नारीवादी दृष्टिकोणबाट ‘आमा’ नाटकलाई नियाल्दा…

ज्ञानेश्वर सुवेदी २०८२ साउन ८ गते १६:०७

साहित्य समाजको दर्पण हो। नेपाली नाट्यसाहित्य साहित्यको एक सशक्त विधा हो। नाटकमा नटनटीले रङ्गमञ्चमा आफ्नो जीवन्त अभिनयका माध्यमबाट विषयवस्तुलाई दर्शकसमक्ष प्रस्तुत गरेका हुन्छन्। वर्तमान परिप्रेक्ष्यमा नेपाली नाट्यलेखन र प्रस्तुति अन्तर्गत समकालीन नेपाली रङ्गमञ्चमा नारीका स्वर र छायालाई केन्द्रमा राख्ने प्रयत्न बढ्दो छ। त्यसै सन्दर्भमा नारायण न्यौपानेद्वारा लिखित तथा निर्देशित नाटक ‘आमा’ एक उल्लेखनीय प्रस्तुति हो, जसले समर्पण र ममतालाई शाश्वत मान्दछ। यस नाटकले नारी जीवनको गहिरो संवेदनात्मक कथा मात्र नभई सशक्त तवरबाट नारीवादी चेतनाको ढोका खोल्ने प्रयास गरेको छ।


यस नाटकले एउटी आमाको माध्यमबाट नेपाली समाजमा नारीले भोग्दै आएका संरचनागत हिंसा, मौनता, विसर्जन र अभिव्यक्तिहीनताको जीवानुभूतिलाई दृश्यमा रुपान्तरण गरेको छ। अझ गहिरिएर हेर्दा, यो नाटक एउटा प्रश्न पनि हो — नारीको ममता साँच्चै स्वतन्त्र प्रेम हो वा बन्धनरुपी समाजले जबर्जस्ती दिएको भूमिका ?


नारीको त्याग – शाश्वत मूल्य कि संरचनात्मक बाँध ?
नाटककी मूल पात्र फूलमाया (कृष्टि गुरुङ) ले देखाउने माया, त्याग र प्रतीक्षा नेपालका धेरै आमा र महिला दिदीबहिनीको साझा अनुहार हुन्। नाटकको सुरुवातमा उनी बाल्यकालदेखि नै ‘गुडिया सपना’ सँग खेल्दै गरेको देखिन्छिन्। त्यो गुडिया केवल बालसंसारको साथी होइन, उनीभित्र दबिएको चेतनाको अभिव्यक्ति पनि हो।

Advertisement


विवाहपछिको जीवनमा फूलमाया आफ्ना सबै सपना, चाहना र हृदयभित्रका आवाज गुमाउँछिन्। त्यसको सट्टा छोराको विदेशप्रवास र पतिको अनुपस्थितिमा आफ्नो बाँकी जीवन समर्पित गर्छिन्। यस प्रकारको त्याग र समर्पणबाट प्रश्न उब्जन्छ — के नारी जीवन सदैव त्यागका लागि मात्र हो ?


यहीँनेर नाटकले परम्परागत मूल्यलाई चुनौती दिन खोजेको देखिन्छ। फूलमायाको ममताभाव उत्कृष्ट देखिए पनि त्यो स्वतन्त्रता नभई सामाजिक संरचनाभित्रको कठोर नियम पालनाका रूपमा देख्न सकिन्छ। यस प्रकारको त्यागपछि पनि फूलमाया आफ्नै अस्तित्वको खोजीमा देखिन्छिन्।

Advertisement


पौराणिक प्रतिमानहरूः “यशोधरा“ र ‘शान्त नारी’ को विमर्श
नाटकको मुख्य नारी पात्र फूलमाया यशोधरा प्रतीकझैँ देखिन्छिन्। यशोधरा, जसका श्रीमान् बुद्धत्वको खोजीमा गृहत्याग गर्छन् अनि उनी मात्र प्रतीक्षा र मौनताको जीवन बिताउँछिन्। उनी नेपाली साहित्य र समाजमा त्यागी स्त्रीको पर्याय बनेकी छन्।
फूलमायाको जीवन त्यही मौनता र प्रतीक्षाको पुनरावृत्ति हो। सिद्धार्थ (फूलमायाका पति) हराउँछन्, छोरा विदेशिन्छन्, तर फूलमाया घर र आँगनमै अडिएर बसिरहन्छिन्। नारीको उपस्थितिलाई केवल प्रतीक्षा गर्ने पात्र बनाउनुमा, चाहे यशोधरा होस् या फूलमाया, यसले नारी चेतनाको विमर्शमा गहिरो प्रश्न खडा गर्छ।

नाटकले एउटी आमाको माध्यमबाट नेपाली समाजमा नारीले भोग्दै आएका संरचनागत हिंसा, मौनता, विसर्जन र अभिव्यक्तिहीनताको जीवानुभूतिलाई दृश्यमा रूपान्तरण गरेको छ ।


नारीवाद यस्ता प्रतीकहरूमाथि पुनःपाठ गर्न आग्रह गर्छ। किन यशोधरा बुद्ध बन्न पाउँदिनन्? किन फूलमाया मात्र सपना बोकी, धागो समाई रोइरहन्छिन्? किन उनी पनि आफ्नो जीवन रच्न सक्दिनन्?


