आँधीखोला र पोखरा भेट्रान्सलाई उपाधि

समाधान संवाददाता २०८२ असार २९ गते १०:४१

पोखरा ।
पोखराको नदीपुरमा भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि क्लब स्तरीयतर्फ आँधीखोला न्यु दिल्ली र भेट्रान्सतर्फ पोखरा भेट्रान्सले जितेका छन् । लामा अमृत फाउन्डेसन घान्द्रुकद्वारा आयोजित तेस्रो संस्करणको क्लब स्तरीयतर्फ आँधीखोला न्यु दिल्लीले घान्द्रुक क्रोम्छे युवा समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।


आँधीखोलाले पहिलो सेट २५–१७ ले जिते पनि प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–२२ ले जित्दै तेस्रो संस्करणको उपाधि चुम्न सफल भयो । उपाधि जितेको आँधीखोलाले १ लाख २५ हजार र उपविजेता भएको घान्द्रुकले ७५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्‍यो ।


भेट्रान्सतर्फ पोखरा भेट्रान्सले युनाइटेड किङ्स पोखरा भेट्रान्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । पोखराले युनाइटेडलाई २५–१६, २५–१४ र २५–१६ ले जित्यो । उपाधि जितेको पोखराले ५० हजार र उपविजेता भएको युनाइटेड किङ्सले २५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र पाएका छन् ।

Advertisement


क्लबस्तरीयतर्फ एपिएफ पोखराले ढुंगेदेउराली स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो । एपिएफले ढुंगे देउरालीलाई २५–१२, २५–१८ र २५–१९ ले जित्दै प्रतियोगितामा तेस्रो भयो । प्रतियोगितामा तेस्रो भएको एपिएफले ३० हजार र सान्त्वना भएको ढुंगेदेउरालीले १५ हजार रुपैयाँ पाए ।


विधागतर्फ उत्कृष्ट खेलाडी सञ्जुुविक्रम शाह, स्पाइकर उमेश सेञ्चुरी, मिडल ब्लकर सुगम सुनार, डिफेन्डर राजन दलार्मी, सेटर विवश आले, सर्भर मिलन राना, उदीयमान खेलाडी ढुंगे देउरालीका सुप्रिम भुजेल र प्रशिक्षक विक्रम कार्की घोषित हुँदै ट्रफी प्राप्त गरे । भेट्रान्सतर्फको उत्कृष्ट खेलाडीको ट्रफी समेश केसीले प्राप्त गरे ।

Advertisement


असार २४ देखि सुरु भएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा क्लब स्तरीयतर्फ ५ र भेट्रान्सतर्फ १० टिमको सहभागिता थियो । सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशील फाउन्डेसनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया