सम्पादकीय—पृथ्वीमान गुरुङप्रति श्रद्धाञ्जली

नेपाली राजनीतिमा पद र शक्ति प्रायः विवाद र आलोचनाको केन्द्र बन्ने गर्छ । त्यसमा पनि प्रदेश प्रमुख जस्तो संवैधानिक र अभिभावकीय भूमिकामा रहने व्यक्ति तटस्थ रहन नसक्दा पटक–पटक आलोचित भएका कैयौं उदाहरण छन् । तर, यही राजनीतिक परिवेशमा केही यस्ता व्यक्तित्व पनि हुन्छन्, जसले आफ्नो भूमिकालाई निष्ठा र इमानदारीपूर्वक निर्वाह गरेर पदको गरिमालाई उँचो बनाउँछन् । गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङ त्यस्तै एक आदर्श व्यक्तित्व थिए, जसले आफ्नो ७६ वर्षको जीवनयात्रालाई शनिबार बिट मारेका छन् । उनको निधनले निष्ठावान र आदर्शवान राजनीतिको एक अध्याय समाप्त भएको छ ।
२०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दा गुरुङले आफूलाई एक सन्तुलित, निष्पक्ष र साँचो अर्थमा अभिभावकको रूपमा उभ्याए । राजनीतिक खिचातानी र सत्ता समीकरणको तरल अवस्थामा समेत उनको भूमिका कहिल्यै विवादमा आएन । संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै उनले जुन तटस्थता र परिपक्वता प्रदर्शन गरे, त्यो आजका र भविष्यका राजनीतिकर्मीहरूका लागि अनुकरणीय छ । उनले पदमा रहँदा मात्र होइन, जीवनभर नै आफूलाई पद र शक्तिको लोभबाट टाढा राखे, जुन उनको राजनीतिक चरित्रको सबैभन्दा ठूलो पुँजी थियो ।
गुरुङको यो निष्ठा रातारात बनेको थिएन । यसको पछाडि प्रजातन्त्र प्राप्तिका लागि गरिएको दशकौं लामो त्याग र संघर्षको जग थियो । विद्यार्थी जीवनदेखि नै राजनीतिक चेतनाले भरिपूर्ण गुरुङ २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य बनेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा प्राध्यापन पेसाबाट बर्खास्त हुनु, पटक–पटक गरी करिब ३ वर्ष जेल जीवन बिताउनु र २०४६ सालको जनआन्दोलनमा नेतृत्व गर्दा राज्यद्रोहको मुद्दा खेप्नुले उनको लोकतन्त्रप्रतिको अटुट आस्थालाई प्रमाणित गर्छ । प्रजातन्त्र पुनस्र्थापनापछि पनि उनले चितवनलाई कर्मभूमि बनाएर पार्टीको जिल्ला सचिवदेखि सभापति र केन्द्रीय सदस्यसम्मको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे, तर कहिल्यै शक्तिको पछि लागेनन् ।
उनको जीवन निरन्तरता, संघर्ष र निष्ठाको त्रिवेणी थियो । पदमा हुँदा अविवादित र पदमुक्त हुँदा सहज जीवन जिउने उनको शैलीले राजनीतिलाई सेवाको माध्यम मान्ने सबैलाई प्रेरित गर्दछ । आज भौतिक रूपमा हामीमाझ नरहे पनि उनले छाडेर जानुभएको स्वच्छ छवि, त्यागपूर्ण राजनीतिक जीवन र एक अविवादित अभिभावकको भूमिकाले नेपाली राजनीतिमा उहाँलाई सधैं जीवित राख्नेछ । दिवंगत पृथ्वीमान गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली ।








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया