पर्वतीय दौड असोजमा हुने

पोखरा ।
विश्व पर्यटन दिवसको सन्दर्भमा दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता आगामी असोज महिनाको पहिलो हप्तामा आयोजना हुने भएको छ । पोखरा क्लिक अनलाइन सञ्चार गृहले पहिलो संस्करणको समीक्षा कार्यक्रममा प्रतियोगिताको दोस्रो संस्करणको मिति सार्वजनिक गरेको हो ।
कार्यक्रममा वक्ताहरुले पहिलो संस्करणमा देखिएका कमजोरी सुधार्दै प्रतियोगितालाई पर्यटन, स्वास्थ्य, खेलकुद र स्थानीय क्षेत्र प्रवद्र्धनसँग जोडेर अझ प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिए । गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्रतियोगितालाई सफल बनाउन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पुम्दीभुम्दी क्षेत्रको राष्ट्रियता बलियो रहेको उल्लेख गरे ।
उनले अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रसँग जोडेर आयोजना गरिने यस्ता कार्यक्रमले पारीको लेकसाइड जस्तै वारीको पुम्दीभुम्दी विकास गर्न सहयोग पुग्ने बताए । नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालयका प्रमुख मणिराज लामिछानेले सहभागी खेलाडीको अनलाइन बुकिङ समयमै खुला गर्न र पर्यटन दिवसकै सन्दर्भमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्रतियोगितालाई पर्वका रूपमा भव्य तयारीका साथ अघि बढाउनुपर्ने धारणा राखे ।
नेलम्बो नेपालका कार्यक्रम अधिकृत भीमप्रसाद भण्डारीले अघिल्लो संस्करणमा देखिएका समस्या समाधानका लागि समन्वय र जनसम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए । सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले पहिलो संस्करणमा केही कमजोरी भए पनि उत्साहजनक सहभागिताका कारण कार्यक्रम सफल भएको बताए ।
नेपाल भूतपूर्व खेलाडी मञ्चका सदस्य तथा प्राविधिक ओम गुरुङले प्रतिकूल मौसमका बीच पनि प्रतियोगिता सम्पन्न भएकोमा प्रशंसा गर्दै आगामी संस्करणमा मौसमजन्य चुनौतीको पूर्वतयारी आवश्यक रहेको सुझाव दिए । पर्यटनका प्राध्यापक दीपेन्द्र पहारीले खराब मौसमका बाबजुद समापन समारोह उत्कृष्ट रूपमा सम्पन्न भएको उल्लेख गरे ।
पत्रकार विजय नेपालले यस आयोजनाले स्थानीय जन्मथलोप्रति उत्तरदायित्वको भावना जागृत गराएको धारणा राखे । पत्रकार सन्देश श्रेष्ठले प्रतियोगिताको प्रभावकारी ब्रान्डिङमा ध्यान दिनुपर्ने बताए । पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले गाउँ, खेलकुद र स्थानीय पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सकारात्मक योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।
पोखरा क्लिकका अध्यक्ष दीननाथ बरालले सबैको साथ र सहयोगले प्रतियोगिता सफल भएको भन्दै धन्यवाद व्यक्त गरे । कार्यक्रममा फोटो पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष दुर्गा पौडेल, पत्रकार सागर ढकाल, वसन्त बराल, सागर सुनार लगायतले रचनात्मक सुझाव प्रस्तुत गरेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया