सम्पादकीय—पोखराको तायाः मचाः

हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा (साँपारु) पर्वसँगै पोखराका सडकमा एक विशेष रौनक छाउँछ । दिवंगत आत्माको सम्झनामा निकालिने यो पर्वको गम्भीरतालाई कलात्मक र मनोरञ्जनात्मक रङ दिने काम ‘तायाः मचाः’ नाचले गर्छ । परीको भेषमा सजिएर नाचिने यो मनमोहक नृत्य केवल एक सांस्कृतिक प्रस्तुति मात्र होइन, यो पोखराको नेवार समुदायले जन्माएको, हुर्काएको र सिंगो पोखरालाई नै उपहार दिएको एक जीवन्त पहिचान हो । गाईजात्रा संरक्षणकै खातिर हरेक वर्ष प्रतियोगितात्मक रुपमा पर्व मनाउन थालिएको छ ।
तायाः मचाः को इतिहास आफैमा रोचक छ । १९४० को दशकमा भक्तपुरको घिन्ताङ घिसी नाचको सिको गर्दै पोखरामा ‘दही लीला’ का रूपमा सुरु भएको यो यात्रा सांस्कृतिक विकासको अनुपम उदाहरण हो । सुरुमा कृष्ण र गोपिनीको लीलामा आधारित, व्यावसायिक वृद्धिको अप्रत्यक्ष उद्देश्यसमेत बोकेको यो नाच समयक्रमसँगै परिमार्जित हुँदै गयो । दहीको घडा हट्यो, गोपिनीहरूले पखेटा र ताज लगाएर परीको रूप लिए, र ‘दही लीला’ को नाम ‘तायाः मचाः’ मा बदलियो । नितान्त मनोरञ्जनबाट सुरु भएको एउटा नाच कसरी सिंगो समुदाय र सहरको सांस्कृतिक धरोहर बन्न सक्छ भन्ने कुराको जीवन्त प्रमाण तायाः मचाः हो । यो नाच पोखराको नेवार समुदायको सिर्जनशीलता र अनुकूलन क्षमताको प्रतीक हो, जसले बाहिरी प्रभावलाई ग्रहण गर्दै आफ्नो मौलिक पहिचान निर्माण गर्यो ।
कुनै पनि संस्कृतिको जीवन्तता त्यसको निरन्तरतामा निर्भर गर्छ । २०२५ सालदेखि सामूहिक रूपमा र २०३८ सालदेखि विभिन्न क्लब र संस्थाहरूको प्रयासमा प्रतियोगिताका रुपमा आयोजना हुँदै आएको तायाः मचाः लाई २०५६ सालदेखि नेवाः खलः कास्कीले निरन्तरता दिनु अत्यन्तै प्रशंसनीय कार्य हो । विश्वव्यापीकरणको प्रभावले रैथाने संस्कृतिहरू ओझेलमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा, नेवाः खलः जस्ता संस्थाहरूको संगठित प्रयासले मात्र यस्ता मौलिक परम्परालाई भावी पुस्तामा हस्तान्तरण गर्न सकिन्छ । आकर्षक पुरस्कार राशि र भव्य आयोजनाले नयाँ पुस्तालाई यसप्रति आकर्षित मात्र गरेको छैन, संस्कृतिको संरक्षणलाई उत्सवमय बनाएको छ ।
यस वर्षको आयोजना शिशुवामा हुनुले दुईवटा महत्वपूर्ण सन्देश दिएको छ । पहिलो, यो संस्कृति पोखराको पुरानो बजार क्षेत्रमा मात्र सीमित छैन, बरु नेवार समुदायको बसोबास विस्तारसँगै यो पोखरा उपत्यकाभरि फैलिरहेको छ । दोस्रो, यसले सांस्कृतिक विकेन्द्रीकरणलाई प्रोत्साहन गर्छ, जसले स्थानीय स्तरमा समुदायको अपनत्व र सहभागिता बढाउँछ । आयोजकहरूले भनेजस्तै, यो कार्यक्रमले नेवार समुदायलाई मात्र नभई सबै जातजाति र धर्म–संस्कृतिका लागि साझा उत्सवको वातावरण बनाउँदै सामाजिक सद्भाव र भाइचारा प्रवद्र्धन गर्ने लक्ष्य राख्नु आफैँमा सकारात्मक छ ।
तायाः मचाः पोखराको सांस्कृतिक आत्माको एक सुन्दर अभिव्यक्ति हो । यो केवल नाच होइन, यो इतिहास, व्यापार, मनोरञ्जन, सिर्जनशीलता र सामुदायिक प्रयासको एकीकृत कथा हो । यसले कसरी एउटा समुदायको पहलले सिंगो सहरको पहिचान निर्माण गर्न सक्छ भन्ने देखाउँछ । यसलाई केवल एक दिने प्रतियोगितामा सीमित नराखी, यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे नयाँ पुस्तालाई सुसूचित गराउँदै यसलाई पोखराको पर्यटनको एक महत्त्वपूर्ण आकर्षणका रूपमा विकास गर्न सके यसको सार्थकता अझ बढ्नेछ । तायाः मचाः को लयमा पोखराको सांस्कृतिक एकता र सद्भाव सधैं गुञ्जिरहोस् ।









कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्रीद्वयले विधान संशोधनको प्रस्ताव पेस गर्ने
चिसोले मुस्ताङ सुनसान
पेन्टिङ पर्यटक लोरा
किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया