
जोमसोम।
बर्सेनि आयोजना हुने उपल्लो मुस्ताङको पर्वतीय उचाइको हाई अल्टिच्युड खेलकुद प्रतियोगिता अन्तर्गत ‘लो-छोग्योल झिग्मे मेमोरियल’ कप २०८२ को सातौं संस्करण सोमबारदेखि उपल्लो मुस्ताङको घिलिङ खेलमैदानमा सुरु भएको छ।
लोछोदिन क्षेत्र अन्तर्गत लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाभित्रका युवाहरूको प्रतिनिधित्व रहने यहाँ विसं २०७५ सालदेखि औपचारिक रूपमा पर्वतीय उचाइको हाई अल्टिच्युड खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिएको छ। दिवंगत मुस्ताङी सांस्कृतिक एवं धर्मराजाको सम्झनामा मुस्ताङको लोछोदिन क्षेत्रमा फुटबल र भलिबल खेललाई प्राथमिकतामा राखेर ‘पर्वतीय हाई अल्टिच्युड’ खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिएको हो। यहाँको मफसलमा आयोजना हुने यसप्रकारको खेलकुद प्रतियोगिताले यहाँका युवापंक्तिमा खेलकुदप्रति अभिरुचि जगाउन, लोछोदिन समुदायका युवापंक्तिलाई एकताबद्ध गराई आपसी भाइचारा अभिवृद्धि गराउने, खेलकुदका माध्यमबाट उपल्लो मुस्ताङको लोछोदिन समुदायहरूको धार्मिक, सांस्कृतिक, ऐतिहासिक मौलिक भेषभूषा, रहनसहन र यहाँको जीवन्त मौलिक कला संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको छ।
यहाँ आयोजित लो-छोग्योल झिग्मे मेमोरियल कपको सातौं संस्करणको आयोजना लोघेकर दामोदरकुण्ड–३ स्थित घिलिङ युवा क्लबले आयोजना गरेको क्लबका अध्यक्ष पेमा ढिन्डुक गुरुङले जानकारी दिए। समुद्री सतहको तीन हजार नौ सय मिटरको अग्लो उचाइमा यहाँ हाई अल्टिच्युड फुटबल र भलिबल एकैसाथ आयोजना भएको क्लबका अध्यक्ष गुरुङले बताए।
यहाँ आयोजित सातौं लो-छोग्योल झिग्मे मेमोरियल कपको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उद्घाटन गरे। अध्यक्ष बिष्टले यहाँ आयोजित यसप्रकारको पर्वतीय उचाइको हाई अल्टिच्युड खेलकुद प्रतियोगिताले युवाहरूको नेतृत्वदायी र खेलकुद क्षमताको विकास मात्रै नभई उपल्लो मुस्ताङको समृद्धि र विकासमा समेत टेवा पुर्याउने दाबी गरे। यहाँ आयोजित यसप्रकारको खेलकुद प्रतियोगिताले लोछोदिन समुदायहरूको धार्मिक तथा सांस्कृतिक सभ्यतालाई समेत जीवन्त तुल्याउने बताए।
यसैगरी गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बर्सेनि खेतीपातीको कामकाज सकेर फुर्सदिलो समयमा लोछोदिन क्षेत्रमा पर्वतीय खेलकुद हुने गरेको बताए। यहाँ आयोजित खेलकुदका माध्यमबाट स्वदेश तथा विदेशमा बसोबास गरेका लोछोदिन समुदायलाई एकताबद्ध गराउन महत्त्वपूर्ण योगदान दिने उल्लेख गरे।
उपल्लो मुस्ताङका दुई गाउँपालिकाका युवाहरूलाई लक्षित गरी संचालन हुँदै आइरहेको यसप्रकारको हाई अल्टिच्युड खेलकुद प्रतियोगिता दस दिनसम्म चल्ने जनाइएको छ। प्रतियोगिताको पहिलो उद्घाटन कार्यक्रममा लोछोदिन समुदायका मानिसहरूले परम्परागत धर्मसंस्कृति, भेषभूषा र मौलिकता पस्किएका थिए।
प्रतियोगितामा लोमान्थाङ गाउँपालिकाबाट तीन टिम र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट छ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिता अन्तर्गत लोमान्थाङ गाउँपालिकाबाट लोमान्थाङ युवा क्लब, स्नोल्यान्ड युवा क्लब र कोन्चोलिङ युवा क्लबले सहभागिता जनाएका छन्।
यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट आयोजक घिलिङ युवा क्लबको दुई टिम, थुङसुम्बा युवा क्लब, जनचेतना युवा क्लब, बुद्धशान्ति युवा क्लब र सुर्खाङ युवा क्लबले प्रतियोगितामा भाग लिएका छन्। यहाँ लिग चरणका आधारमा फुटबल र भलिबल खेल संचालन हुने जनाइएको छ।
प्रतियोगिताको फुटबल च्याम्पियनले नगद एक लाख ७ हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्। उपविजेताले नगद ७७ हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्।
यसैगरी भलिबलतर्फको च्याम्पियनले नगद असी हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टिमले नगद पचास हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया