जब सम्बन्ध मृत्युको किनारमा पुग्छ

मानिसहरु प्रेममा डुब्छन्, म भने प्रेमको किनारै छुने आँट गर्न सक्दिन । विवाहको नाम लिँदा पनि एक प्रकारको अनिश्चय मनमा बज्छ । त्यसैले मलाई प्रेम र विवाहसँग डर लाग्छ । प्रेमको कुनै कारण हुँदैन – जहाँ कारण हुन्छ, त्यहाँ प्रेम होइन, लेनदेन हुन्छ । यदि साँचो हो भने, प्रेम शुद्ध हुन्छ – बिना कारण, बिना शर्त, बिना स्वार्थ ।
कारणले जन्मेका सबै कुरा समयसँगै बदलिन्छन् । आज जुन कारण छ, भोलि त्यो हट्न सक्छ । कारणमा आधारित प्रेम सम्झौता हो–व्यापार हो । तर साँचो प्रेम स्वतःस्फूर्त हुन्छ, त्यो कुनै कारणको खोजी गर्दैन, त्यो प्रेम बन्छ, बग्छ, फैलिन्छ । जुन प्रेममा अपेक्षा हुन्छ, त्यो बन्धन बन्छ । जुन प्रेममा शर्त हुन्छ, त्यो दबाब हुन्छ । जुन प्रेममा तुलना हुन्छ, त्यो ईष्र्या हो । प्रेम तब मात्र प्रेम हुन्छ, जब त्यो स्वतन्त्र हुन्छ – जहाँ न कुनै स्वार्थ हुन्छ, न दबाब, न त कुनै चाहना ।
फूल जसरी फुल्छ र आफ्नो सुगन्ध सबैतिर दिन्छ, प्रेम पनि त्यस्तै हो । त्यसले को आयो, को गयो भन्ने हिसाब राख्दैन । त्यसैले साँचो प्रेममा अधिकारको दाबी हुँदैन, नियन्त्रणको चाहना हुँदैन । त्यसैले जब तपाईं प्रेम गर्नुभएको छ र ’किन?’ भन्ने प्रश्नको जवाफ दिन सक्नुहुन्छ भने, त्यो प्रेम होइन, त्यो कारण हो ।
र जहाँ कारण छ, त्यहाँ प्रेम हुँदैन । एक साताअघि ललितपुर चापागाउँका २६ वर्षीय युवक रिनेश घिमिरेको आत्महत्याको खबर सामाजिक सञ्जालमा निकै भाइरल भयो ।
१५ जुलाईमा रिनेशले आफ्नो फेसबुकमा एक स्टाटस लेखेः
’बाउ–आमाको बुढेसकालको सहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्ज्वल भविष्यको शुभकामना अनि धेरैधेरै माया । अलविदा !’
हाम्रो हातमा छ, कस्तो प्रेम गर्ने, जीवन दिने प्रेम कि जीवन लिने प्रेम ।
त्यस स्टाटससँगै उनले एक युवतीको तस्बिरसमेत राखे । र स्टाटस लेखेको १५ मिनेटमै, उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परे ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार रिनेशले प्रेमिकासँगको मनमुटावका कारण आत्महत्या गरेका हुन् । घटनापछि युवती – दोलखाकी सुप्रिया खड्का – प्रहरी सम्पर्कमा आइन् र अहिले आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताउँछ । उनीहरूको प्रेम लामो समयदेखि थियो ।
तर अन्त्य… यस्तो?
रिनेश छैनन्, तर उनीहरूका धेरै भिडियोहरू, उनको आक्रोश र अन्तिम शब्दहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
यस घटनाले फेरि पनि प्रेमबारे सोच्न बाध्य बनाउँछ –
के प्रेम यस्तो हो, जहाँ बिछोडको अर्थ मृत्यु हुन्छ ?
के हामी आजका युवालाई भावनात्मक शिक्षा, जीवनसँग जुध्ने साहस दिन असफल भयौँ ?
साँचो प्रेमले जीवन दिन्छ, जीवन लिँदैन । सम्बन्ध टुट्नु अपरिहार्य प्रक्रिया हो, तर त्यो अन्तिम होइन ।
हामीले सिकाउनु जरुरी छ – बिछोडसँग बाँच्न सकिन्छ । पीडालाई आत्महत्यामा रूपान्तरण गर्नु समाधान होइन । त्यो स्थायी शून्यता हो, जुन बाँच्नेहरूलाई जिन्दगीभर पोलिरहन्छ ।
समाजले प्रेमलाई लेनदेनको रूपमा बुझिरहेको बेला, यस्तो घटना केवल दुःखद मात्र होइन, चेतावनी पनि हो । अब प्रेमको परिभाषा फेर्नुपर्ने समय आएको छ – जहाँ प्रेम स्वतन्त्र होस्, जहाँ सम्बन्धमा आत्म–सम्मान बाँचोस्, र जहाँ बिछोड पनि जीवनको हिस्सा हो भन्ने चेतना जागोस् ।
हामीले प्रेम गर्न सिक्नुपर्छ – हाम्रो हातमा छ, कस्तो प्रेम गर्ने, जीवन दिने प्रेम कि जीवन लिने प्रेम ।








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया