पर्वतीय दौडमा धावक दर्ता थाल्न सुझाव

समाधान संवाददाता २०८२ साउन १६ गते ११:१५

पोखरा ।
आगामी असोजको ४ गते पोखरामा हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक सहभागी गराउन तत्काल दर्ता प्रक्रिया सुरु गर्न पर्यटन व्यवसायीहरूले सुझाव दिएका छन् । पोखरा क्लिकले बिहीबार आयोजना गरेको पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघ, संस्थाका प्रतिनिधि तथा सरोकारवालासँगको छलफलका वक्ताले उक्त सुझाव दिएका हुन् ।


विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा उल्लेख्य विदेशी धावकलाई सहभागी गराउन व्यवसायीहरूले आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धतासमेत जनाए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले पोखराको मुख्य बजारदेखि नजिक रहेको पोखरा २२ पुम्दीभुम्दी क्षेत्र विभिन्न ढंगले पछि परिरहेको हुँदा यस्ता गतिविधि त्यस क्षेत्रको आयआर्जन र खेल पर्यटन प्रवद्र्धन गर्नमा कोशेढुंगा साबित हुने बताए ।


उनले भने, ‘पोखराको लेकसाइड र नेपालका धेरै पदमार्ग यति बेला बिग्रेका छन् तर पोखरा नजिकै रहेको पुम्दीभुम्दी, रानीवन क्षेत्र अझै बिग्रेको छैन । त्यहाँ पर्यापर्यटनको राम्रो सम्भावना छ ।’ वर्षको विश्व पर्यटन दिवसलाई पर्यटनको राजधानी पोखरामा भव्य रूपमा मनाउन राजदूतहरूलाई पोखरामा निम्ता गरेर उनीहरूको इच्छा अनुसार पोखरा र पोखरा क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्‍याउन पनि उनले सुझाए ।

Advertisement


नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत युवराज गुरुङले विश्व पर्यटन दिवसका सन्दर्भमा आयोजना हुने प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिए । भने, ‘हामीले चाहँदा चाहँदै पनि कर्मचारी विविध सीमाभित्र बाँधिनुपर्ने, कसरी जोगिने भन्ने चुनौती छन् । तापनि पर्यटन बोर्डको समयमै बजेट आएकाले पर्यटन प्रवद्र्धन हुने प्रदेशस्तरकै कार्यक्रम समयमै सञ्चालन गर्ने छौँ ।’


पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले पोखरासँग जोडिएको पोखरा २२ किन बनेन भनेर चिन्तन गर्न ढिलो भएको जनाए । परिषद्का महासचिव जीवनराज सापकोटाले आयोजकले दीर्घकालीन सोचका साथ उक्त प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

Advertisement


होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगितालाई सफल पार्न आफूहरूले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखराको नौलो विधाको रूपमा आएको पर्वतीय दौड प्रतियोगितालाई आफूहरूले साथ र सहयोग गर्ने वाचा गरे ।


नाट्टा गण्डकीका पूर्वअध्यक्षसन्तोष पोखरेलले धेरै विदेशी धावकलाई सहभागी गराउनु व्यापक तयारीका साथ अगाडि बढ्न सुझाव दिए । पोखरेली ट्याक्सी सेवाका अध्यक्ष शोभाकान्त पौडेलले पोखराको पर्यटकीय क्षेत्रलाई खेलका माध्यमबाट थप प्रचारप्रचार गराउने उक्त अभियानलाई आफूहरूले सहयोग गर्ने जनाए । आफूहरूसँग भएका दुई हजार ट्याक्सीमा स्टिकर टाँस गरेर प्रचारप्रसार गर्नसमेत तयार रहेको उनको भनाइ छ ।


कार्यक्रममा नाटा गण्डकीका अध्यक्ष किशोर दाहाल, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसी, पत्रकार कृष्णमणि बराल लगायतले प्रतियोगितालाई नयाँ ब्रान्डका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । सहभागीहरूले दिएका सुझावलाई मनन गर्दै जति सक्दो छिटो विदेशी धावकलाई सहभागी गराउन फर्म खुला गर्ने संयोजक दिननाथ बरालले सुनाए ।


पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले प्रतियोगिताको मुख्य उद्देश्य पोखरा क्षेत्रका पर्यटकको बसाइ लम्ब्याएर खेल पर्यटनका माध्यमबाट गाउँ पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिसँग पोखरा २२ लाई जोड्ने रहेको बताए । प्रतियोगिता गर्न नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्य छ ।

तपाईको प्रतिक्रिया