्ट्स र ठूला दाइ–दिदीहरू सबै जन्ती जानुभएको थियो ।’ ‘स्कुलमा बिहे ?’ मैले नबुझेझैँ गरेँ । ‘तिम्रो पनि बिहे गर्नुपर्छ छोरी, भोलिपर्सि ।’ अर्ध–मुस्कानसहित साना आँखाले हेर्दै छोरी दौडिन् ।


सहरमा स्कुल पनि दुई थरी हुन्छन्— सरकारी र बोर्डिङ भन्छन् । दुवै थरीका फेरि राम्रा र नराम्रा छन् । जुन किसिमको भए पनि समग्रमा राम्राहरू र नराम्राहरूका कार्यव्यवहार धेरै मिल्छन् । नराम्रा स्कुलमा शिक्षक र विद्यार्थी मात्रै हुन्छन् रे ! मन, भावना र अन्तक्र्रिया त कसले देख्छ र ! अनि राम्रा स्कुलमा ? राम्रा स्कुलमा त के हुँदैन र ! ठूला–ठूला भवन हुन्छन्, सयौँ विद्यार्थीहरू हुन्छन्, पर्याप्त शिक्षक र ‘मामा’हरू हुन्छन् (मामाहरू आमाका दाइ वा भाइचाहिँ होइनन्) ।

खेल मैदान हुन्छ— भलिबल, बास्केटबल, फुटसल, क्रिकेट सबै खेलाइन्छ । संगीत, नृत्य, योग, ध्यान, हस्तकला, चित्रकला सबै गराइन्छ । पिकनिक, टूर, आउटिङ वर्षैपिच्छे गरिन्छ । टाउको दुख्यो, चोट लाग्यो, टाई च्यातियो, बेल्ट फुस्कियो, सिसाकलम, चार्टपेपर— केहीको टेन्सन हुँदैन । बिहानैदेखि बेलुकासम्म पढाइन्छ, घोकाइन्छ, पिलाइन्छ । पढ्ने–पढाउने, बसउठ सबै अंग्र्रेजीमा हुन्छ । दिनैपिच्छेको खाजा हुन्छ । टीका, जमरा, असार पध्र सबै स्कुलमै हुन्छ । अरू पनि के हो के हो, भनेर साध्य छैन । नहुने केही हुँदैन । महिनाको एकचोटि बिल तिरे पुग्छ । नपाइने भनेको त्यही खुसी र लगन न हो ! त्यत्रो सबै कुरा भएका राम्रा स्कुलमा जाबो खुसी र लगन कसो नहोलान् र एक दिन भनेर ‘हो हो, ठीक छ’ मात्रै भनिदिएँ फोन गर्नेहरूलाई ।


हुन त उनीहरूले मबाट खोजेको त्यही थियो । मसँग त स्कुलको केबल परिभाषा थियो, उदाहरण थिएन । राम्रा स्कुलहरूले उत्कृष्ट विद्यार्थीहरू लिएर सर्वोत्कृष्ट बनाउँछन् र नराम्रा स्कुलहरूले निम्न विद्यार्थीहरू लिएर मध्यम बनाउँछन् । स्वस्थ विद्यार्थी लिएर उमेरअनुसार चाहेको ज्ञान, सीप र अभिवृद्धि विकास गर्ने ग्यारेन्टी कुनै स्कुलहरूले दिन्छन् त ? हुन त स्कुलहरू पनि मेसिन नै हुन्; इनपुटलाई प्रोसेस गरेर आउटपुट निकाल्छन् । जस्तो इनपुट, उस्तै आउटपुट ।


स्कुल राम्रो र नराम्रो हुनुमा इन्पुट अर्थात् विद्यार्थी नै महत्वपूर्ण रहेछ । स्कुलको कल्चर र क्लासरूम डाइनामिक्स महत्वपूर्ण रहेछ । समयको आँधीबेहरीमा डुबेर मदहोस बनेका केटाकेटीलाई सम्हालेर नतिजा दिन पनि निकै बलियो मेसिन र प्रणाली चाहिन्छ । दिमाग घरमा थन्क्याएर स्कुल जान्छन्, पुस्तक स्कुलमा छोडेर घर जान्छन् विद्यार्थीहरू । फेरि आफ्नै पालाको किस्सा सम्झिन्छु । कुनै पनि प्रश्नको उत्तर कुनै हालतमा जानिएन भने एउटा फर्मुला थियो— जेपिटी अर्थात् जे पायो त्यही लेख्ने । जेपिटी गर्दा पनि कहिलेकाहीँ त विशिष्ट विचार निर्माण हुन्थ्यो । यो समय जेपिटीको होइन, जिपीटीको हो । विद्यार्थीहरू स्मार्ट छन् । टुल्स र एप्सहरू प्रयोग गर्छन् । प्रयोग नगर्ने त्यही एउटा ‘कमन सेन्स’ त हो!


जे जसरी भए पनि नतिजा आएको छ । ‘ए प्लस’ हो कि ‘ए’, ग्रेड आएको छ । अब उनीहरूको भाग्य–भविष्य सबै निर्धारण गर्ने भनेको त्यही ग्रेड हो । ग्रेडअनुसारका स्कुल हुँदा रहेछन्, पढ्ने विषय हुँदा रहेछन्, भोलिको लक्ष्य र गन्तव्य हुँदो रहेछ । रुचि, चाहना र क्षमताको कहाँ छ र कुरा यहाँ ! ‘पढेर पनि उही विदेश जाने, पैसा कमाउने रहेछ क्यारे, बाबु,’ स्यानी भाउजुले मसँग शिकायत गरेकी थिइन् । होइन भनौँ, सूर्यलाई हत्केलाले छोप्न सक्दिनँ । हो भनौँ, आत्मालाई ढाँट्न सक्दिनँ । प्रश्नहरू त्यसै उम्लिन्छन् मात्र ।


हिजो पढ्ने उत्कट चाहना हुँदा स्रोत र साधनको अभाव थियो । त्यही अभावको एजेन्डामा अनेकन् राजनीतिहरू भए । बजेट छुट्याएर विकास–निर्माणहरू भए । गाउँदेखि सहरसम्म बजेटले बन्ने सबै पूर्वाधारहरू बनिसकेछन् । बजेट नै नलाग्ने मनोवृत्तिका मामुली कुराहरू किन यति कमजोर भएछन् ? राज्य व्यवस्था परिवर्तन गर्न आन्दोलन चाहिँदो रहेछ, मनोवृत्ति परिवर्तन गर्न आन्दोलनभन्दा ठूलो क्रान्ति चाहिँदो रहेछ । अब क्रान्तिको समय आएन र ?

तपाईको प्रतिक्रिया