सम्पादकीय—टुर दि पोखराले गरेको योगदान

समाधान संवाददाता २०८२ असार २९ गते १३:१९

पोखराको पहिचान केवल ताल, हिमालका सौन्दर्य र सेतीखोँच तथा गुफाहरुको रहस्यमा सीमित छैन । समयसँगै यो सहरले आफ्नो पर्यटकीय चिनारीमा विभिन्न कार्यक्रम र गतिविधिले जीवन्त आयामहरु थपिरहेका हुन्छन् । जसमध्ये उदाहरण हो ‘टुर दी पोखरा’ । साइकल सिटी पोखराले ८ वर्षयता आयोजना गर्दै आएको यो अभियान एउटा सामान्य साइकल र्‍यालीमात्र होइन ।

Advertisement

यसले पोखराको पर्यटनलाई एउटा प्रडक्ट दिएको छ । यसै सन्दर्भमा पुस पहिलो शनिबार हुन लागेको आठौं संस्करण टुर दि पोखराको महत्व छ । ‘टुर दी पोखरा’ को मूल मर्म इन्धनरहित, स्वास्थ्य र वातावरणमैत्री जीवनशैलीको प्रवद्र्धन गर्नु हो । जुन आजको विश्वमा अति सान्दर्भिक छ । इन्धनको बढ्दो मूल्य र वातावरणीय प्रदूषण विश्वकै साझा चिन्ता हो । साइकललाई यातायात र व्यायामको माध्यमका रूपमा स्थापित गर्ने र साइकल संस्कृति निर्माण गर्न यस्ता अभियानले योगदान गर्छन् ।


पोखरालाई ‘साइकल सिटी’ का रूपमा विकास गर्ने बृहत्तर लक्ष्य टुर दि पोखराले लिएको छ । जुन प्रशंसनीय छ । नागरिक स्वास्थ्य र सहरको वातावरणीय स्वच्छतामा पनि यस्ता अभियानले प्रत्यक्ष योगदान पुर्‍याउँछन् । पर्यटनमा यस्ता कार्यक्रमले नयाँ रंग भर्छन् । केवल दृश्यावलोकनमा रमाउने पर्यटकका अलावा साहसिक र पर्यावरण–सचेत पर्यटकहरूलाई आकर्षित गर्न यसले पोखराको ‘ब्रान्डिङ’ मा सघाउ पुर्‍याएको छ । पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास पनि यो अभियानले गरेको छ । पोखरालाई विश्वभरका साइकलयात्रीहरूको रोजाइको गन्तव्य बनाउन योगदान पनि यसले पुर्‍याएकै छ ।

Advertisement

साइकल र्‍यालीहरू सहरका मुख्य सडकबाट बाहिर निस्केर पोखरा उपत्यका र आसपासका ओझेलमा परेका तर पर्यटकीय रूपमा अथाह सम्भावना बोकेका गन्तव्यसम्म पुग्ने सम्भावनाका ढोला यो अभियानले खोल्छ । जब साइकलयात्रीहरू ग्रामीण इलाकामा पुग्छन्, त्यहाँको स्थानीय कला, संस्कृति र जीवनशैलीबारे जानकारी पाउँछन् । यसले ती क्षेत्रमा होमस्टे, स्थानीय परिकार र अन्य पर्यटकीय सेवा विस्तार गर्न उत्प्रेरणा दिन्छ र पर्यटनको लाभ सीमित क्षेत्रबाट बाहिर फैलिन्छ ।


साइकल सिटी नागरिक संस्था हो । नागरिक स्तरबाटै सहरको विकास र प्रवद्र्धनमा जुट्नु आफैँमा एक अनुकरणीय कार्य हो । यस पटकको कार्यक्रमलाई अंग्रेजी नयाँ वर्षको भीडभाडबाट अलग्याएर पुसमा सार्ने निर्णयले स्थानीय सरकार र नागरिक समाजबीचको प्रभावकारी सहकार्यलाई पनि देखाउँछ, जुन दिगो विकासका लागि अपरिहार्य छ । ‘टुर दी पोखरा’ साइकलको पांग्रामा घुम्ने एउटा रहर मात्र होइन, यो पोखराको पर्यटनलाई दिगोपन, स्वास्थ्य र साहसिकताको नयाँ गन्तव्यतर्फ डो¥याउने एक शक्तिशाली ‘इन्जिन’ हो । ‘साइकल सिटी’ जीवन्त राखिए मात्रै पोखरा पनि जीवन्त रहन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया