स्पोर्टस अवार्डमा पोखरा महानगरको साथ

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्चले २२ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्ड–२०८१ पोखरामा गर्न लागेको छ । पोखरा महानगरपालिका मुख्य प्रवद्र्धनमा आगामी भदौ २९ गते नेपालको पर्यटकीय राजधानी पोखरामा पहिलो पल्ट अवार्ड कार्यक्रम हुन लागेको हो । २१ औं सस्करणसम्म स्पोर्टस अवार्ड काठमाडौं केन्द्रित थियो ।
इभेन्टहरुको शहरको रुपमा परिचय बनाइसकेको पोखरामा महानगरको विशेष सहयोगमा मञ्चले पहिलो पटक काठमाडौं बाहिर अवार्ड गर्न लागेको मञ्चका अध्यक्ष निराजन अधिकारीले जानकारी दिए । ‘अवार्डको आकार र दायरालाई फराकिलो पार्दै अगाडि बढ्ने क्रममा पहिलो पटक पल्सर स्पोर्टस अवार्ड काठमाडौं बाहिर गर्ने सोंच अनुरुप थुप्रै शहरबीचबाट पोखरा छानेका छौं,’ अध्यक्ष अधिकारीले भने, ‘अवार्ड पोखरा ल्याउने सोंचमा महानगरको हार्दिकताले मञ्चको छनोटलाई अझ बढी सान्दर्भिकता प्रदान गरेको छ ।’ उनले महानगरपालिकाले वर्ष २०२५लाई पोखरा भ्रमण वर्षको रुपमा मनाइरहेको बेलामा अवार्डको आगमनले त्यसमा ठूलो योगदान गर्ने विश्वास लिएको बताए ।
पोखराका मेयर धनराज आचार्यले खेलकुद क्षेत्र पर्यटनको महत्वपूर्ण विधा भएको बताए । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने उनले उल्लेख गरे । स्पोर्टस अवार्डको प्रवद्र्धनका लागि महानगरपालिकाले आफ्नो वार्षिक विकास कार्यक्रममा समेटेको मेयर आचार्यले बताए । पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको सन्दर्भमा स्पोर्टस् अवार्ड पोखरामा आयोजना गर्नु पोखराका लागि निकै महत्वपूर्ण अवसर हुने उल्लेख गर्दै उनले स्पोर्टस अवार्डका माध्यमबाट पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म प्रचारप्रसारमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हबको सहरका रूपमा विकास गर्ने गरी मौजुदा पूर्वाधारहरूको सबलीकरण र पूर्वाधारहरू निर्माण गर्ने कार्यमा महानगरपालिकाले आवश्यक समन्वय तथा सहकार्य गरिरहेको मेयर आचार्यले बताए । पोखरालाई सबै हिसाबले पर्यटन गन्तव्यका रूपमा विकास गर्न यस्ता प्रकारका कार्यक्रमहरूको नियमिततामा उनको जोड थियो । मेयर आचार्यले पोखरा सबै मौसममा खेल्न सकिने र सबै खेलको पूर्वाधार भएको शहर भएको बताए ।
नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव अन्जन खड्काले भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा हुने अवार्ड अन्तर्गत विगतमा जस्तै १० विधामा खेलाडी र खेलकर्मी पुरस्कृत हुने जानकारी दिए । ‘वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलेटिक्स सम्मान अवार्डमा विधामा समावेश छन्,’उनले भने, ‘अवार्डमा टिम अफ दि इयर, स्पेसल अवार्ड, लाइफ टाइम अवार्ड, एसियन स्पोर्टस जर्नालिजम अवार्ड समावेश गरिएको छ ।’ उनले उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेता हरेकले पल्सर मोटर साइकल पुरस्कार प्राप्त गर्ने बताए । अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँका दरले पुरस्कृत गर्ने उल्लेख गरे ।
महासचिव खड्काले खेलप्रेमीको मतका आधारमा विजेता चयन हुने पिपल्स च्वाइस अवार्डका लागि ५ उत्कृष्ट खेलाडीको मनोनयन मञ्चले आगामी केही दिनमा सार्वजनिक गर्ने योजना सुनाए । मञ्चले उत्कृष्ट खेलाडी, पुरुष, महिला, युवा र प्रशिक्षकको विधामा पनि ५÷५ जनाको मनोनयन सार्वजनिक गर्ने छ ।
मनोनित मध्ये विजेताको घोषणा अवार्डकै दिन हुने महासचिव खड्काले बताए । लाइभ टाइम अचिभमेन्ट, स्पेसल, टिम अफ दि इयर र एशियन जर्नालिष्ट विधामा सोझै विजेताको छनोट हुने जानकारी दिदै उनले सबै विधाका विजेताको कार्यक्रममा घोषणा हुने बताए । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका निवर्तमान अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले अवार्डको बारेमा बोलेका थिए ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया