सम्पादकीय—बिपी–पुष्पलाल र अहिलेको राजनीति

एक दिनको अन्तरालमा नेपाली राजनीतिका दुई शीषस्थ नेताहरुको सम्झना गरिएको छ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस सँगसँगै पर्छ । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्नुका साथै साम्यवादी विचारको प्रचार गर्नका लागि कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते निधन भएको थियो । प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।
यी दुई दिनलाई नेपाली आधुनिक राजनीतिका दुई ऐतिहासिक व्यक्तित्वहरुको स्मरण र सम्मान गर्दै मनाउने गरिएको छ । उनीहरुले लिएको बाटो, आजको राजनीतिक परिदृश्य तथा उनीहरुका अनुयायीले अँगालेको दशा र दिशाको समीक्षा गर्ने अवसरमा रुपमा यसलाई लिने गरिएको छ । बिपी र पुष्पलाल नेपालीमा राजनीति सूत्रपात गर्ने क्रान्तिकारी नेताहरु हुन् । राणा शासनको चंगुलबाट नेपाललाई मुक्त गर्ने प्रजातान्त्रिक आन्दोलनको थालनी र अगुवाइ गर्दै पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र र निशस्त्र आन्दोलन गर्ने कोइरालाको योगदान इतिहासमा अविष्मरणीय छ ।
मुलुकलाई सामन्तवाद र साम्राज्यवादबाट मुक्त गर्दै श्रमजीवी वर्गको राज्यसत्ता स्थापना गर्ने अभिलाषाका साथ कम्युनिष्ट पार्टीको स्थापना गरी कम्युनिष्ट आन्दोलनको जग हाल्ने पुष्पलाल श्रमजीवी वर्गका क्रान्तिकारी अग्रज हुन् । यी दुबै जनाले स्थापना गरेका पार्टीहरु नै अहिले नेपाली राजनीतिको अग्रभागमा छन् । त्यसयता देशमा आजसम्म भएका तमाम आन्दोलन र क्रान्तिमा नेतृत्वदायी शक्तिको रुपमा पनि यीनै दुई शक्तिको मुख्य भूमिका देखिन्छ । कम्युनिष्ट र कांग्रेस प्रतिस्पर्धी शक्ति हुन् । इतिहासका विभिन्न कालखण्डमा यी शक्तिबीच सहकार्य, साझेदारी र प्रतिस्पर्धा भएको देखिन्छ । यी दुई शक्तिकै कारण देश गणतन्त्रसम्म आइपुगेको तथ्य कसैले नकार्न सक्दैन । इतिहासका विभिन्न कालखण्डमा विभिन्न व्यक्तिले सफल नेतृत्व गरेको भए पनि त्यसका लागि आधार तयार पार्ने श्रेय पुष्पलाल र बिपीलाई जान्छ ।
अहिले प्रजातान्त्रिक र वाम क्षेत्रका दुई धरोहरको सम्झना गरिरहँदा उनीहरुले थालेको आन्दोलनका विभिन्न कालखण्डको समीक्षा गर्नु उत्तिकै महत्वपूर्ण पक्ष हो । बाम–लोकतान्त्रिक आन्दोलनको जगमा धेरै राजनीतिक सामाजिक परिवर्तन भएका छन्, यसलाई सुदृढ र संस्थागत गर्दै जनतालाई थप अधिकारसम्पन्न बनाउन र प्राप्त राजनीतिक अधिकारको प्रयोगमार्फत् जनताको जीवन बदल्ने अभियान आज निकै कमजोरमात्र बनेको छैन, अलपत्र छ । बिपी र पुष्पलालहरुले थालेको गौरवशाली विरासतबाट आएका राजनीतिक दलका नेताहरु आज समाजकै घृणाको पात्र किन बनिरहेका छन् ? नेतृत्वले यसको समीक्षा गर्नैपर्छ । कम्युनिष्टहरुको अवस्था हेर्ने हो भने त बिसौं चिरामा विभक्त छन् । विपी–पुष्पलालको सम्झनामात्र होइन, उनीहरुबाट प्रेरणा लिएर युगको भूमिका निर्वाह गर्न दलहरु चुक्नु हुँदैन ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया