
दुनियाँले पाती लगाइदिने अवसर जुरेको एकजना ’कन्जरे’ दशौँ पटक रुँदै… बाहेकका खिर्राका बिउहरूले सताउनसम्म सताए के गरौँ भनेर विलौना गरेको हिजोअस्तिजस्तै लाग्छ । खिर्राको बिउको लेप लगाए पनि पाती लगाउने काममा त टाउको अघि सार्नुभएछ त भन्दा विभिन्नखाले बाध्यता वा परिवेश देखाएर डाँको छोड्नेको हुन त स्वभाव छिन–छिनमा विरोध, छिन–छिनमा मिलाप, छिन–छिनमा दम्भ–अहंकार, छिन–छिनमा लत्र्याकलुत्रुक हुने गर्छन् । बाख्रे स्वभावको एकजना दुईखुट्टाले उभिएको तर पशुवत् मानव जसले जो भेटियो उसँग विलौना वा रोना–धोना गर्नुका साथै हावा गफमा गफिने लखन्तरेका मुखबाट सुनिएअनुसार त उनीहरू खिर्राकै बिउ हुन् ।
जसरी पाती लगाएर समाजका अघिल्तिर आफ्नो नादानी औलाद प्रदर्शन गर्ने, श्राद्ध गर्न आएका पुरोहितलाई एकछाक भात खुवाउने हैसियत नभएर बारीको मकै पोलेर खुवाएर काछो टार्ने हैसियतको परिवारले अरूको जरो खन्ने, पाइला–पाइलामा विरोध गरेर अरूमाथि विपत्ति थोपर्ने, गंगटाले झैँ पेटतिर दाह्रा पाल्ने कर्म देखाएकै छ । सो समूहले सो समूहप्रति बफादार हुने वा आफ्नै हौँ भन्नेहरूलाई समेत पल–पलमा धोका र बेइमानी गरेको अनुभव र अनुभूति सबैले गरेकै विषय हो ।
सर्वथा अनैतिक चरित्र, सोच र चिन्तनले लिप्त रहने खिर्राको बिउ सदैव आफन्तमाथि धराप थाप्न, जुकाले झैँ चुस्न उद्यत रहने गरेको छ । खिर्राको बिउलाई उकेरा लाउनेहरूलाई मेरो यथार्थ आग्रह यो पनि छ, खीर्रो जोगाउँदा कतै तपाईंको आफ्नै अल्पायुमै बलिदान नहोस् । अरूलाई मिठो तर ’कर्दयुक्त’ बोलीले कोखो छेडेर अल्पायुमै बलि चढ्न बाध्य तुल्याउने विषालु समूह भएकाले उनीहरू पक्कै पनि खिर्राकै बिउ हुन्, यसमा कुनै शंका रहेन ।
धेरैजनाले खिर्राको बिउलाई असली बिउ ठानेर संग्रह पनि गरेको देखियो । पहिलो विश्वास वा प्रयासले समाजलाई हेरचाह, रेखदेख, पालनपोषण गर्नुको बदला अज्ञानता, कुमार्ग, कुविचारको सञ्चार गर्न उद्यत रहेको अवस्थाका कारण पनि उनीहरू अवश्य खिर्राकै बिउ हुन् ।
यदि उनीहरू खिर्राका बिउ हुँदैनथे भने त उनीहरूसँग कुलको संस्कारअनुसारको स्वस्थ सन्तुलित व्यवहार, औचित्यपूर्ण प्रस्तुति, बन्धुत्वको रुचि, धैर्य, प्रेम, उत्साह वा नैतिक चरित्रजस्ता गुणहरू एकसाथ प्रदर्शन हुन सक्थे होला । तर उनीहरू त गंगा गए गंगादास, जमुना गए जमुनादास, गंगा र जमुनालाई सँगसँगै देखेमा भागाभागको अवस्थामा हुन्छन् । ज्ञान र कौशलताले क्षीण भएका, पटक्कै उत्तरदायित्व बोध नभएका, स्थापित मूल्य–मान्यता र आदर्शबाट च्युत भएकाहरूको समूह भएकाले यिनीहरू पक्कै पनि खिर्राकै बिउ हुन् ।
खिर्राका बिउहरूले विभिन्न बहानामा थापेका धरापमा तपाईं वा तपाईंजस्तै अर्को कोही दुर्घटनामा परेको याद गर्नुभएको छ/छैन?
उनीहरूका कुनै पनि अवशेषको ध्यान न्याय वा स्वतन्त्रताको पक्षमा पटक्कै देखिँदैन । सदैव सज्जनहरूमाथिको आक्रमण, आफन्तहरूसँग वैरभावबाट उनीहरूको दिनचर्या समाप्त हुने भएकाले र उनीहरूप्रति दुनियाँको जुन आशा वा भरोसा थियो त्यो चुँडिएको र निराशा चुलिँदै गएको त वरिपरि घुम्नेमा पनि हावा खुस्केका एक/दुई जना ’अर्ध’ र ’भट्टीपुत्र’ बाहेक बाँकीले साथ छाड्दै गएकाले उनीहरू पक्कै पनि खिर्राको बिउ नै हुन् ।
आज उनीहरूमा घृणित हर्कत, विकृति र असंगतिहरू जहाँ खोज्यो त्यहीँ भेटिन थालेका छन् । चाहे समाजसेवाको नाममा हुने ब्रह्मलुट, चाहे सार्वजनिक सम्पत्तिमाथिको दोहन, चाहे विभिन्न लोभ वा प्रलोभन देखाएर हुने ठगी वा दलाली वा आफन्त वा आफूलाई विश्वास गर्नेहरूउपरको जुकाचुसाइ गर्ने, समाजमा आफू चर्चामा आउनलाई सधैँ विवाद र कचिंगल मात्रै हुँडल्ने, धुत्र्याइँ, धक्का र धोकालाई सदैव आफ्नो हतियार बनाउने, गँजेडी, गाईजात्रे र पाखण्डी वा ड्राइभरी पेसा भएकाहरू मार्फत जिल्लामा के देशमा नै अराजकता, भ्रम र द्विविधा फैलाएर धमिलो पानीमा माछा मार्ने कलामा सिपालु उनीहरूसँग कुलको कुनै विरासत वा लक्षण नभएकाले उनीहरू पक्कै पनि खिर्राकै बिउ हुन् ।
उनीहरू न्याय मारेर ज्यानमारा जोगाउन, गाई मारेर गधा पोस्न, सज्जनमाथि वज्र प्रहार गर्न, अरूलाई लडाएर आफ्नो पोल्टो भर्न, नांगाबुंगा वा एक छाक भातमा बिक्नेहरूलाई हतियार बनाएर अरूमाथि सांघातिक आक्रमण गर्न सिपालु भएकाले मात्र होइन, चाकडी–चुक्ली र अरूलाई बिसमिल्लामा राखेर तिसमासमा पल्केका कारण पनि उनीहरू पक्कै खिर्राका बिउ हुनुपर्छ ।
अनियमितता, भ्रष्टाचार, बलात्कार, चरित्रहत्या गरेर सदैव दिमागलाई बेइमानीको खानी तुल्याएर केही भट्टीपुत्रहरूलाई वरिपरि राख्दैमा तिमीहरूजस्ता यो पृथ्वी वा धर्तीका मात्र होइन स्वयं कुलपितृ वा देवताका पनि महाबोझ बनेकाहरूले सिर्जना गरेको आपराधिक वा कलंकपूर्ण हर्कत अब जति नै ढाकछोप गरे पनि छोपिने अवस्थामा छैन । अब तिमीहरूको समूह भविष्यमा छिट्टै नै कवाडखाना भइसकेको छ । तिमीहरूका भावी सम्भावनाहरू अब खुलेआम ठगी वा दलालीबाहेक अरू देखिँदैन, तिमीहरूसँगबाट सामान्य मानवोचित सद्गुण त धेरै टाढा भागिसकेको छ ।
अब बैगुनका छिद्रहरू बाख्रेझार वा खिर्राका झारदेखि खिर्राका बिउसम्मका सबै पशुशक्तिहरू मिलेर पनि टाल्न सक्ने वा टालिने अवस्था छैन । यिनीहरू हाल पृथ्वीमा रहेका कारणले पनि उता नरक शून्य भएको अनुमान लगाउन सकिन्छ । त्यसकारण पनि यिनीहरू खिर्राकै बिउ हुन् ।
खिर्रो खिर्रै हो, हातमा डोरी बाँधी टोपल्ने वा साक्षी बस्नेको शैलीले साँच्चिकै खिर्रालाई दाउ पर्नु स्वाभाविक थियो । बिउ रोप्ने व्यवस्थापकको परिवर्तनका कारण रोपिएको खिर्राको बिउले संस्कार खोसिएको, कुल पतित भएको, निष्ठा गुमाएको, इमानदारी–समझदारी र जिम्मेवारीबाट भ्रष्ट भइसकेको, नालदेखि ब्रह्मनालसम्म हुनुपर्ने आफन्त भाइचारा सम्बन्ध, सद्भाव, आकृति वा संस्कृति सबै कोणबाट खीर्रोसँगै दुरुस्त हुबहु, फोटोकपी भएपछि पक्कै पनि यिनीहरू खिर्राकै बिउ हुन् ।
खिर्राको संगतमा रहनेहरु, सावधान!
तपाईंहरू जो जो खिर्राको बिउसँग निकट रहनुभएको छ, पक्कै पनि उनीहरूसँग जे अपेक्षा गर्नुभएको थियो सोको ठीक उल्टो प्रतिफल पाएको भुल्नुभएको छ/छैन? खिर्राको विषालु दूधले पलपलमा पोले वा डसेको याद गर्नुभएको छ/छैन? खिर्राको बिउसँगको संगतले पाइला–पाइलामा धोका, विपत्ति वा बेइमानीको अनुभूति गर्नुभएको छ/छैन? उनीहरूले तपाईंलाई लौरो दिएर बदलामा हतियार खोसेको र सो हतियारले समाजमा धर्म, नैतिकता वा सदाचारउपर प्रहार गरेको यथोचित मूल्यांकन गर्नुभएको छ/छैन? खिर्राका बिउहरूले विभिन्न बहानामा थापेका धरापमा तपाईं वा तपाईंजस्तै अर्को कोही दुर्घटनामा परेको याद गर्नुभएको छ/छैन? खिर्राको बिउलाई उभो लाउनेहरू कतिपय अल्पायुमा बलिदानीमा परेको याद छ/छैन? खिर्रासँगको उठबसले तपाईंको आफ्नो स्वतन्त्रता–स्वाधीनतामा पर्न पुगेको क्षति वा आँचको कसरी मूल्यांकन गर्नुभएको छ? त्यसैले आशा जति चुँडिएर निराशाले चुलिएको खिर्राको बिउलाई अब पनि सक्कली ठानेर भ्रममा पर्नबाट सावधान रहौँ ।
(वरिष्ठ अधिवक्ता गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता हुन् ।)










कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया