मैले सुनेँमात्र

कोमलनाथ बराल २०८२ साउन १३ गते १२:३१

गेटबाट छिर्नेबित्तिकै एउटा आवाज आयो, ‘ए ! कोही छ ?’
‘छैन साप,’ जवाफ थियो ।
फेरि आवाज आयो, ‘ढाममा लैजा’ ।

Advertisement


त्यसपछि घिसार्दै, मुन्ट्याउँदै, लछार्दै र थप्पड्याउँदै लगियो । सायद ढाम भनेको त्यही थियो होला । त्यहाँ रोदन थियो, क्रन्दन थियो, चिच्याहट थियो । कोही महिलाका चित्कार थिए, कोही पुरुषका ऐया ! ऐया ! को दर्दनाक आवाज थिए । ती सबै रोएका, कराएका र खपिनसक्नु दुखाइका गरुंगा आवाज र गुहार थिए । तर त्यहाँ कसले उनीहरूका याचना र गुहार सुन्ने ! जति करायो, चिच्यायो उति नै यातना र कठोर प्रताडना थपिन्थ्यो । सम्भवतः त्यो ठाउँ निकै ठूलो यातना गृह थियो होला ।


त्यहाँ निकै कठोर एवं निर्मम यातना दिन सक्ने हृदयविहीन जल्लादहरूको जमात थियो होला र त उनीहरूले ती निर्दयी प्राणीहरूमाथि निर्मम यातना दिँदै थिए होलान् । एक जना यातनापीडित मार्मिक वेदना व्यक्त गर्दै थिए । यत्तिकैमा मैले कुनै आवाज सुनिनँ । सायद यातना ममाथि खनिएछ क्यारे ! यातनाको अवधि कति समयको थियो, मैले थाहा पाउने कुरा भएन । जब म होसमा आएँ, मेरो शरीर नांगै पाएँ ।

Advertisement


मात्र च्यात्तचुत्त पारिएको पाइन्ट साथमा रहेछ । नाडीमा घडी पनि रहेनछ । ज्याकेट, स्विटर, हाइनेक, मफलर, कमिज, टोपी त कता पुगे के थाहा ! दुवै हात पछाडि लगेर बाँधिएको रहेछ भने दुवै आँखामा पट्टी । के देख्ने, के छाम्ने ! पुस महिनाको चिसोले छिट्टै चेतना जगाएछ कि ! फेरि कोलाहल र चित्कारका कर्कश आवाज कानमा ठोक्किन थाले । यातनापीडितका आवाजमात्र सुनिन्छ । अहँ, कोही छ कि छैन थाहा पाउन सक्ने अवस्था थिएन ।


अब यातनाको पीडासँगै चिसोको पीडा थपिँदै गयो । त्यहाँ नजिकै एउटा यातनाकर्मी बसेको रहेछ । ‘चिसो भयो, मेरो लुगा खोइ ?’ भन्दा ‘सापले नभनी दिन मिल्दैन’ भन्ने जवाफ आयो । त्यसको साप को हो ? कहाँ छ ? कहिले आउँछ ? के थाहा ! केही छिनपछि ट्वाक–ट्वाक बुट बजेको सुनियो । उसको साप त्यही हो कि जस्तो लागेर मेरो आवाज फुत्किहाल्यो–‘जाडो भयो’ ।

Advertisement


‘यसले हामीलाई सहयोग गर्दैन’, भन्दै त्यो ट्वाक–ट्वाक आवाज कतै गयो । त्यसपछि त्यहाँको कुरुवाले टाँक खुस्केको कमिज र हाफ स्विटर ख्वाप्प शरीरमा हालिदियो । यो एउटा यातनापीडित व्यक्तिको आवाज हो । यातनापीडित भन्दै जान्छ–यो घटना थियो विसं २०५८ साल पुस महिनाको ४ गते राति २ बजेदेखि ४ बजेसम्मको ।

मार्नै परे पनि गोली खर्चेर नमार्ने रे ! एउटा गोलीको मूल्यभन्दा पनि सस्तो थियो यातना गृहको पीडितहरुको जीवन ।

त्यो राति दुई दर्जन सेनाले घर घेरेर खानतलासी गरी उनीहरूकै भ्यानमा हालेर मलाई लगिएको थियो । फुलबारी ब्यारेकको गेटमै पुग्नेबित्तिकै आँखामा पट्टी बाँधेर ब्यारेकभित्र हुलियो । त्यसपछि त्यहाँ कानले सुन्ने काममात्र गरेँ, अरू इन्द्रियहरू सबै बन्दी बनाइयो । त्यहाँ रहँदासम्म एउटा नियमित कार्यतालिका बनाइएछ ।


एक घण्टा केरकार अर्थात् अन्तर्वार्ता र दिनहुँ एक घन्टा यातना । अन्तर्वार्ता त के थियो र ! दिनहुँ अन्टसन्ट प्रश्नमात्र । नबोले पनि यातना, बोले पनि यातना । यातनाको तालिका भने कठोर र निर्मम थियो । एउटा काठको कुर्सीमा बसाल्ने र टाउको, छाती र खुट्टामा मिलाई–मिलाई यातना दिने । यो यातना हामी त्यहाँ रहँदासम्म निरन्तर चली नै रह्यो । यातना दिने क्रममा नियमित रूपमा चार जना हुनुपर्छ भन्ने लाग्छ, किनकि एक जना प्रश्न सोध्ने, एकजना दायाँ, एकजना बायाँ र एक जना बन्दुकको कुन्दाले छातीमा घोच्ने । एउटा कुरा के थियो भने हप्ता–दश दिनसम्म प्रश्न गर्ने मान्छे एउटै थियो जस्तो लाग्छ, किन कि आवाज एउटै थियो ।


उसो त ब्यारेकभित्र रहँदा दिन र रात उस्तै–उस्तै हुन्थ्यो । फरक के थियो भने दिनमा त कोही हुँदैनथे तर रातमा सेन्ट्री पोस्टमा एक–एक घन्टामा घन्टी बज्दथे । एउटा पोस्टमा बजाएपछि क्रमशः आठै पोस्टमा एक–एक घन्टी बज्दै जान्थे । रात परेछ भन्ने बुझिन्थ्यो । खानाको कुरा के गर्नु र ! चौबीस घण्टामा एक पटक एउटा मग जस्तोमा पानी हुने रहेछ । ‘हात हाल’ भन्यो, हात हालेर हल्लाउने र अर्को मग जस्तोमा चिसो मुछेको भात हुन्थ्यो । दुई–चार गाँस खायो, त्यत्तिकै हो ।


त्यहाँ मानवीय व्यवहार त छँदै थिएन । पशुभन्दा पनि तल्लो व्यवहार गरिन्थ्यो । मारिन ल्याइएका जन्तु न थिए ती निर्दोष प्राणी ! यातना दिँदा–दिँदै मरे पनि ठीकै छ । मार्नै परे पनि गोली खर्चेर नमार्ने रे ! एउटा गोलीको मूल्यभन्दा पनि सस्तो थियो यातना गृहको पीडितहरूको जीवन । कस्तो निर्दयी यातना ! यो हो यातनापीडित नागरिकले पाएको यातनाको सानो शब्दचित्र ।


यो समय काल थियो स्वघोषित राजा ज्ञानेन्द्र शाहले सत्ता कब्जा गरेको समय । उसैको गद्दी जोगाउन उसैको निर्देशनमा निर्दोष एवं निशस्त्र नागरिक भटाभट मारिएका थिए । चरम यातनाले मानिसका अंगभंग भएका थिए । ठूलो संख्यामा नागरिक बेपत्ता पारिएका थिए । अर्कोतर्फ देशमा सामन्ती राजतन्त्र उखेलेर जनताको गणतन्त्र स्थापना गर्ने संघर्ष सञ्चालित थियो । युगान्तकारी जनयुद्धले तानाशाही राजतन्त्रका जरा गाउँ–गाउँबाट उखेल्दै थियो । ज्ञानेन्द्रतन्त्रका पहरेदार शाही सेना ब्यारेकमा केन्द्रित थिए ।


तानाशाह ज्ञानेन्द्रशाही र शाही सेना निहत्था नागरिकमाथि ‘भालुको रिस खनियाँमाथि’ भनेझैँ गरी खनिएका थिए । शोषण, दमन चरम थियो । धरपकड तीव्र थियो । मानवअधिकार तथा सम्पूर्ण नागरिक अधिकार अपहरण गरिएका थिए । राजनीतिक दलहरू प्रतिबन्धित थिए । नेट, इन्टरनेट लगायतका सञ्चारमाध्यम बन्द गरिएका थिए । पत्रपत्रिकाहरू जफत गरिएका थिए । नागरिकहरू स्वतन्त्र रूपमा हिँडडुल गर्न रोक लगाइएको थियो । देशव्यापी रूपमा संकटकाल लगाइएको थियो । यो तानाशाह ज्ञानेन्द्रको कार्यकाल पञ्चायती निरंकुशतन्त्रको चरम दमनचक्रको उत्कर्ष समय थियो ।


यो मुलुकमा छोटा, बडा श्री ३ तथा श्री ५ भनिने राजा–महाराजाहरूले त सयौँ वर्षदेखि शासन गर्दै आए । शोषण र दमनको सीमा रहेन । त्यसैगरी शाहवंशीय राजाहरूले प्रत्यक्ष शासन गरेको कालखण्ड (विसं २०१७–२०४६) तीस वर्ष निर्दलीय पञ्चायती निरंकुशतन्त्र थियो । सो अवधिमा दलहरू प्रतिबन्धित थिए । संघ, संगठन खोल्न बन्देज थियो । राजा र पञ्चायती व्यवस्थाका विरुद्धमा बोल्ने र लेख्ने अधिकार थिएन । वाक् तथा अभिव्यक्ति स्वतन्त्रता थिएन । स्वतन्त्रता तथा मानवअधिकारका बारेमा आवाज उठाउँदा जेल जानुपर्दथ्यो । नागरिक अधिकारका कुरा उठाउँदा नागरिकहरू बेपत्ता पारिन्थे र अराष्ट्रिय तत्व घोषित हुनुपर्दथ्यो ।


राजा–महाराजा, भाइभारदार र उनका आसेपासेहरू मूर्ति तस्करी, गाँजा, चरेस तस्करी, जडीबुटी तस्करी तथा वन्यजन्तु तस्करीमा लिप्त थिए । उनीहरू मानव तस्करी तथा काठ तस्करी गरेर करोडौँ/अरबौँ रुपैयाँ कमाइ गर्थे । त्यस्तै शासक तथा प्रशासकहरू घुसखोरी र भ्रष्टाचारमा चुर्लुम्म डुबेका हुन्थे । बोल्ने र लेख्ने अधिकार थिएन । उनीहरू राज्यको ढुकुटीमा हालीमुहाली गर्थे । राज्यको सम्पत्तिबाट बनाइएका दरबारहरू सरकारलाई नै बेच्ने र राजा–महाराजाहरूले पैसा कुम्ल्याउने गर्दथे । यस्तो अन्याय र अत्याचारबारे जनता चूप बसिदिनुपथ्र्यो ।


अहिलेको जेन–जी पुस्ताले राजा–महाराजाहरूको प्रत्यक्ष शासनकाल बेहोर्न र त्यस्तो अन्याय र अत्याचार पनि देखेनन् । तसर्थ उसले संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्र राम्रो हो कि भनी सोच्नु एक हदसम्म ठीकै हुन सक्ला, तर त्यो पुस्ता जसले राजतन्त्र देख्यो, बेहो¥यो, उसले किन राजा–महाराजाको जयजयकार गर्दछ ? किन ‘राजा आऊ, देश बचाऊ’ भनेको छ ? यो विडम्बना हो । उसले राजा–महाराजाको आसेपासे भएर तर मारेको बिर्सन नसकेको होला । फेरि पनि तर मार्ने सपना देख्दो हो । त्यो त केवल दिवास्वप्न मात्र हो ।


यो बुझ्न जरूर छ कि समाज निरन्तर अग्रगमनतिर रूपान्तरण हुँदै जान्छ, पश्चगमन सम्भव छैन । किनकि नयाँ पुस्ता नयाँ सोच, नयाँ विचार र नयाँ चिन्तन लिएर अगाडि बढिरहन्छ । यो वैज्ञानिक नियम पनि हो । नेपालमा केही छैन, केही भएको छैन भन्ने भाष्यका विरुद्ध सचेत नागरिक उठ्नुपर्दछ । अन्यथा जनयुद्ध तथा जनआन्दोलनहरूमा जीवन बलिदान गर्ने योद्धाहरूप्रति अन्याय हुनेछ ।
चेतना भया !

तपाईको प्रतिक्रिया