सपनाः दबिएको चेतनाको मूर्त रुप
गुडिया ‘सपना’ (अञ्जली शाही) नाटकको सबैभन्दा सशक्त प्रतीक हुन्। उनी केवल बालसखा होइनन्, फूलमायाको दबिएको स्वरसमेत हुन्। जब फूलमायालाई बोल्न दिइँदैन, सपना बोल्छिन्। सपना र फूलमायाबीचको संवाद अन्ततः नारी चेतनाको द्योतक हो, जहाँ अब उनले अरूका लागि होइन, आफ्नै अधुरा सपनाका लागि बोल्न थालेकी छिन्।


नारीवादी चिन्तनबाट हेर्दा सपनामा आन्तरिक विद्रोहको स्वर देखिन्छ। यो नारी चेतनाको आत्म–संवाद हो, जसले अन्ततः सामाजिक मौनतालाई तोड्ने काम गर्छ। यस दृश्यमा हामी गहिरो तर अव्यक्त नारीचेतनाको उदय भएको अनुभूति गर्न सक्छौँ।


धर्साहरु, धागाहरु र प्रतीकको राजनीतिकता
नाटकमा बारम्बार देखा पर्ने ‘धर्सा’ (श्रीकृष्ण भण्डारी, सिताला अधिकारी, सृष्टि पंगेनी, राहुल श्रेष्ठ) हरू केवल घरको भित्तामा आएका चिरा होइनन्, ती त नारी जीवनमा समय, सम्बन्ध, पितृसत्ता र मौनताले पारेका पीडा हुन्।


त्यस्तै, ‘धागो’ ममताको प्रतीक हो तर धागो जसले सन्तान र परिवारलाई जोडिराख्छ, त्यो कहिलेकाहीँ नारीलाई बाँध्ने शृङ्खलाजस्तो पनि देखिन्छ। जब नारी आफूलाई परिवारको निम्ति सधैँ समर्पण गर्न बाध्य हुन्छिन्, तब त्यसलाई प्रेमका रूपमा नस्वीकारी संरचनागत असमानताका रूपमा लिन सकिन्छ।


अनुपस्थित पुरुष र अरुको सन्दर्भमा बनाइने नारी पहिचान
फूलमायाका बुवा (धनकाजी श्रेष्ठ), उनका पति सिद्धार्थ (रमेशबाबु तिमल्सिना) र छोरा अभिमन्यु (सुसन पौडेल) जस्ता पात्रहरू नाटकमा प्रायः अनुपस्थित छन् तर फूलमायाको समग्र जीवन यिनकै वरिपरि घुमेको र अर्थपूर्ण रहेको पनि देखिन्छ।
यो प्रवृत्ति नारीवादी दृष्टिकोणबाट समस्याजनक देखिन्छ किनभने यसले नारी पात्रको अस्तित्व अझै पनि पुरुष पात्रहरूमाथि निर्भर छ भन्ने देखाउँछ। नारी आफ्नै आत्मसम्मान र पहिचानका आधारमा केन्द्र बन्न सक्दिनन् भन्ने धारणा पितृसत्तात्मक संरचनाको निरन्तरता हो।


निर्देशन, दृश्य विन्यास र कलाकारको प्रस्तुति
निर्देशक नारायण न्यौपानेले नाटकलाई प्रतीकात्मक र यथार्थका तहमा सन्तुलन राख्दै अघि बढाएका छन्। दृश्यहरूमा प्रयोग भएको प्रकाश, ध्वनि संयोजन, धर्साहरूको नृत्यमय उपस्थिति, सपना पात्रको रहस्यमय संवेदना, यी सबैले नाटकलाई केवल दृश्य माध्यम मात्र नभई अनुभवको माध्यम बनाएका छन्।


फूलमायाको चरित्रमा देखिएको बहुआयामिक अभिनय, विशेषगरी अन्त्यतिर सपनासँगको संवादमा देखिएको आत्मसंघर्ष नाटकको उत्कर्ष हो। दर्शकको आँखामा आँसु ल्याउने शक्ति यहीँनेर छ।


निष्कर्षः ममताभन्दा परको नारी चेतना
“आमा हुन् – जसको समर्पण र ममता शाश्वत छ।“ नाटकले आमाको ममतालाई सर्वोच्च मूल्यको रूपमा राखेको छ, तर नारीवादी दृष्टिकोणबाट हेर्दा के नारीको जीवन सदैव ममता, त्याग र समर्पणमै सीमित रहनुपर्छ?


यो नाटक एकैसाथ प्रशंसा र प्रश्न हो। यसले नारीको जीवनलाई सहानुभूतिका साथ देखाएको छ तर विद्रोही चेतनाको स्वर अझ स्पष्ट हुँदो हो त यसले अझ सशक्त तवरबाट विद्रोहको बुलन्द आवाज गुन्जाउन सक्थ्यो। समग्रमा, नाटकमा उठाइएको नारी चेतनाको स्वरलाई केवल उत्कर्ष मात्र नभई सुरुवातको रूपमा पनि लिन सकिन्छ।


(लेखक पृथ्वीनारायण क्याम्पस, नेपाली शिक्षा विभागमा प्राध्यापनरत हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया