हाम्रो शिक्षा, सपना र वास्तविकता

रामकृष्ण भण्डारी २०८२ साउन ७ गते ११:०६

जीवनको आधा दशक पार गरिसकेका अधिकांश नेपाली अनुहार नियाल्ने हो भने, धेरैले प्रष्ट रूपमा स्वीकार गर्छन् ‘जिन्दगीमा खासै केही गर्न सकिएन ।’ उमेरसँगै अनुभव बढ्दो भए पनि, धेरै नेपालीको जीवन बाहिर चम्किलो, भित्र खोक्रो भइरहेको छ । साँच्चै नै हामी किन पछि पर्‍यौं?

Advertisement


यो प्रश्नको उत्तर गहिरो विश्लेषण माग्छ । प्राचीन दर्शनदेखि आधुनिक विज्ञानसम्मको मान्यता अनुसार, मानव जीवनको आधार आमाको गर्भदेखि नै सुरु हुन्छ । गर्भमा रहेको शिशुमा समेत संस्कारको प्रभाव पर्छ—जसको उदाहरण भक्त प्रह्लाद हुन् । त्यसैले जीवनको प्रारम्भिक चरणमै सही संस्कार र वातावरणको जरुरी हुन्छ । जब बच्चा नेपाली समाजमा जन्मिन्छ, समाज र परिवार उसबाट अनेक आशा राख्छन् । तर यिनै समाज र परिवारले आवश्यक संस्कारसहितको व्यवहारिक शिक्षा दिन चुकिरहेको देखिन्छ । ‘बाल्यकाल जीवनको सबभन्दा महत्वपूर्ण समय हो’ भन्ने भनाइ छ । यही बेला सही बाटो देखाइएन भने, त्यसको असर भविष्यभरि रहन्छ ।


विद्यालयमा शिशुलाई भगवान सरह स्वागत गरिन्छ, तर बिस्तारै नकारात्मक सोच र सामाजिक दबाबले उसको मौलिकता मेटिन थाल्छ । हाम्रो शिक्षा प्रणालीले के गरिरहेको छ ? हामी बालबालिकालाई ‘सबै कुरामा राम्रो हुनुपर्छ’ भन्छौं, तर कसरी बन्ने भन्ने तरिका भने सिकाउँदैनौं । हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई चाहिनेभन्दा अनावश्यक ज्ञान थोपर्छ । अनि प्रतिभा कहाँ हरायो ? कसैले बच्चाको वास्तविक क्षमता–उसको कला, रुचि, सीप के हो भनेर बुझ्ने प्रयास गर्दैन । गायक बन्ने चाहना राख्ने बालकलाई गणित घोक्न लगाइन्छ । वैज्ञानिक बन्ने चाहनेलाई कविता कण्ठ गर्न बाध्य पारिन्छ ।

Advertisement

हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई चाहिने भन्दा अनावश्यक ज्ञान थोपर्छ । बच्चाको वास्तविक क्षमता–उसको कला, रुचि, सीप के हो भनेर बुझ्ने प्रयास गर्दैन ।


यसरी स्कुल शिक्षा व्यवहारिक हुनै सक्दैन । मेरो आफ्नै अनुभव पनि यस्तै थियो । म साहित्यमा रुचि राख्थें, तर गणित कमजोर थियो । शिक्षकहरूले सधैं गणितको सूत्र रट्न बाध्य बनाइरहनुभयो । त्यो बेला लाग्थ्यो शिक्षकको भनाइ सही हो किनकि मेरै भविष्यको लागि त भन्नुभएको छ, तर आज आएर बिस्तारै बुझ्दै छु त्यो शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुभएको रहेछ र विद्यालयलाई हाम्रा विद्यार्थीहरू उत्कृष्ट छन् भनेर देखाउनको लागि पनि रहेछ ।

Advertisement


बिस्तारै २०÷२२ वर्ष पढेर जब विद्यार्थी बजारमा पुग्छ, ऊ सर्टिफिकेट लिएर जागिरको खोजीमा भौतारिन्छ । कुनै सीप नहुनाले, उसले आफूलाई बेच्न सक्दैन । तब बल्ल बुझ्छ खोक्रो डिग्रीले जीवन चल्दैन।समस्या के हो भने, सबै विद्यार्थीलाई एउटै तराजुमा तौलिन्छ । आँपको बोटमा स्याउ फलाउन खोजे जस्तै । नेपालको शिक्षा प्रणालीले ‘ज्याक अफ अल ट्रेडस मास्टर अफ नन’ उत्पादन गरिरहेको छ । थोरथोरै धेरै कुरा जान्ने, तर एकमा पनि पूर्ण दक्षता नहुने विद्यार्थी–आजको शिक्षा प्रणालीको नतिजा हो ।


जब विद्यार्थीले जागिर पाउँदैन, ऊ सीपको खोजीमा विदेशिन बाध्य हुन्छ । यसरी देशले श्रम पनि गुमाउँछ, सम्भावना पनि । वास्तवमा भन्ने हो भने हाम्रो समाजमा अझै पनि बच्चाको रुचि बुझिँदैन । फुटबल रुचाउने बच्चालाई डाक्टर बनाउने सपना देखाइन्छ । कृषि मन पराउनेलाई खेत जान दिइँदैन, विदेश पठाउने योजना बनाइन्छ । उद्यमशिलता अझै पनि जोखिमको काम मानिन्छ, जागिरलाई मात्र सुरक्षित विकल्प ठानिन्छ ।

जब बालक आफ्नो रुचिको बाटो रोज्न खोज्छ, समाज उसमाथि मानसिक दबाब दिन थाल्छ ‘जागिर खानुपर्छ’, ‘विदेश जानुपर्छ ।’ त्यसपछि सुरु हुन्छ—सपना र दायित्वबीचको टकराव । यसको परिणाम एउटा पुस्ता तयार भइरहेको छ, जसले न आफ्नो सपना पुरा गर्न सक्छ,न परिवारलाई सन्तुष्ट पार्न।हामी न त आत्मनिर्भर हुन सक्छौं, न आत्मविश्वासी ।


यसको मुख्य कारण भनेको हाम्रो नेपाली शिक्षाले कहिल्यैँ पनि वित्तीय व्यवस्थापन सिकाएन जसको कारण पढिसकेपछि पैसा कमाउने विभिन्न बहाना खोज्दछौँ तर हामी दिनप्रतिदिन असफल बनिरहेका छौँ । हामी परीक्षा र अंकमा आधारित शिक्षालाई प्राथमिकता दिन्छौं,तर आफ्नो रुचि र सीप प्रयोग गरेर पैसा कमाउने तरिका पढाइँदैन । यदि कुनै विद्यार्थीले आफ्नै ठाउँमा बसेर, आफ्नै सीप बिकाएर पैसा कमाउन सकेको भए, के ऊ विदेशिन्थ्यो र? यसको उत्तर तपाई आफैँलाई थाहा छ ।


यति भन्दाभन्दै पनि सुधारका पहलकदमी कार्यहरू बिस्तारै हुँदै छन् र केहीँ सकारात्मक कुराहरू पनि देखिँदैछन् । पढ्दै कमाउँदै जस्ता कार्यक्रमहरू विद्यालयहरूमा लागू हुँदैछन् । यसको साथै विभिन्न संघसंस्थाले सीप सम्बन्धी तालिम दिँदैछन् । पाठ्यक्रम परिमार्जन भइरहेका छन् । तर, यति मात्रले २१औँ शताब्दीको प्रतिस्पर्धी विश्वमा नेपाली विद्यार्थी टिक्न सक्दैन ।

अब समय आएको छ । पाठ्यक्रममा उद्यमशीलता, सीप, वित्तीय शिक्षालाई अनिवार्य बनाउने,व्यवहारिक शिक्षालाई प्राथमिकता दिने र विद्यार्थीको प्रतिभा पहिचान गरेर उसको अनुकूल शिक्षा दिने । यसबाट हामी सम्पूर्ण नेपालीहरूले हाम्रो शिक्षा, सपना र वास्तविकतालाई यथार्थमा बदली आफ्नो जीवनमा आधा दशक कटेपनि खुसी हुन सकिन्छ । आउनुहोस् नयाँ शैक्षिक सपनालाई साकार पारौँ ।

तपाईको प्रतिक्रिया