बालबालिका स्याहार्न अभिभावकलाई तालिम

समाधान संवाददाता २०८२ साउन १८ गते १६:४८

पोखरा ।
स्वावलम्बन जीवन पद्वति केन्द्र पोखराले स्नायु विकासात्मक अपांगता भएको बालबालिकाको अभिभावकका लागि सशक्तीकरण र क्षमता निर्माण तालिम दिएको छ । तालिममा अटिजम, बौद्विक अपांगता र सेरेब्रल पल्सी भएका बाल बालिकाका ५० अभिभावकको सहभागिता छ ।

Advertisement


दुई दिने तालिमका डा देवेन्द्रमान पालिखे, अकुपेसनल थेरापिष्ट सुदीप औजी, मनोविद सम्झना पराजुली र स्पिच थेरापिस्ट ईशा बस्तीले सहजीकरण गरेको केन्द्रका अध्यक्ष हेम गुरुङले जानकारी दिए । कोरियाको अपांगता भएका व्यक्तिहरुको विकास संस्थान (कोडी)को सहयोगमा सञ्चालित नेपालमा अपांगता समावेशी शिक्षा तथा सिकाईको विश्वव्यापी ढाँचा प्रवद्र्वन परियोजना अन्तर्गत तालिम कार्यक्रम भएको हो ।


गण्डकी प्रदेश सभामा नेकपा (एमाले)का प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सहभागी अभिभावकलाई सहभागिताको प्रमाणपत्र वितरण गरे । उनले अपांगता भएका बाल बालिकाका लागि उचित रेखदेखका लागि तालिम प्राप्त हेरचाहकर्ता आवश्यक पर्ने बताए । ‘सम्बन्धित अभिभावकको सशक्तीकरण र क्षमता अभिवृद्धि भएको खण्डमा बाल बालिकाको रेखदेख र हेरचाह गर्न सहज हुन्छ,’ उनले भने, ‘चुनौती र पारिवारिक बोझको रुपमा लिन भन्दा असल अभिभावक भएर जिम्मेवारी पुरा गर्न आवश्यक छ ।’

Advertisement


उनले आत्मबल बलियो बनाएर अभिभावकको दायित्व पूरा गर्न आग्रह गरे । उनले गण्डकी प्रदेश सभाले प्रादेशिक अपांगतासम्बन्धी ऐन निर्माणको क्रममा रहेको जानकारी दिए । स्वावलम्बन जीवन पद्वति केन्द्र पोखराका अध्यक्ष गुरुङले अपांगताको समग्रं सवाललाई सम्बोधन गर्न बहु विशेषज्ञको समूह आवश्यक पर्ने बताए ।

स्नायु विकासात्मक अपांगता भएका बाल बालिकाको रेखदेख र हेरचाहका लागि अभिभावक प्राविधिक रुपमा दक्ष बन्न आवश्यक भएको जानकारी दिँदै उनले दक्ष भएर व्यवस्थापन गर्नको लागि तालिममा अभिभावकको लागि स्याहार सीप, सञ्चारसीपको बारेमा प्रशिक्षण दिएको उल्लेख गरे ।

Advertisement


उनले अपांगता समावेशी शिक्षा तथा सिकाईको विश्वव्यापी ढाँचा प्रवद्र्वन परियोजनामार्फत अपांगता भएको बालबालिकाको व्यक्तिगत सघन सिकाइमा सहजीकरण गरेको जानकारी दिए । स्वावलम्बन जीवन पद्वति केन्द्र पोखराका महासचिव अञ्जना केसीले गण्डकी प्रदेशका अपांगता भएका व्यक्तिको हक हित प्रवद्र्धनका लागि कार्यकारी उपाध्यक्षको व्यवस्था गर्न माग गरिन् ।

तपाईको प्रतिक्रिया