सम्पादकीय—देशमै शिक्षासँगै आम्दानी जरुरी

समाधान संवाददाता २०८२ साउन २२ गते १०:५०

यो वर्ष कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडिङ भए । गत वर्षको तुलनामा यसपालि ९.०२ प्रतिशत बढी विद्यार्थी उच्च शिक्षामा भर्नाका लागि योग्य भएका छन् । गत वर्ष ५२.१५ प्रतिशत विद्यार्थी ‘ग्रेडिङ’मा परेका थिए । केही समयअघि सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा झण्डै ६२ ‘ग्रेडिङ’ भए । अघिल्लो वर्षको तुलनामा एसइईमा झण्डै १४ प्रतिशत बढी उत्तीर्ण भयो । अहिले शैक्षिक सिकाइको गुणस्तर बढेर नतिजामा सुधार आएको हो वा अन्य कुनै प्राविधिक कारणमात्र यसो भएको हो भन्ने यकिन भइसकेको छैन ।

Advertisement

तथापि दुबै परीक्षामा सफल परीक्षार्थीको संख्या बढ्नुलाई सकारात्मक मान्नुपर्छ । कक्षा १२ विद्यालय तहको अन्तिम खुड्किलो हो । संविधानले नै कक्षा १२ सम्मलाई विद्यालय शिक्षाभित्र राखेर यसको रेखदेखको सम्पूर्ण दायित्व स्थानीय तहलाई दिएको छ । तर विद्यालय शिक्षा सुधारमा सबै स्थानीय तह गम्भीर बनेको देखिँदैन । स्थानीय तहहरुले देखिने र सुनिने गरी कुनै पनि तहको परीक्षापछि समीक्षा गर्ने र सुधारको योजना बनाउने गरेका छैनन् ।


कक्षा १२ सकिनु भनेको विद्यालय शिक्षा अवधि सकिनु हो । यसपछि विद्यार्थी या विश्वविद्यालय तहमा प्रवेश गर्छन्, या त उनीहरु पढाइ छाडेर विभिन्न कामकाजमा सक्रिय बन्छन् । पछिल्ला वर्षमा कक्षा १२ पछि ठूलो संख्यामा विद्यार्थीहरु उच्च शिक्षाको बहानामा विदेश जाने गरेका छन् । यो संख्या हरेक वर्ष बढिरहेको छ । २०८०÷८१ मा एनओसी लिने विद्यार्थीको संख्या १ लाख १२ हजार दुई सय ५६ वटा पुगेको छ ।

Advertisement

उच्च शिक्षा अध्ययनका नाममा यति ठूलो संख्यामा युवाहरु बाहिरिनु बौद्धिक पलायन हो । गत वर्षभन्दा नौ प्रतिशत बढ्दा पनि यो वर्षको कक्षा १२ दुई लाख ४२ हजार ग्रेडेड भएका छन् तर एक वर्षअघिको वैदेशिक अध्ययन अनुमतिपत्र लिनेको संख्या नै १ लाख १२ हजार छ । जो हरेक वर्ष बढ्दो छ । वैदेशिक अध्ययनका नाममा अधिकांश कक्षा १२ पछि नै जाने गरेका छन् । अध्ययनका नाममा कक्षा १२ पछि विदेश जाने गरेका छन्, उनीहरुमध्ये अधिकांशले अध्ययन नै नगरेको देखिन्छ ।


वैदेशिक अध्ययनमा विदेश जानेमध्ये ७० देखि ८० प्रतिशतले पढाइ छाडेर काम गर्ने गरेका छन् । उनीहरु न चाहेजस्तो पढेर उच्च शिक्षा पूरा गर्छन्, न अन्य श्रम इजाजतमा गएका नेपालीले जस्तो श्रम गरेर पैसा पठाउँछन् । बीचमै पढाइ छाड्नु पर्दाको पीडा एकातिर हुन्छ भने उनीहरुले सोचेजस्तो कमाइ गर्न पनि सकिरहेका हुँदैनन् । यसलाई रोकेर कक्षा १२ पछि सबैलाई देशभित्रै उच्च शिक्षा अध्ययनको वातावरणसँगै आयआर्जनको उपाय खोजी गर्न जरुरी छ । नत्र चाँडै देश युवाविहीन बन्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया