सम्पादकीय—कारागार सुधारौं

कास्की कारागारका कैदीबन्दी आइतबार प्रदर्शनमा उत्रिए । नयाँ चौकीदार नियुक्तिको निर्णयसँगै यहाँ तनावको अवस्था सिर्जना भायो । कारागार व्यवस्थापन विभागले आफूहरूले चाहेको व्यक्तिलाई बेवास्ता गर्दै अर्काे जिम्मेवारी दिएको भन्दै कैदीबन्दीको नाराबाजीसहित विरोध जनाएका थिए । कैदीबन्दीले भित्रै टायर बालेर आक्रोशसमेत व्यक्त गरेका थिए । कास्की कारागारमा अहिले क्षमताभन्दा दोब्बर कैदीबन्दी छन् । कारागारमा कैदीहरूबीच झडप हुनु सामान्य घटना जस्तो भइसकेको छ । देशका विभिन्न ठाउँका कारागारमा यस्तो अवस्था आउनुलाई गम्भीर रुपमा लिनुपर्छ ।
कारागार र सुधार गृहहरूमा झडपका घटना दोहोरिरहेका छन् । केही महिनाअघि सिरहा कारागारमा भएको झडपमा १३ जना कैदी घाइते भएका थिए । कुनै अपराध गरेबापत कारागारमा राखेर सुधार्ने उद्देश्यले जेल सजाय गरिन्छ । ताकि, अपराधको प्रायश्चित गरोस् र बाँकी जीवनमा गल्ती नगरोस् । यस निम्ति कारागारमा हुने व्यवहार ज्यादै महत्वपूर्ण हुन्छ । कारागारमा रहेका कर्मचारी, प्रहरी र समग्र प्रशासनको भूमिका कस्तो छ, त्यसले कैदीको मनोभाव सिर्जना गर्छ ।
एकातिर कारागारमा बस्दा मानिसमा उत्पन्न हुने एकोहोरोपन र अर्कोतिर एकोहोरोपनलाई कम गर्नेभन्दा बढाउने वातावरण हुँदा झडपका घटना हुने हुन् । कारागार सजाय दिने ठाउँमात्र होइनन्, अहिले विश्वभर कारागारलाई सुधारगृह बनाउनुपर्ने आवाज उठेको छ । राज्यले अपराध गर्नेलाई जेल पठाउने काममात्रै गुर्न हुँदैन, बन्दीलाई अपराध प्रायश्चित गर्ने वातावरण पनि बनाउनुपर्छ । जेलबाट निस्केको व्यक्तिले असल नागरिक बन्ने वातावरण सिर्जना गर्नु पनि राज्यको कर्तव्य हो । जेलबाट कुनै अपराधमा निस्केको सजाय काटेर निस्केको व्यक्ति सीपविहीन, पूर्वाग्रहयुक्त हुनु समाजका लागि खतराको कुरा हो । ऊ फेरि अरु कुनै अपराधमा संलग्न भई जेल नै आइपुग्ने अवस्था पनि बन्न सक्छ ।
राज्य सञ्चालक, सामान्य नागरिक र सरोकारवाला सबैले चाहेमा कारागार र कैदीलाई सुधार गृह बनाउन असम्भव छैन । विश्वमा प्रहरी, जेल नभएका मुलुक पनि छन् । नेपालमा भने कैदीबन्दीको संख्या अनुसारका भौतिक संरचना नहुँदा साँघुरो स्थानमा क्षमताभन्दा दोब्बर कैदीलाई कोचेर राख्नुपर्ने अवस्था छ । यसले सामान्य विवाद हुँदासमेत झडप भएर कैदीबन्दीको ज्यान गएको देखिन्छ । मानवोचित व्यवहार अनुकूल कैदीबन्दीलाई राख्न पुग्ने कारागार भवन निर्माणतर्फ सरकारले ध्यान दिनैपर्छ । फौजदारी संहिता २०७४ मा खुला कारागारको व्यवस्था गरिएको भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
खुला कारागारका संरचना बनाउँदै गर्दा अहिलेका कारागारहरुमा न्यूनतम मानवीय आवश्यकताहरु परिपूर्ति हुने खालका संरचना बनाउन ढिलो गर्नु हुँदैन । कुनै महामारी वा विपत्ति आए अहिले कारागारहरुमा ठूलो क्षति हुने पक्का छ । अपराध गरी सजाय कटान गर्न गएकाहरुलाई कष्टै दिनुपर्छ भन्ने दासकालीन मानसिकता त्याग्नैपर्छ । कैद भुक्तान गरेपछि समाजमा स्थापित हुने सीप सिकाउने, जेलमा मानवयोचित व्यावहार गर्ने र बाहिर निस्केर समाजमा सम्मानित जीवन बाच्ने अवस्था बनाउनु जरुरी छ ।









चिसोले मुस्ताङ सुनसान
पेन्टिङ पर्यटक लोरा
किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया